शनिबार राति भरतपुर–२३, स्थित बेलहठ्ठाका पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको ‘धुर्बे’ले घरमै ज्यान लिएको थियो ।
What you should know
जगतपुर — चितवनको भरतपुरमा जंगली हात्ती ‘धुर्बे’को आक्रमणबाट ज्यान गुमाएका बोटे परिवारलाई चितवन राष्ट्रिय निकुन्जले क्षतिपूर्तिबापत २० लाख रुपैयाँ दिएको छ ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका–२३ बेलहठ्ठास्थित क्रिया बसेकै ठाउँमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र निकुन्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा मगरले राहत रकम २० लाख रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट क्रियाखर्च बापतको एक लाख रुपैयाँ गरी २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रजिअ अर्याल र प्रमुख संरक्षण अधिकृत पुर्जा मगरले बोटे परिवारमा समवेदनासमेत प्रकट गरे ।
गत शनिबार राति भरतपुर–२३, स्थित बेलहठ्ठाका पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको ‘धुर्बे’ले घरमै ज्यान लिएको थियो । लगत्तै वडाध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयहरु शव लिएरै निकुन्जको मुख्यालय कसरा पुलमा पुगेर प्रदर्शन गरेका थिए । तत्कालै निकुन्ज प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीबीच क्षतिपूर्तिबापतको राहत तत्काल उपलब्ध गराउने गरी चार बुँदे सहमति भएको थियो ।
वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने परिवारलाई निकुन्जले निश्चित प्रक्रिया पूरा गर्दै क्षतिपूर्तिबापत राहत प्रदान गर्ने गरेको छ । तर यसपटक निकुन्जले हालसम्मकै छिटोछरितो रुपमा तीन दिनमै राहत प्रदान गरेको निकुन्जका प्रमुख संरक्षण अधिकृत मगरले बताए । उनले भने, ‘घटना नहुनु थियो भयो तर कसरी समस्या समाधान गर्ने भन्ने कुरामा हामी सचेत थियौं । विगतमा राहत प्रदान गर्न हामीलाई सबै प्रक्रिया पूरा गर्न धेरै समय लाग्थ्यो । तर यसपटक हामी सबै कागजपत्रहरु छिटोछरितो गर्दै तीन दिनमै भुक्तानी आदेश स्वीकृत गराउँदै राहत प्रदान गर्न सकेका छौं ।’
मान्छेले राहत पाउनु ठूलो कुरा मान्नुभन्दा यस खालका घटना हुन नदिन सबै सचेत हुनुपर्ने बेला आएको मगरको भनाइ थियो ।
प्रमुख संरक्षण अधिकृत मगरले निकुन्जले गरेको सहमति अनुसार मृतकका परिवारलाई घर निर्माण गर्ने कुरामा प्रतिबद्ध रहेको भन्दै जग्गाको टुंगो लाग्नेबित्तिकै आवश्यक सहयोग गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले अन्य कागजी प्रक्रियाभन्दा दुर्घटनालाई ध्यानमा राखेर द्रुत गतिमा राहत उपलब्ध गराएकोमा निकुन्ज प्रशासनलाई धन्यवाद दिए । उनले पीडित परिवारको दिगो र सुरक्षित बसोबासमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई राहत बोकेर हिँड्नु पर्ने अवस्था आजैबाट अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष दीपक दवाडीले पीडित परिवारका लागि घर निर्माण गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग रकम जुट्न लागेको जनाउँदै सबैको सहयोग आवश्यक रहेको बताए । ‘सरकारी राहतबाट हालसम्म ५ लाख रुपैयाँ सहयोग जुटेको छ । हामी दिगो र व्यवस्थित घर निर्माणमा लागेका छौं, सहयोग जुटाउन लागि परेका छौं,’ वडाध्यक्ष दवाडीले भने ।
बोटे परिवारलाई राहत स्वरुप भरतपुर महानगरपालिकाले पनि ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ ।
