अवधेश कुसवाहाकाे अध्यक्षतामा सरकारसँग वार्ता गर्न ६ सदस्यीय वार्ता समिति बनाइएको छ ।
बारा — सरकार र मिटरब्याजपीडितबीच चाैथाे चरणकाे वार्ता हुने तयारी भइरहँदा मिटरब्याजीविरुद्ध किसान-मजदुर आन्दाेलन केन्द्रीय समितिले ३ वटा बटम लाइन अघि सारेकाे छ ।
समितिका अध्यक्ष अवधेश कुसवाहाकाे अध्यक्षतामा सरकारसँग वार्ता गर्न ६ सदस्यीय वार्ता समिति बनाइए पनि सरकारकाे तर्फबाट भने समिति अझै बनेकाे छैन ।
आन्दाेलन समितिका केन्द्रीय प्रवक्ता रिजन राना मगरले वार्ताका लागि सचिवालयकाे बैठक बसेर तीनवटा बटम लाइन अघि सारिएकाे कान्तिपुरसँग बताए । 'सम्पूर्ण फर्जी लिखत खारेज हुनुपर्ने, मिटरब्याज कानुनविपरीतकाे अपराध भएकाले फर्जी लिखत उन्मूलन भएकाे सरकारका तर्फबाट सार्वजनिक घाेषणा हुनुपर्ने र सरकारले संयुक्त कार्यदल बनाएर मिटरब्याजिवरूद्ध शक्तिशाली ऐेन ३ महिनाभित्र बनाउने सरकारी लिखित प्रतिबद्धता हुनुपर्ने मुख्य बटमलाइन हो,' उनले भने । बाँकी मागबारे सम्झाैता भएअनुसार गर्नुपर्ने उनको भनाइ छ ।
पीडितहरुसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ तीन दिनदेखि माग सम्बोधन गर्ने प्रयासमा बारामा बसेका छन् ।
पीडितहरू ६ बुँदे माग राखेर आन्दोलनका लागि जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रामा लागेपछि सरकारले तत्कालीन सरकारका पालामा बनेका तीनवटा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
