ध्रुवे हात्ती ‘रोमान्स’ मा मस्त 

कुनै बेला मान्छेका लागि आतंकको पर्याय बनेको ध्रुवे हात्ती अहिले खोरसोरमा प्रेमलिलामा मग्न छ ।

वैशाख २, २०७७

रमेशकुमार पौडेल

चितवन — ध्रुवे हात्तीको नाम नसुन्ने नेपाली कमै होलान् । अहिले संसार कोरोना भाइरसको त्रासमा छ । कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्को रुप थियो । खेतबारीमा निस्कन नपाइ घरभित्रै बस्नु पर्ने बनाएको थियो यो जंगली भाले हात्तीले । बाहिर निस्केका मान्छेलाई ध्रुवेले धमाधम निशाना बनाइरहेको थियो । ध्रुवेलाई मार्न राज्य नै लाग्यो । १६ लाख रुपैयाँ खर्च भयो तर ध्रुवे एकाएक गायब भयो ।

कोरोना महामारीले विश्वभर नै लकडाउन छ । मान्छेहरु घरभित्रै कैद भएका छन् । यो बेला ध्रुवे हात्ती भने जंगलभित्र ‘प्रेमलिला’ मा मग्न छ । ध्रुवे पहिलाको जस्तो उग्र हुन छाडेको धेरै नै भयो । प्रायः चितवन निकुञ्जको पश्चिम क्षेत्र र माडीमा घुम्ने यो हात्ती अहिले निकुञ्जको पूर्वी क्षेत्र सौराहा नजिकको खोरसोरमा आएको छ । खोरसोरमा हात्ती प्रजनन् केन्द्र छ । केन्द्रका पोथी हात्तीसँग धुर्वेकाे ‘रोमान्स’ सुरु भएको छ ।

‘यो क्षेत्रमा ध्रुवे देखिएको तीन दिन भयो । दुई दिनयता प्रजनन् केन्द्र छाडेको छैन । सोमबार साँझ यहाँको हात्ती कर्णालीकलीसँग उसको रोमान्स चल्यो’ प्रजनन् केन्द्रका प्रमुख बुधन चौधरीले भने । गर्भाधान भएको २० देखि २४ महिनाभित्र हात्तीले बच्चा जन्माउँछ । आउँदो दुई वर्षभित्र केन्द्रमा कर्णालीकलीको कोखबाट बच्चा जन्मिनेमा चौधरी ढुक्क छन् । केन्द्रका पोथी हात्तीले जंगली भाले हात्तीकै यौन सम्पर्कबाट बच्चा जन्माउने गर्दछन् ।

प्रजनन् केन्द्र सौराहाका मुख्य पर्यटकीय आकर्षणमध्ये पर्दछ । सौराहा घुम्न आउने धेरैजसो पर्यटक खोरसोर पुगेर हात्तीका साना ठूला छावाको चकचक हेरेर दंग पर्दछन् । तर कोरोना कहर बढ्दै जाँदा चैत आठ गतेदेखि केन्द्र बन्द छ । अहिले त पुरै सौराहा सुनसान छ । प्रजनन् केन्द्रमा पनि बाहिरका कोही जान नपाउनेगरि बन्द गरिएको छ । बार बन्देज मान्छेका लागि न हो । ध्रुवेलाई छेकबार लगाउन कल्ले सक्नु ।

आतंक छाडेर प्रेमीको रुपमा प्रकट 

मान्छेले सकेको भए ध्रुवे हात्तीलाई उहिल्यै मार्ने थिए । ०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले सोही वर्षको माघमा पहिलोपटक मान्छे मार्‍यो । ०६९ सालको हिँउदमा यसको आतंक उत्कर्षमा थियो । यो हात्ती चितवनदेखि रौतहटसम्म डुल्न थाल्यो । माडीमा महिना दिनभित्रै पाँचजनाको ज्यान लिएपछि धुर्वेलाई मार्न माग गर्दै आन्दोलन सुरु भयो। 

ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लियो । मृत्यु भएकामध्ये छ जना माडीका हुन् । ५० वटा घर भत्काएको छ । उसले टाइगर टप्स होटलको एउटा भाले हात्ती मारेको निकुञ्ज कार्यालयले जानकारी गराएको छ । ०६९ सालको कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मंसिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो ।

०६९ साल मंसिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जीपीएससहितको रेडियोकलर जडान गरेको थियो । तर मंसिर मसान्तमा गर्दीमा बोटे दम्पतिको ज्यान लिएपछि पनि हात्तीलाई मार्ने निर्णय भयो । ध्रुवेलाई मार्न पुस २ गतेदेखि टोली परिचालन भयो । तर पुस १५ देखि हात्ती सम्पर्कविहिन भयो । रेडियोकलर माघ २४ गते पर्सा निर्मल बस्तीको जंगलमा फेला परेको थियो । 

हात्ती मार्ने निर्णय भएपछि निकुञ्जमा तैनाथ नेपाली सेना पछि लागेको थियो । रेडियोकलरको संकेत स्पष्ट नआउँदा हात्ती हेर्न हेलिकप्टरको समेत सहयोग लिनु परेको थियो । तर हात्ती हरायो । हात्ती नभेटिएपछि धेरैले ध्रुवे मर्‍यो भन्ने ठाने । तर तीन वर्षअघि गैंडा स्थानान्तरण गर्दा ध्रुवे सुखीभार क्षेत्रमा देखा पर्‍यो । झन्डै पाँच वर्ष जंगलभित्रै गायब रहेको ध्रुवेले सुखीभारमा पोथी हात्ती लोकतन्त्रकलीसँग यौन सुख भोग्ने मौका पायो ।

त्यसको एक वर्षपछि सुखीभार क्षेत्रमै ध्रुवेले अर्को पोथी हात्ती तिर्थमानकलीसँग रोमान्स गर्‍यो । लोकतन्त्रकलीले गत वर्ष र तिर्थमानकलीले गएको माघमा बच्चा जन्मइसकेका छन् । हात्ती पोस्टमा रहेपनि गर्भवती भएपछि खोरसोरमा नै ल्याएर राखिन्छ । ध्रुवे हात्ती अहिले आफ्नो पुरानो एरिया पश्चिम चितवन छाडेर आफ्ना पहिलेका दुई ‘प्रेमिका’ रहेको खोरसोरमा नै आएको छ । 

खोरसोरलाई जंगली भालेकै भर 

२०४२ सालमा स्थापना भएको खोरसोर हात्ती प्रजनन् केन्द्रमा हालसम्म ५० भन्दा धेरै छावा जन्मेको केन्द्रका प्रमुख बुधन चौधरीले बताए । प्रजनन् केन्द्रमा पहिला एउटा वीरेन्द्रप्रसाद नामको घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा जम्मा दुईवटा मात्रै छावा जन्मेका छन् । नभए निकुञ्जका ढोइ (पोथी हात्ती) जंगली मत्ता (भाले) कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले जानकारी दिए ।

ध्रुवे, रोमियो, नानापाटेकर, रोनाल्डो जस्ता नाम गरेका जंगली भाले हात्तीबाट निकुञ्जमा रहेका घरेलु हात्तीको वंशवृद्धि सम्भव भएको छ । पोथी हात्ती १३ वर्षको भएपछि बच्चा जन्माउन तयार हुन्छ । ५० वर्षसम्म बच्चा जन्माउने गरेको केन्द्रका प्रमुख चौधरीले बताए । भाले हात्ती १८ वर्ष पुगेपछि यौन गतिविधिमा सक्रिय हुन्छ । हात्ती जंगलभित्र गस्ती गर्न आवश्यक हुन्छ । हुर्केका हात्ती यो काममा प्रयोग हुन्छन् ।

रोमियो, नानापाटेकर जस्ता हात्तीहरु अहिले छैनन् । रोनाल्डो, ध्रुवे, गोविन्देलगायतका जंगली भाले हात्ती सक्रिय छन् । जंगली भाले हात्ती निकै कम छन् । यी हात्ती कुनै खासखास समयमा देखा पर्दछन् । यी हात्ती देखा पर्दा त्यो समयमा जुन व्यक्तिको नाम चर्चामा हुन्छ, स्थानीय वा हात्तीसारका मान्छेले त्यही नाम राखेर हात्ती चिन्ने गर्दछन् । घरेलु हात्तीको नाम भने निकुञ्ज विभाग र निकुञ्ज कार्यालयले राख्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका प्रमुख गोपालबहादुर घिमिरेका अनुसार यसपटक सौराहा क्षेत्रमा रोनाल्डो र गोविन्दे त थिए  नै ध्रुवे र अर्को एउटा नौलो भाले हात्ती पनि आएका छ । गोविन्दे र रोनाल्डोको खासै लडाइ पर्दैन । तर रोनाल्डोले नयाँ हात्तीलाई देखिसहँदैन । त्यही नौलो भाले हात्तीलाई लखेट्दै रोनाल्डो अहिले खोरसोरभन्दा अलि बाहिर पुगेको छ ।

रोनाल्डोले ध्रुवेलाई पनि टिक्न दिँदैन । अघिल्ला वर्षहरुमा पनि ध्रुवे कहिलेकाहीँ खोरसोरमा झुल्कन्थ्यो । तर रोनाल्डोले खेदिहाल्थ्यो । यो पटक रोनाल्डो नयाँ भालेलाई लखेट्न गएका बेलामा ध्रुवेलाई रासलिला पुरा गर्ने अवसर मिल्यो भन्छन् बुधन चौधरी । कुनै बेला मान्छेका लागि आतंकको पर्याय बनेको ध्रुवे हात्ती अहिले खोरसोरमा प्रेमलिलामा मग्न छ । मान्छे भने आँखाले नदेखिने भाइरसको त्रासमा छ । जसलाई खेद्न विश्व लागेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully