निर्मला पन्त हत्या प्रकरण: प्रहरीको अध्ययन समितिले के गर्छ?

समितिले विगतमा भएका विभिन्न अध्ययन तथा छानबिन टोलीका प्रतिवेदनहरुको अध्ययन गर्नुका साथै फिल्डस्तरमा खटिएर पनि अनुसन्धान गर्नेछ ।

चैत्र १२, २०८२

भवानी भट्ट

Nirmala Pant murder case: What does the police study committee do?

What you should know

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको घटना छानबिन र अनुसन्धान प्रतिवेदनलगायत अध्ययन र अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने गरी अनुसन्धान गर्न १५ सदस्यीय अध्ययन समिति गठन गरेको छ । 

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा कार्यरत एसएसपी कृष्ण पंगेनीको बुधबार नेतृत्वमा अध्ययन तथा अनुसन्धान समिति गठन गरेको हो । 

समितिले विगतमा भएका विभिन्न अध्ययन तथा छानबिन टोलीका प्रतिवेदनहरुको अध्ययन गर्नुका साथै फिल्डस्तरमा खटिएर पनि अनुसन्धान गर्नेछ । ‘यो केशलाई निष्कर्षमा पुर्‍याउने गरी समितिले काम गर्नेछ,’ प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले भने, ‘अहिलेसम्म विभिन्न छानबिन समितिका प्रतिवेदनहरु पनि अध्ययन गरेर काम गर्नेछ ।’

अध्ययन टोलीले विगतमा भएका अध्ययन अनुसन्धानलाई केलाएर काम गर्दा आवश्यकता अनुसार स्थानीयसँग पनि छलफल र सूचना संकलन गर्ने प्रहरी प्रवक्ता काफ्लेले बताए । समितिलाई कुनै निश्चित समय भने नतोकिएको उनले बताए । ‘चाँडो भन्दा चाँडो यो केशलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीसहित समिति गठन गरिएको छ,’ उनले भने । 

२०७५ साउन १० मा अध्ययनका लागि साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त–१८ निम्बुखेडास्थित उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसपछि उनको न्यायका लागि लामो समय आन्दोलन पनि भयो । उक्त घटनाको छानबिन र अनुसन्धानका लागि प्रहरी र नेपाल सरकारले विभिन्न समितिहरु पनि गठन गरे पनि हालसम्म दोषी पत्ता लाग्न सकेको छैन । 

समिति गठन भएको जानकारी पाएर निर्मलाकी आमा दुर्गादेवीले छोरीले न्याय पाउने झिनो आश जागेको बताइन् । ‘कुनै घटनामा त ढिलो गरी दोषी पत्ता लागेका पनि छन्, राम्ररी अनुसन्धान गरेमा यो घटनामा पनि दोषी पत्ता लाग्न सक्छ,’ उनले भनिन्, ‘अब त दोषी पत्ता लागेपछि मात्रै केही भनुला, त्यसअगाडि धेरै आश गरिहाल्नुपर्ने छैन ।’

प्रहरीले गठन गरेको अध्ययन टोलीका संयोजक एसएसपी पंगेनीले अहिले धेरै कुरा बोल्न नमिल्ने बताए । उनले कसरी र कति समयभित्र काम गर्ने विषयमा पत्र प्राप्त भइनसकेको बताए । ‘अहिले धेरै कुरा बोल्न मिल्दैन, कामको विषयमा पत्र पनि पाइसकेको छैन,’ उनले भने, ‘अब छिट्टै काम सुरु गर्छौ ।’ 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully