सम्बन्धविच्छेद : आमाबुबाको विछोड, सन्तानलाई चोट 

सम्बन्धविच्छेदलाई कानुनी प्रक्रिया मात्र नभई बालबालिकाको अधिकार, मानसिक स्वास्थ्य र भविष्यसँग जोडिएको सामाजिक मुद्दाका रूपमा हेर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञ बताउँछन् ।

असार १८, २०८३

आरती पौडेल

Divorce: Separation of parents, hurt for children

What you should know

काठमाडौँ — आमाबुबाको सम्बन्धविच्छेद कानुनी रूपमा दुई व्यक्तिको वैवाहिक सम्बन्धको अन्त्य हो । तर त्यसको असर प्रायः उनीहरूका सन्तानले वर्षौंसम्म बोकेर हिँड्नुपर्छ ।

परिवारको न्यानोपन गुमाउनु, आफूलाई अरूसँग तुलना गरेर हीनताबोध गर्नु, आर्थिक तथा भावनात्मक असुरक्षा भोग्नु र मानसिक स्वास्थ्यमा समस्या देखिनु सम्बन्ध विच्छेदपछि धेरै बालबालिका तथा किशोरकिशोरीले भोग्ने साझा यथार्थ हो । मनोचिकित्सकका अनुसार अभिभावक छुट्टिए पनि सन्तानप्रतिको जिम्मेवारी र सम्बन्ध टुट्नु हुँदैन, अन्यथा त्यसको असर उनीहरूको व्यक्तित्व विकासदेखि भविष्यसम्म पर्न सक्छ ।

कास्कीकी २१ वर्षीया खुसी गुरुङ (नाम परिवर्तन) दुई वर्षकी हुँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भयो । आमा विदेश गइन् । त्यसयता उनी मामाघरमै हुर्किइन् । सानै भएकाले सुरुमा केही थाहा पाएनन् । उमेर बढ्दै जाँदा भने आफ्ना आमाबुबा सँगै नभएको यथार्थले उनलाई पटक–पटक दुखायो ।

'साथीहरूका ममीबुबाले उनीहरूलाई माया गरेको, सँगै घुमेको वा जन्मदिन मनाएको देख्दा मेरो पनि परिवार यस्तै भएको भए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो,' उनी भन्छिन्, 'यस्तै सोच्दा कतिपय रात निद्रै लाग्दैनथ्यो ।'

सम्बन्ध विच्छेदपछि उनका दुवै अभिभावकले दोस्रो विवाह गरे । बुबासँग बेला–बेलामा भेट भए पनि आमासँगको सम्बन्ध भने लगभग टुटेजस्तै भयो । अहिले अध्ययन र काममा व्यस्त भएपछि आफूलाई सम्हाल्न सहज भएको उनी बताउँछिन् । केही महिनाअगाडि मात्र उनी अध्ययनका लागि जापान गएकी छन् ।

यस्तै अनुभव काठमाडौंका एक किशोरको पनि छ । आमाबुबाको सम्बन्धविच्छेदपछि सुरुमा बुबाले पढाइको खर्च बेहोर्ने सहमति भए पनि केही समयमै उनले जिम्मेवारी लिन छाडे । 'बुबाले दोस्रो विवाह गरेपछि स्कुलको शुल्कसमेत तिर्न बन्द गर्नुभयो,' उनी भन्छन् । त्यसबेला आमाको आम्दानी नभएकाले घरभाडादेखि विद्यालय शुल्कसम्म जुटाउन परिवारलाई निकै कठिन भयो ।

'सबैभन्दा नराम्रो आफ्नै बुबाले वास्ता नगरेको महसुस हुनु थियो,' उनी भन्छन् । अहिले आमाको व्यवसायले आर्थिक अवस्था सहज भए पनि बाल्यकालका ती अनुभवले अझै पीडा दिने उनको भनाइ छ ।

आमाको आम्दानीको बाटो भएकाले अहिले पैसाका लागि बुबालाई फोन गर्नै नपपर्ने उनी बताउँछन्  । 'तर कहिलेकाहीँ याद आएका बेला फोन गर्छु,’ उनले भने, ‘म सानो हुँदाको एउटा कुरा याद आउँछ । परिवारसँगै बसेर रमाइलो गर्ने समयमा भेट्न समय मिलाउनुपर्ने अनि बुबाको समय नमिल्ने, त्यस्तो सम्झँदा अहिले नरमाइलो लाग्ने रहेछ ।’

मनोचिकित्सक डा. अमित झाका अनुसार सम्बन्ध विच्छेदको असर बालबालिकाको उमेरअनुसार फरक–फरक रूपमा देखिन्छ । 'बालबालिकाको सर्वांगीण विकासका लागि आमा र बुवा दुवैको भूमिका महत्वपूर्ण हुन्छ,' उनी भन्छन्, 'सम्बन्ध विच्छेदले उनीहरूले एउटा महत्वपूर्ण भावनात्मक सहारा गुमाएको अनुभूति गराउँछ ।'

उनका अनुसार साना बालबालिकाले किन आमाबुबा छुट्टिए भन्ने बुझ्न सक्दैनन् भने किशोरकिशोरीहरूले आफ्ना साथीहरूको परिवारसँग तुलना गर्न थाल्छन् । त्यसले हीनताबोध, उदासी, रिस, आत्मविश्वासमा कमी तथा 'एडजस्टमेन्ट डिसअर्डर' जस्ता समस्या निम्त्याउन सक्छ । लामो समयसम्म तनाव व्यवस्थापन हुन नसके डिप्रेसन, एन्जाइटी, लागुपदार्थ दुर्व्यसन र अत्यधिक स्क्रिन प्रयोगजस्ता समस्या पनि देखिन सक्छन् ।

डा. झाका अनुसार सम्बन्ध विच्छेदपछि पनि सन्तानसँग नियमित भेटघाट, संवाद र भावनात्मक साथ आवश्यक हुन्छ । बच्चासँग बस्ने अभिभावकले सकेसम्म आमा र बुवा दुवैको भूमिका निभाउने प्रयास गर्नुपर्छ भने हजुरआमा, हजुरबुबा तथा अन्य परिवारका सदस्यको साथले पनि बालबालिकालाई एक्लोपन कम गराउन सहयोग पुर्‍याउँछ ।

लामो समयसम्म तनाव व्यवस्थापन हुन नसकेमा डिप्रेसन, एन्जाइटी र लागुपदार्थ दुर्व्यसनजस्ता गम्भीर समस्या निम्तिन सक्ने पनि विज्ञ बताउँछन् । तनाव कम गर्न बालबालिकाले इन्टरनेटको सहारा लिन सक्ने र त्यसले ‘स्क्रिन एडिक्ट’ बनाउने झाको भनाइ छ । सम्बन्ध विच्छेद कानुनी अवधारणा मात्रै हो, सामाजिक वा मानवीय सम्बन्धको पूर्ण अन्त्य होइन । तर अभिभावक आफ्नै सन्तानको जिम्मेवारीबाट सदाका लागि टाढा हुँदा त्यसले बालबालिकालाई दीर्घकालसम्म असर पुर्‍याइरहन्छ ।

पारिवारिक विखण्डनले सन्तानको भविष्य नै अन्योलमा पर्ने त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक लक्ष्मणप्रसाद शर्मा बताउँछन् । ‘सुमधुर र भावनात्मक सम्बन्धको अभावमा सन्तानको सिकाइ तथा हुर्काइ प्रक्रियामा नकारात्मक प्रभाव पर्न सक्छ,’ उनले भने, ‘यसले भोलिको समाज कस्तो होला भन्ने गम्भीर चिन्ताको विषय हो ।’ 

मुलुकी देवानी संहिता, २०७४ को दफा ११४/११५ मा सम्बन्ध विच्छेदपछि सन्तानको संरक्षकत्व र हेरचाहको व्यवस्था गरिएको छ । बच्चाको उमेर र उसको हितलाई ध्यानमा राखेर संरक्षकत्व निर्धारण गर्ने गरिने अधिवक्ता भावेश गौतम बताउछन् । ‘अदालतले सम्बन्ध विच्छेदको  फैसला गर्दा बच्चाको सर्वोत्तम हितलाई प्राथमिकता दिने गरेको छ,’ उनले भने । 

‘पाँच वर्षमुनिको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि राख्न पाउने व्यवस्था छ,’ उनले भने, ‘पाँचदेखि १० वर्षसम्मको बच्चा आमाले राख्न चाहेमा र बुबाले खर्च बेहोर्नुपर्ने गरी आमाको साथमा राख्न सकिन्छ वा बुबाले पनि राख्न पाउने व्यवस्था रहन्छ ।’ उनका अनुसार १० वर्षभन्दा माथिको बच्चाको अवस्थामा उनीहरुको राय सोधिने र उसैको स्वीकृतिमा संरक्षकत्वमा रहने व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतको तथ्यांकअनुसार सम्बन्ध विच्छेदका मुद्दाको संख्या बर्सेनि बढ्दै गएको छ  । २०८०/८१ मा देशभरका विभिन्न अदालतमा ४० हजार ३ सय २० मुद्दा दर्ता भएका थिए । जसमा ३१ हजार ७ सय ५२ मुद्दाको फर्छ्यौट भए । २०८१/८२ मा ४२ हजार ७ सय ३९ मुद्दा दर्ता भएकामा फर्छ्यौट संख्या ३३ हजार ५० वटा छ । चालु आर्थिक वर्ष २०८२/८३ जेठसम्म ४२ हजार ७ सय ३ मुद्दा दर्ता भएका देखिन्छन् । त्यसमा २९ हजार १ सय ३१ मुद्दाको फैसला भएको तथ्यांकमा उल्लेख छ । 

सम्बन्ध विच्छेदपश्चात् सन्तानलाई अर्को पक्षले भेट्न गाह्रो हुने र यसमा वर्गले पनि प्रभाव पार्ने गरेको गौतम सुनाउँछन् ।  ‘चाहेको समयमा भेट्न पाउने कानुनी व्यवस्था भए पनि नेपाली समाजमा त्यो खासै लागू भएको देखिन्छ,' उनले भने, 'उच्च वर्गका आर्थिक सम्पन्न परिवारले बच्चालाई विदेशमा लगेर राख्ने गरेकाले अर्को पक्षले भेट्न गाह्रो हुने अवस्था छ,’ उनले भने, ‘मध्यम वर्गमा सम्बन्ध विच्छेदपछि सन्तानले पितृ संरक्षणको अभाव महसुस गर्ने समस्या बढी छ ।  निम्न वर्गमा सामान्यतया महिलाले अर्को विवाह गर्ने निश्चित नभएसम्म सम्बन्धविच्छेद गर्ने प्रचलन कम देखिन्छ । जसले गर्दा बच्चा छोड्ने समस्या यहाँ तुलनात्मक रूपमा कम देखिन्छ ।'

सन्तानको उचित हुर्काइ र विकासका लागि बुवा र आमा दुवैको माया बराबर हुनुपर्ने हो । तर उनीहरुबीचको असमझदारी र त्यसले निम्त्याउने विछोडले सन्तनाले मानसिक स्वास्थ्यमा प्रतिकूल असर समेत खेपिरहेका हुन्छन् । ‘गलत बाटो रोज्ने वा कुलतमा फस्ने जस्ता धेरै घटना समाजमा देखिएका पनि छन्,’ बाल संरक्षक गीता केसी दर्नाल भन्छिन् ।

उनका अनुसार आमाबुबाको सम्बन्ध विच्छेदपछि सन्तानले नयाँ अभिभावकलाई स्वीकार्न निकै गाह्रो हुन्छ । ‘अर्को आमा वा बुवा पाउँदा बच्चाको मानसिकतामा सबैभन्दा धेरै प्रभाव पारेको देखिन्छ,’ उनले भनिन्,‘बच्चाले आफ्नो जन्म दिने बुवा वा आमाको ठाउँमा नयाँ व्यक्तिलाई पाउँदा बाहिरबाट स्वीकारेको जस्तो देखिए पनि भित्रैदेखि स्वीकार्न नसक्ने मानसिक अवस्थाबाट उनीहरू गुज्रिरहेको देखिन्छ ।’

बालबालिका धेरै दुःखी हुने, कुराकानी नगर्ने, व्यवहारमा परिवर्तन आउने, राति राम्रोसँग नसुत्ने वा खाना खान मन नगर्ने जस्ता लक्षण देखिएमा तुरुन्तै मनोचिकित्सक वा परामर्शदाताको सल्लाह लिनुपर्ने मनोचिकित्सक डा. अमित झा बताउँछन् । 'बालबालिकाको हेरचाह गर्ने अभिभावकले आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु उत्तिकै जरुरी छ,' उनले भने । 

अदालतको फैसलाले श्रीमान्–श्रीमतीको सम्बन्ध टुंग्याए पनि तिनको सन्तानको मनमा रहेको घाउ तत्काल मेटिन सक्दैन । त्यसैले सम्बन्ध विच्छेदलाई कानुनी प्रक्रिया मात्र नभई बालबालिकाको अधिकार, मानसिक स्वास्थ्य र भविष्यसँग जोडिएको सामाजिक मुद्दाका रूपमा हेर्नुपर्ने आवश्यकता बढ्दै गएको सम्बन्धित क्षेत्रका विज्ञ बताउँछन् ।

फिचर

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully