खोइ ‘धुर्बे’ ? झाडीमा लुक्यो 

असार २० गते भरतपुर-२३ जगतपुरका आमाछोरा आशिका र भरतको ज्यान लिएको धुर्बे हात्तीलाई समात्न निकुञ्जले ३ सिफ्टमा टोली खटाएको छ  । धुर्बेलाई समातेर स्याटेलाइट कलर जोड्ने तथा दाह्रा काट्ने निकुञ्जको तयारी छ ।

असार २८, २०८३

रमेशकुमार पौडेल

चितवन — जगतपुर बेलहट्ठाकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतलाई आक्रमण गरेर ज्यान लिएपछि ‘धुर्बे’ हात्तीलाई समाउन चितवन राष्ट्रिय निकुञ्जको टोली एक हप्तादेखि खटिएको छ । तर निकुञ्जको टोलीलाई छक्याउँदै धुर्बे भने दिनभर जंगल बस्ने र रातमा गाउँ निस्केर विध्वंश गरेको छ । जगतपुरको घटनापछि ‘धुर्बे’ले मेघौली र माडी पुगेर घर भत्काएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई नियन्त्रणमा लिन भेटेरनरी प्राविधिकसहित निकुञ्जका कर्मचारी, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहा कार्यालयका प्राविधिकहरूको संयुक्त टोली खटिएको बताए । निकुञ्जको पश्चिम क्षेत्र जगतपुरदेखि मेघौली गोलाघाट र माडी क्षेत्रमा पनि नियमित अनुगमन गरेको उनको भनाइ छ ।

‘मुख्य कार्यालयबाट तीन सिफ्टमा (आठ घण्टाका दरले दिनमा तीन पटक) गस्ती टोली परिचालन भएको छ,’ वरिष्ठ संरक्षण अधिकृत पुनले जानकारी दिए । तर गस्ती टोलीले देख्न र नियन्त्रणमा लिन नसकेको ‘धुर्बे’ हात्ती शनिबार मध्यरातमा माडी वनकट्टा गाउँमा निस्कियो । हात्तीले स्थानीय दीपक बोटेको घर भत्कायो । स्थानीयले ट्याक्टर चलाएर हात्ती भगाउनु परेको थियो । 

असार २० गते शनिबार मध्यरातमा निकुञ्जको मुख्यालय कसरानजिकै पर्ने भरतपुर महानगरपालिका–२३ जगतपुर बेलहट्ठाका आशिका र उनका छोरा भरतको धुर्बेको आक्रमणबाट मृत्यु भएपछि हात्तीलाई नियन्त्रणमा लिनु पर्ने माग राखेर स्थानीयले राति नै प्रदर्शन गरेका थिए । हात्ती तत्काल नियन्त्रणमा लिने र पीडित परिवारलाई राहत दिने सहमति भएको थियो ।

‘धुर्बे’ हात्तीले २०६६ सालदेखि चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा मात्रै नभएर बारा र पर्सा जिल्ला पुगेर मान्छेमाथि आक्रमण गर्ने र ज्यान लिने गरेको छ । निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनास थापा मगरले ‘धुर्बे’ले हालसम्म २५ जनाको ज्यान लिएको बताए । १५ जनाको ज्यान लिएपछि २०६९ सालको पुसमा ‘धुर्बे’लाई मार्ने निर्णय भएको थियो ।

त्यो बेला ‘धुर्बे’लाई मार्ने कामका लागि सरकारको १६ लाख रुपैयाँ खर्च भएको थियो । तर मार्न हिँडेको सेनाको टोलीलाई छक्याउँदै ‘धुर्बे’ भाग्दै र लुक्दै बस्यो । २०७३ सालको हिउँददेखि ‘धुर्बे’ फेरि निकुञ्जको पश्चिम क्षेत्रमा देखा पर्‍यो । त्यसपछि केही समय शान्त देखिएको ‘धुर्बे’ २०७७ साल आसपासबाट आक्रमक भएको हो । यसले असार २० सम्म थप १० गरी कुल २५ जनाको ज्यान लिएको छ ।

निकुञ्जले हात्तीको घाँटीमा नयाँ स्याटेलाइट कलर राख्ने तयारी गरेको छ । स्याटेलाइट कलर राख्नका लागि हात्तीलाई समाउनु पर्ने हुन्छ । हात्ती देखा परेमा डार्ट गनबाट टाढैबाट लठ्याउने औषधि राखेको सिरिन्जले डार्ट गरी फटाफट हात्तीको गलामा स्याटेलाइट कलर जडान गरिन्छ ।

निकुञ्जमा नयाँ स्याटेलाइट कलर पनि आइसकेको वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । ‘असार २० को घटनापछि हात्ती निकुञ्जको घना जंगल भएको कोर एरियामा लुकेको छ । मौसम प्रतिकूल छ । झाडीमा लुकेपछि भिजिबिलिटीको समस्या पनि छ । त्यसैले हात्ती फेला पर्न नसकेको हो,’ उनले भने । 

अहिले राख्न लागिएको कलर पहिलाको भन्दा उन्नत भएको पुनले बताए । ‘कति समयको अन्तरालमा हात्तीको लोकेसनको सूचना लिने हो त्यो समय राख्न मिल्छ । यसमा जियोफेन्सिङ प्रविधि एक्टिभ गर्न मिल्छ । जुन अघिल्लोमा भन्दा फरक हो । जियोफेन्सिङ प्रविधिले पहिले नै तोकेको क्षेत्रमा हात्ती प्रवेश गरे तत्काल नोटिफिकेसन आउँछ,’ उनले भने ।

जगतपुरदेखि पश्चिम मेघौली गोलाघाटसम्म र माडीको वनकट्टादेखि बगईसम्मलाई संवेदनशील ठाउँ तोकेर कलरमा जियोफेन्स एक्टिभ गरेको पनि उनले जानकारी दिए । 'सूचना मिल्नेबित्तिकै टोली परिचालन गरेर हात्तीको निगरानी गर्ने, सुरक्षित तरिकाले जंगल पठाउने काम हुने छ,’ निकुञ्ज प्रमुख पुनले भने । यो कलर हात्तीका विविध पक्षमा विद्यावारिधि (पीएचडी) गर्दै गरेका संरक्षण अधिकृत अविनय पाठकले ल्याएका हुन् ।

हात्ती भेटिएमा दाह्रा काट्ने पनि निकुञ्जको तयारी छ । दाह्रा काट्दा हात्तीको आक्रमकता कम हुने निकुञ्ज प्रमुख पुनको भनाइ छ । ‘धुर्बे’लाई चौथो पटक कलर राख्न लागिएको हो । निकुञ्जले पहिलो पटक २०६९ मंसिर ६ मा ‘धुर्बे’को गलामा रेडियो कलर राखेको थियो । त्यसपछि २०७७ को वैशाखमा र पछिल्लो पटक २०८० सालको मंसिरमा स्याटेलाइट कलर राखिएको थियो । 

पछिल्लो पटक राखेको कलर पुरानो हुँदै गएका कारण राम्रोसँग संकेत दिएको छैन । कलर राखेपछि कसरामा रहेका कर्मचारीको मोबाइल या ल्यापटप एपमा संकेत आउने र त्यही अनुसार टोली परिचालन गरेर हात्तीलाई निगरानी गर्ने र धपाउने सूचना अधिकारी अविनास थापा मगरले बताए । ‘धुर्बे’ हात्तीलाई पछ्याउने काम सजिलो नभएको विगतका घटनाक्रमले पनि देखाएको छ ।

शनिचरा बोटेका बाआमालाई २०६९ सालको मंसिर मसान्तमा ‘धुर्बे’ हात्तीले मारेको थियो । माडीको द्रोपति नगर बस्ने शनिचरा यो घटनापछि बसाइँ सरेर जगतपुर बेलहट्ठा आए । असार २० मा ‘धुर्बे’ले शनिचराकै जेठी बुहारी र नातिको ज्यान लिएको हो । १४ वर्षको अन्तरालमा शनिचराले एउटै जंगली हात्तीबाट आमाबा, बुहारी र नाति गुमाए । त्यो हात्तीको आक्रमकता र सक्रियता अझै कायमै छ । 

स्थानीय बासिन्दा यसका लागि दीर्घकालीन समाधान खोजिनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्य स्याटेलाइट कलरबाट निरन्तर निगरानी गर्ने र आवश्यकताअनुसार टोली परिचालन गरेर स्थानीयको सुरक्षा गर्नु तत्कालीन उपाय भएको बताए ।  

२०६९ सालको पुसमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले ‘धुर्बे’ हात्तीलाई मार्ने आदेश दिएका थिए । हात्ती बहुलाएको पुष्टि भएपछि मात्र मार्न पाइने कानुनी प्रावधान रहेको छ ।  निगरानीले नपुगे हात्तीलाई कुनै खोर या काञ्जीहाउसमा राख्न सम्भव नभएको विभागका सूचना अधिकारी आचार्यको भनाइ छ ।

‘दीर्घकालीन समाधानका लागि स्यांक्चुअरी मोडलमा खुला क्षेत्रमा राख्न सकिन्छ । यसका लागि एउटा हात्तीका लागि कम्तीमा चार पाँच वर्ग किलोमिटर जमिन चाहिन्छ,’ आचार्यले भने । चितवनमा ‘धुर्बे’ मात्रै नभएर ‘रोनाल्डो’, ‘गोविन्दे’ नामका जंगली भाले हात्ती पनि छन् । यी हात्ती घरेलु पोथी हात्तीको प्रजनन् प्रक्रियाका लागि अपरिहार्य छन् । तर यस्ता हात्तीबाट बर्सेनि स्थानीय बासिन्दाको ज्यान पनि गइरहेकाले दीर्घकालीन समाधान निकाल्न सरोकारवालाको माग छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully