भीमदत्त नगरपालिका-२, कञ्चनपुरकी १३ वर्षीया पन्त ११ साउन २०७५ मा मृत फेला परेकी थिइन्, अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
What you should know
काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको घटना, त्यसपछिका छानबिन र अनुसन्धान प्रतिवेदनलगायतमा अध्ययन र अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने गरी अनुसन्धान गर्न एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा एसपी दधिराम न्यौपानेसहित १५ सदस्यीय अध्ययन समिति गठन भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार पंगेनीको नेतत्वमा प्रहरीकै प्राविधिक जनशक्तिसहित रहने गरी अध्ययन समिति गठन भएको हो ।
समितिमा पंगेनी र न्यौपानेसहित प्रहरी विधिविज्ञान प्रयोगशालाका डीएसपी रविन भण्डारी, डीएसपीद्वय हरि खतिवडा र पञ्चकुमार बाखु, निरीक्षकद्वय दीपक केसी र वीरेन्द्र बिसी, वरिष्ठनायव निरीक्षकहरु दुर्गाकुमार योञ्जन, लोकबहादुर केसी, सूर्यभक्त श्रेष्ठ र किशोरजंग कार्की, नायब निरीक्षक पदम थापा, हवल्दारहरु नरबहादुर थापा, माधव खत्री र जवान भेषनारायण श्रेष्ठ सदस्य छ ।
भीमदत्त नगरपालिका-२, कञ्चनपुरकी १३ वर्षीया पन्त ११ साउन २०७५ मा मृत फेला परेकी थिइन्, अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर, यसको अनुसन्धानमा भएका लापरबाही, पक्ष र विपक्षमा भएका प्रदर्शन, अनुसन्धान प्रभावित हुने गरी भएका दबाब, प्रभाव, छानबिन, अध्ययन र अनुसन्धान गिजोलिँदा यसमा ठोस निष्कर्ष निस्कन सकेको छैन । विभिन्न समयमा गरिएका अनुसन्धान र अध्ययन प्रतिवेदनको निष्पक्षता माथि पनि प्रश्न उठ्दै आएको छ ।
घटना हुँदा सर्वेन्द्र खनाल आईजीपी थिए, उनका पालामा यो विषय निष्कर्षमा पुगेन । उनीपछि ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह, बसन्त कुँवर, दीपक थापा, चन्द्रकुबेर खापुङका पालामा पनि यो विषय टुंगिन सकेन । अहिले महानिरीक्षक कार्कीले पुनः यस विषयमा विगतमा भएका छानबिन, अध्ययन र अनुसन्धान प्रतिवेदनको अध्ययन एवं अनुसन्धानका लागि एसएसपी पंगेनीको नेतृत्वम समिति बनाएका हुन् ।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीलाई सघाउने गरी घटनाबारे विस्तृतमा अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको २३ दिनपछि भदौ २ गते राति झन्डै साढे ८ बजेतिर दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।
निर्मला पन्त हत्या प्रकरण : फाइबर परीक्षणमा अल्झिएको अनुसन्धान
