एउटै हात्तीको आक्रमणले १४ वर्षमा शनिचराले आफ्ना बुवा-आमा, बुहारी र नाति गुमाएका छन्, तैपनि हात्ती नियन्त्रणमा लिन कठिन भइरहेको निकुञ्जले जनाएको छ।
What you should know
चितवन — २०६९ साल पुस १ । माडी गर्दीको बरुवा बजारअघि भाइसँग टुक्रुक्क बसेका थिए शनिचरा बोटे । आडमा थियो आमा र बुवाको शव । 'धुर्बे' हात्तीले शनिचराका बुवा बुद्धिराम र आमा झरलीको ज्यान लिएको थियो । शोकमग्न बोटे परिवार धुर्बेलाई नियन्त्रणमा लिन भन्दै बरुवा बजारमा धर्ना बसेका थिए ।
उक्त घटनापछि शनिचरा बसाइँ सरे । उनले रिउखोला तरे, निकुञ्ज नाघे र राप्ती पनि तरे । तर उनले दु:खबाट मुक्त पाएनन् । आइतबार मध्याह्न उनै शनिचरा चितवन जिल्ला प्रहरी कार्यालय परिसरभित्र उदास मुद्रामा भेटिए । शनिबार मध्यरातमा धुर्बेले शनिचराको नाति र बुहारीको ज्यान लियो । शव भरतपुर अस्पतालको शवगृहमा थियो । पोस्टमार्टमको प्रक्रिया पूरा गर्न शनिचरा प्रहरी कार्यालय पुगेका थिए । धुर्बेकै कारण उनले १४ वर्षमा परिवारका ४ सदस्य गुमाए ।
१४ वर्षअघि बाआमाको ज्यान लिने भाले हात्ती धुर्बेले नै शनिबार शनिचराका जेठी बुहारी र नातिलाई आक्रमण गरेको हो । ‘माडी द्रोपति नगरमा बसेका हामी हात्तीले अति नै सताएपछि बसाइँ सरेर जगतपुर आएका थियौं । यत्रो वर्षपछि फेरि उही हात्तीले हामीमाथि आक्रमण गरेर बुहारी र नातिको ज्यान लियो,’ शनिचराले पीडा बिसाए ।
यसअघि पनि धुर्बेले चितवनको दक्षिणी क्षेत्रका बासिन्दालाई हायलकायल बनाएको थियो । हुर्कन थालेपछि जंगली हात्तीले भालेलाई बथानबाट लखेट्छ । धुर्बे पनि यसै गरी लखेटिएको जंगली भाले हात्ती भएको निकुञ्जका अधिकारीको भनाइ छ । निकुञ्जको विवरण अनुसार धुर्बेले २०६६ सालदेखि मान्छेलाई आक्रमण थालेको थियो । त्यसयता २५ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ । ‘यस्ता आक्रामक हात्तीको निगरानी गर्न हामीले स्याटेलाइट कलर राखेका छौं । हिजो घटनास्थल वरपर नै त्यो हात्तीको लोकेसन देखिएको छ,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत अविनास थापा मगरले भने ।
धुर्बेले निकुञ्ज सुरक्षाका लागि तैनाथ दुई जना सैनिकको पनि ज्यान लिएको छ । बुद्धिराम र झरलीलाई आक्रमण गरेपछि २०६९ सालको मंसिर मसान्तसम्म धुर्बेले १५ जनाको ज्यान लिएको थियो । निकुञ्ज कार्यालयले २०६९ चैत्र २६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालीन प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले धुर्बेको आक्रमणबाट १० जनाको ज्यान गएको थियो ।
२०६९ पुस १ मा बसेको प्रमुख जिल्ला अधिकारीसहितको बैठकले 'हात्ती मार्न आदेश' दिएको थियो । त्यसपछि हात्ती नियन्त्रणमा लिन निरन्तर दुई हप्तासम्म टोली जंगलमा परिचालित भएको थियो । धुर्बेमाथि पुस ४ गते र पुस १२ गते गोली प्रहार भएको थियो । गोली प्रहारपछि शिथिल देखिएको हात्ती पछि एकाएक हराएको थियो ।
‘धुर्बे’को दाह्रा काटेर घाँटीमा रेडियोकलर
त्यसबेला धुर्बे हात्तीलाई नियन्त्रणमा लिन १६ लाख रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा तत्कालीन प्रमुख संरक्षण अधिकृत फणीन्द्रराज खरेलले बताएका थिए । २०७३ सालको हिउँददेखि निकुञ्जको पश्चिम क्षेत्रमा धुर्बे फेरि देखा पर्न थालेको हो । पश्चिम चितवनमा मात्रै सीमित भएन धुर्बे, २०७६ सालमा पूर्वी चितवन र निकुञ्जभन्दा पर बरण्डाभार वन क्षेत्रमा पनि डुल्न थाल्यो ।
त्यसपछि २०७७ वैशाखमा धुर्बेलाई दोस्रो पटक स्याटेलाइट कलरको बन्धन भिराइयो । पहिलो पटक २०६९ सालको मंसिरमा राखेको रेडियो कलरले सोही वर्षको पुस १५ पछि संकेत दिन छाडेको थियो । र माघ २५ मा पर्सा निकुञ्जको जंगलमा रेडियो कलर मात्र फेला परेको थियो ।
रेडियो कलर राखेपछि सो हात्ती कता जाँदै छ भन्ने संकेत टाढै बसेर सुरक्षित तवरमा निकुञ्ज कार्यालयका कर्मचारीले चलाउने कम्प्युटरमा आउने गर्दछ । ६९ सालको ‘सरकारी खेदाइ’पछि पहिलाको भन्दा शान्त देखिएको ‘धुर्बे’लाई यसैगरी नियाल्ने र गाउँबस्ती छिर्न थाले लखेट्न निकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोली परिचालन हुने गरेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए ।
धुर्बेलाई २०८० मंसिर २५ मा तेस्रो पटक स्याटेलाइट कलर राखिएको उनले बताए । ‘यो स्याटेलाइट कलरले एक एक घण्टाको फरकमा संकेतहरू दिने गर्दछ,’ उनले भने । चितवन राष्ट्रिय निकुञ्जको घैलाघारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीले ९/१० दिनअघि धुर्बे हात्ती निकुञ्ज क्षेत्रबाट बस्तीतिर आउन लागेको बताए ।
भरतपुर महानगरपालिका-२३ जगतपुर बेलहट्ठामा २०४२ सालमा बस्न आएका हुन् केशव लामिछाने । ७२ वर्षीय लामिछानेको अनुभवमा धान पाक्ने बेलामा धुर्बे हात्ती बस्तीमा बाक्लै आउने गर्दछ । ‘एक दुई वर्षअघि पनि आएको थियो । हरेक वर्ष आउँछ । हाम्रो टोलभन्दा पर खड्गौलीबाट धानकै बोरा लगेर जंगल तिर पनि गएको छ । तर यसरी मान्छे मारेको पहिलो पटक हो,’ लामिछानेले भने ।
एकटुक्रा जग्गामा बनेको सानो घरमा दु:खजिलो गरी बस्छ शनिचराको ९ जनाको परिवार । दुईपाखे छानो जस्ताले छाए पनि पुरानो भएर खिया लागेको छ । गाह्रो पनि बलियो छैन । खडाईले बारेर माटोले लिपेको छ । अगाडिको पाली खरले छाएको छ । घरमा शनिचराका श्रीमान्- श्रीमती, तीनभाइ छोरा, जेठी बुहारी, नाति र नातिनी तथा बुहारीकी आमा बस्छन् ।
‘राति भित्तो हानेझैं लाग्यो । बाहिर निस्केर हेरेको हात्ती देखेँ । कच्ची घर हात्तीले हानेपछि भत्कन बेर लाग्दैन । भत्केपछि हात्तीले मारिहाल्छ । त्यसैले कराएर सबैलाई उठाएँ । भागाभाग भयो । बुहारी नाति लिएर निस्कँदै थिइन् । उनलाई हानिहाल्यो । हामीले केही गर्न सकेनौं,’ शनिचराले भने ।
आगो देखे हात्ती तर्सन्छ भनेर उनले एकमुठ्ठी खरमा आगो सल्काएर ज्वाला बनाए । तर पालीमा पनि आगो सल्कियो । ‘घर त डढ्यो तर आगो दन्केको देखेपछि हात्ती भाग्यो । त्यसैका कारण हामी जोगियौं । तर बुहारी र नातिको ज्यान रहेन,’ शनिचराकी श्रीमती मंगली बोटेले भनिन् । पालीमा सल्केको आगोले भित्रका सरसामान पनि छोयो । आइतबार मध्याह्नसम्म पनि धुवाँ पुत्याइरहेको थियो ।
केराघारीको बीचमा एकान्त ठाउँमा शनिचराको घर छ । ‘पहिला घरदेखि तलको घोलबाट धुर्बे आउने जाने गर्दथ्यो । यो पटक घर पछाडिबाट आएर हान्न थाल्यो,’ शनिचराले भने । सोच्दै नसोचेको एउटै हात्तीले बाआमा, बुहारी र नाति गुमाउँदा पीडामाथि पीडा थपियो भन्छन् शनिचरा । स्थानीय बासिन्दा हात्ती गाउँ आउजाउ गरे पनि निकुञ्जले पर्याप्त निगरानी नराख्दा घटना भएको भन्दै शनिबार मध्यरातमै निकुञ्ज मुख्यालय जाने बाटो राप्ती पुल पुगेर प्रदर्शन गरेका थिए ।
कसरा मुख्यालयबाट लगभग ४ किलोमिटर पश्चिममा शनिचराको घर छ । शनिचराकी २५ वर्षकी बुहारी आशिका र चार वर्षको नाति भरतको मृत्यु भएको हो । उनीहरू जेठा छोरा पूर्णका परिवार हुन् । अरु दुई छोराको बिहे नै भएको छैन । पूर्णको एउटी छोरी पनि छन् । ‘माडीबाट यहाँ आएर घर बनाए । कमाउन अरू उपाए छैन मैले र छोराहरूले निमेक मजदुरी गर्छौं,’ शनिचराले भने ।
शनिबारको घटनापछि धुर्बे हात्तीलाई नियन्त्रणमा लिने सहमति भएको छ । ‘यो हात्ती निकुञ्जको पश्चिम क्षेत्र सुखीखार जंगलमा बढी बस्छ । हामी त्यसलाई त्यही नै रोक्ने प्रयास गर्दैछौं । पोथीको खोजी गरेको हो भने त्यतै पोथी राख्ने सोच छ,’ निकुञ्जका सूचना अधिकारी मगरले भने ।
यसका साथै नयाँ स्याटेलाइट कलर राख्न पाए लगातार निगरानी गर्न सम्भव हुने उनले बताए । अहिलेको स्याटेलाइट कलरले एक-एक घण्टाको अन्तरालमा संकेत पठाउँछ । हात्ती जंगलभित्र गए त्यतिधेरै स्पष्ट संकेत आउँदैन । त्यसैले लगातार र प्रस्ट संकेत दिने नयाँ स्याटेलाइट कलर राख्न आवश्यक भएको उनले बताए । प्राय: जंगली भाले हात्तीबाटै घरपालुवा पोथी हात्तीको प्रजनन् प्रक्रिया हुने गरेको छ ।
यसबीचमा धुर्बेसँगको संसर्गपछि केही ढोईले बच्चा जन्माएका छन् । चितवनमा धुर्बेसँगै रोनाल्डो, गोविन्दे जस्ता चार पाँचवटा नयाँ/पुराना भाले हात्ती सक्रिय छन् ।
सम्बन्धित समाचार
