‘धुर्बे’को दाह्रा काटेर घाँटीमा रेडियोकलर

अर्को भाले हात्ती रोनाल्डोसँग जुध्न र बस्ती पस्न नदिन निकुञ्जले नियमित निगरानी गर्दै

वैशाख १२, २०७७

रमेशकुमार पौडेल

काठमाडौँ — कुनै बेलाको आक्रामक जंगली हात्ती ‘धुर्बे’ अब पहिलेजस्तो उपद्रो मच्चाएर गायब हुनेछैन । उसका हरेक आनीबानी रेडियोकलरमार्फत 'ट्रयाक' गरिनेछ । चितवन निकुञ्जको कार्यालयबाटै उसका गतिविधि निगरानी गरिनेछ ।

निकुञ्जले धुर्वेको दाह्रा काटेर घाँटीमा रेडियोकलर जडान गरेपछि यो सम्भव भएको हो । ‘अब धुर्बेका गतिविधि निकुञ्जको कार्यालयमै बसेर अनुगमन गर्न मिल्ने भएको छ,’ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका प्रमुख गोपालबहादुर घिमिरेले भने । 

धुर्बे अहिले ‘रोमान्स’मा मस्त छ । सौराहानजिक खोरसोरमा हात्ती प्रजनन केन्द्र छ । त्यहाँ पोथी हात्ती छन् । धुर्बे चैत अन्तिमदेखि यहीँ अडिएको छ । पहिले बढीजसो माडी क्षेत्र र निकुञ्जको पश्चिमतिर बरालिन्थ्यो ।

खोरसोर क्षेत्रमै अर्को जंगली भाले हात्ती ‘रोनाल्डो’ पनि डुल्ने गर्छ । यो पनि निकै आक्रामक छ । सकेसम्म त्यहाँ अन्य भाले हात्तीलाई ढिम्किन दिँदैन ।

यसपटक भने रोनाल्डोको क्षेत्र धुर्बेले कब्जा गरेको छ । रोनाल्डो खोरसोरदेखि पर डुमरियामा बस्न थालेको सहायक संरक्षण अधिकृत घिमिरेले बताए । रोनाल्डो गत पुसमा पश्चिम क्षेत्र मेघौली पुगेको थियो । त्यहाँ घर भत्काउने र अन्न नोक्सानी गर्न थालेपछि पुस २५ गते उसको घाँटीमा पनि रेडियोकलर जडान गरिएको थियो ।

दुई आक्रामक हात्ती एकै क्षेत्रमा बस्दा जुध्ने र बस्तीमा छिरेर दुःख दिने खतरा रहेकाले अनुगमन गर्नुपरेको घिमिरेले बताए । ‘धुर्बेलाई हिजो बिहीबार दिउँसो बेहोस गरेर दाह्रा काट्यौं । दाह्रा काटेपछि हात्तीको आक्रामक स्वभाव कम हुन्छ,’ उनले भने, ‘त्यसपछि घाँटीमा रेडियोकलर राखेर छाडेका छौं ।’ निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्राविधिक यो काममा संलग्न थिए ।

०६६ सालदेखि निकुञ्जमा देखिन थालेको धुर्बेलाई रेडियोकलर जडान गरिएको यो पहिलोपटक होइन । ०६९ हिउँदमा यसको आतंक उत्कर्षमा थियो । चितवनदेखि रौतहटसम्म डुलेर लगातार मानिसमाथि आक्रमण गर्न थाल्यो ।

ध्रुवे हात्ती ‘रोमान्स’ मा मस्त 

माडीमा महिनादिनभित्रै पाँच जनालाई मारेपछि धुर्बेलाई मार्न चौतर्फी माग उठ्यो । यसअघि पनि ६६ मा एक जना, ६७ मा तीन, ६८ मा एक जनाको ज्यान लिएको थियो । तर ६९ मा एकैचोटि १० जनालाई मारेको थियो. । त्यसैले निकुञ्जले त्यस वर्ष मंसिर ६ गते जीपीएससहितको रेडियोकलर जडान गरिदिएको थियो ।

आक्रमण नथामिएपछि पुस २ देखि धुर्बेलाई मार्न टोलीसमेत परिचालन भयो । तर पुस १५ देखि यो हात्ती एकाएक हरायो । माघ २४ गते पर्सा, निर्मलबस्तीको जंगलमा फेला पर्‍यो । त्यस बेला धुर्बे नियन्त्रणका लागि १६ लाख रुपैयाँ खर्च भएको थियो । त्यसपछि कतै नदेखिएको धुर्बे तीन वर्षअघि एकाएक निकुञ्जको पश्चिम क्षेत्रमा घरपालुवा पोथी हात्ती ‘लोकतन्त्रकली’का साथ भेटियो ।

पछिल्लो समय धुर्बे संयमित देखिएको छ । बस्ती छिरेर मान्छेमाथि आक्रमण  गरेको छैन । ‘तर दुईवटा भाले हात्ती एकै ठाउँ भएपछि निगरानी राख्नै पर्ने हुन्छ । रेडियोकलर राखेपछि उनीहरू कहाँ–कहाँ पुगे, भेट भए कि  भएनन् जस्ता गतिविधि कार्यालयमै बसेर नियाल्न सकिन्छ,’ घिमिरेले भने, ‘कुनै हात्ती बस्तीमा छिरे तत्काल धपाउन मद्दत पनि पुग्छ ।’

तस्बिरहरु : राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयको फेसबुक पेजबाट 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully