तुलनात्मक रुपमा ‘रोनाल्डो’ मान्छेप्रति त्यत्ति आक्रमक देखिँदैन । प्राय: मान्छेको चहल पहल हुने खोरसोर हात्ती प्रजनन् केन्द्रमा बस्छ । घुम्न आउने पर्यटक यसलाई पृष्ठभूमिमा राखेर भिडियो र तस्बिर खिचाउँछन् । उ पनि 'सेलीब्रेटी' झै पोज दिन्छ ।
What you should know
चितवन — ब्राजिलका हुन् वा पोर्चुगलका । फुटबलर रोनाल्डो विपक्षीको बाधा पन्छाएर गोल गर्न माहिर भएकाले संसारभरका खेलप्रेमीबीच चर्चित छन् । उस्तै फूर्तिलो र चलाखीपूर्ण तवरबाट आफ्नो काम पूरा गर्ने अर्को रोनाल्डो चितवनमा छ । नाम रोनाल्डो भए पनि उ मान्छे भने होइन, भीमकाय जनावर हात्ती हो । त्यो पनि घरपालुवा हैन जंगली भाले हात्ती ।
माहौल विश्वकप फुटबलको छ । सन् १९९८ देखि नै चर्चामा आएका र सन् २००२ को विश्वकप जिताएका ब्राजिलको रोनाल्डो अहिले खेल मैदानमा छैनन् । ५ पटक विश्वकप जितेको ब्राजिल यस पटक प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको टिम पनि पराजित हुँदै घर फर्कियो । विश्वकपको यो माहोलमा एउटा अत्यन्त दु:खद् खबर पनि आयो । त्यो जंगली हात्तीसँग जोडिएको घटना थियो ।
चितवनमा धुर्बे नाम गरेको जंगली भाले हात्तीले शनिबार मध्यरातमा घरमा सुतेका आमा छोराको ज्यान लियो । विश्वकप, ब्राजिल र रोनाल्डोसँगै हात्तीसँग जोडिएको यो दु:खद् प्रसङ्गले एक पटक फेरि जंगली हात्ती रोनाल्डोको अवस्था के छ त ?
रोनाल्डोबारे सोधीखोजी गर्दा थाहा भयो चितवन सौराहा नजिकको खोरसोर हात्ती प्रजनन् केन्द्रमा शुक्रबार मात्रै हात्तीको एउटा भाले बच्चा जन्मिएको थियो । 'चितवनकली नामको पोथी हात्तीबाट जन्मेको उक्त बच्चाको पिता ‘रोनाल्डो’ थियो,' केन्द्रका प्रमुख मनपुरन चौधरी भन्छन्, 'यो बच्चा खोरसोर प्रजनन् केन्द्रमा जन्मेको ६९औं बच्चा थियो । जन्मदै कमजोर देखिएको बच्चा जोगिएन् ।'
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनास थापा मगर सौराहामा जन्मने अधिकांस छावाको पिता रोनाल्डो भएको बताउँछन ।
‘रोनाल्डो’ प्राय: सौराहा र खोरसोर आसपास बस्छ । सौराहा र खोरसोरका पोथी हात्तीसँग समागम गर्न अन्य भाले हात्ती पनि मौका कुरेर नबस्ने हैनन । तर यसका लागि लडाइ चल्छ, उक्त लडाइमा जो विजयी हुन्छ त्यसले हार्नेलाई लखेट्छ । हार्ने हात्ती जित्नेको सामुन्ने आउन खासै हिम्मत गर्दैन । यही लडाइ जितेरै आफ्नो क्षेत्रमा लामो समयदेखि टिकेको छ रोनाल्डो ।
खोरसोर क्षेत्रमा गोविन्दे नामको अर्को जंगली भाले हात्ती, ‘धुर्बे’ र अन्य भाले हात्ती पनि नपुग्ने हैनन् । एक समय दाह्रा नभएको मकुना हात्ती पनि खोरसोरमा भेटिन्थे । तर दबदबा रोनाल्डोको मात्रै छ भन्छन् केन्द्रका प्रमुख चौधरी । निकुञ्जका सूचना अधिकारी थापा मगरले पनि केन्द्रमा हालसम्म जन्मेका छावामध्ये ३८ वटा रोनाल्डोकै भएको बताए ।
जंगली भाले हात्ती रोनाल्डोसँग जोडिएर आउने केही घटनाहरू सौराहामा प्रख्यात छन् । त्यस्तैमध्ये एक हो १२ वर्षअघि १४ असार २०७१ को रातको घटना ।
सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा थियो प्रकृतिकली नामको पोथी हात्ती । हात्तीसार सुरक्षाका लागि आधुनिक विद्युतीय तारबार लगाइएको थियो । रोनाल्डोले त्यो विद्युतीय तारबार नै भत्कायो । आधुनिक विद्युतीय तारबार हात्तीले भत्काउन सक्दैन भन्ने विश्वास थियो तर पोथीसँग मिल्न आतुर रोनाल्डोले भत्काएको निकुञ्जका तत्कालीन सहायक संरक्षण अधिकृत रमेश थापाले बताएका थिए ।
रोनाल्डोलाई छेक्न विद्युतीय तारबार मात्रै होइन कर्मचारीले अन्य उपाए पनि लगाएका थिए । एउटा पोथी हात्ती बाहिरै राखेका थिए । तर रोनाल्डो बार भत्काएर भित्रै गएको कोषको सौराहा कार्यालयका तत्कालीन प्रशाससकीय अधिकृत रामकुमार अर्यालले बताएका थिए ।
रोनाल्डो हात्ती सारमा रहेको प्रकृतिकलीप्रति आकर्षित थियो । १० वर्षको प्रकृतिकलीलाई भालेसँग संसर्ग हुनबाट कर्मचारीहरूले रोक्न खोजेका थिए । विद्युतीय तारबारमा छोए करेन्टको झड्का लाग्छ । झड्का लागेपछि अन्य जनावरहरूले फेरि त्यो तारबार नजिक जाने आँट गर्दैनन् । तर रोनाल्डो यसै हार मान्ने वाला थिएन । एक महिनादेखि तारबार घुमेको घुम्यै थियो । 
‘हात्ती बुद्धिमान पनि हुन्छ । त्यसरी घुम्दा कहाँ टेक्दा करेण्टको झट्का लाग्दैन भन्ने मेसो पायो । अनि त्यही टेकेर बार भत्काइ छाड्यो,’ तत्कालीन सहायक संरक्षण अधिकृत रमेश थापाले भनेका थिए । रोनाल्डो त्योभन्दा १२ वर्षअघि अर्थात सन् २००२ को विश्वकप फुटबलको माहौलमा सौराहा आइपुगेको थियो । विश्वकपमा ब्राजिलका खेलाडी रोनाल्डो चम्केका थिए । उनले विश्वकप जिताए पनि ।
‘त्यो बेला चितवनमा जंगली भाले हात्ती रोमियो सक्रिय थियो । प्रजनन् केन्द्रका भाले हात्तीबाट बच्चाहरू खासै जन्मेनन् । तर ५० सालपछि जब रोमियो आयो त्यसपछि उसको संसर्गबाट भटाभट छावाहरू जन्मन थाले,’ चितवन निकुञ्जमा लामो समय पशु चिकित्सक रहेका र हाल अवकासप्राप्त डा. कमल गैरेले भने । धेरै घरेलु हात्तीको प्रेमी भएका कारण त्यो हात्तीले रोमियो नाम पायो ।
त्यही रोमियोको पछि लागेर आएको अर्को फूर्तिलो जंगली भाले हात्ती देखा पर्यो । विश्वकप फुटबलको माहोलका बेलामा आएको र खेलाडी रोनाल्डो जस्तै दौडने, भाग्ने गरेका कारण सौराहाका गाइडहरूले नाम राखे ‘रोनाल्डो’ । रोमियो हात्ती विद्युतीय तारबारको करेन्ट लागेर खोरसोरमा मर्यो । रोमियोको अभाव रोनाल्डोले पूरा गर्यो । खोरसोरको हात्ती प्रजनन् केन्द्रलाई जंगली भालेको मात्रै भर छ ।
खोरसोरको मात्रै हैन सौराहा र निकुञ्जका विभिन्न पोष्टमा रहेका घरपालुवा पोथी हात्ती जंगली भाले हात्तीको यौन सम्पर्कबाट मात्रै गर्भवती हुने गरेको प्रजनन् केन्द्रका प्रमुख मनपुरन चौधरी बताउँछन् । मन परेको पोथीसँग मिल्न नदिन विद्युतीय तारबार गरेर मान्छेले मात्रै बाधा खडा गर्ने हैनन् । जंगलका अन्य भाले हात्तीसँग पनि उत्तिकै संघर्ष गर्नु पर्दछ । त्यसको चिनोसमेत रोनाल्डोको ज्यानमा छ ।
हात्ती स्याहार र उपचारका सक्रिय राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा कार्यालयमा कार्यरत वरिष्ठ पशु स्वास्थ्य प्राविधिक किरण रिजालका अनुसार हात्ती एकअर्कासँग लड्दा सुँडले पुच्छर तानातान गर्छन् । एक पटक रोनाल्डोको आधा पुच्छर गएको उनले बताए । दुई अढाई वर्षअघि बाँकी पुच्छर पनि रहेन । लडाइमा रोनाल्डोको पुच्छर नै गायब भयो । पुच्छरविहीन भए पनि उसको सक्रियता घटेको छैन ।
रोनाल्डोको दबदबा खप्न नसकेर सौराहा आइपुगेको धुर्बे पनि फेरि उसको क्षेत्र निकुञ्जको पश्चिम भेग नै फर्केको हो । जहाँ उसले गाउँघर पसेर मान्छेको ज्यानै लिएको छ । २५ जना मान्छे मारेको भनेर धुर्बे बद्नाम भएको छ । खोरसोरको प्रेमी रोनाल्डो के शान्त छ ? त्यसो पनि हैन । रोनाल्डोले पनि पटक पटक मान्छे मारेको छ । पर्यटकदेखि गाईभैंसी चराउँदै गरेका स्थानीयलाई आक्रमण गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनास थापा मगर रोनाल्डोले कम्तिमा १५ जनाको ज्यान लिएको बताए । तुलनात्मक रुपमा मान्छेप्रति त्यत्ति आक्रमक भने देखिँदैन । प्राय: मान्छेकै चहल पहल हुने खोरसोर हात्ती प्रजनन् केन्द्रमा बस्छ । घुम्न आउने पर्यटक यसलाई पृष्ठभूमिमा राखेर भिडियो र तस्बिर खिचाउँछन् । उ पनि 'सेलीब्रेटी' झै पोज दिन्छ ।
