जिल्ला अदालतले २०८२ जेठ १ गते पत्रकार भण्डारीलाई १ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो ।
कञ्चनपुर — पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । गाली बेइज्जती तथा प्रतिष्ठाको कसुर अन्तरगत जिल्ला अदालत र उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासको फैसला अनुसार उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर राउतका अनुसार भण्डारीलाई पक्राउपछि स्वास्थ्य परीक्षण गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पत्रकार भण्डारीले मानसखण्ड दैनिक र सामाजिक सञ्जालमा समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आँच पुगेको भनि तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
जिल्ला अदालतले २०८२ जेठ १ गते सोही मुद्दामा पत्रकार भण्डारीलाई १ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले पनि २०८२ चैत २२ मा जिल्लाको फैसलालाई नै सदर गर्दै ७ दिन कैद र २ हजा १ सय जरिवाना थप गरेको थियो ।
