मल, बीउ र सिँचाइको अभावमा धेरै किसान छटपटिएका बेला सरकारी र गैरसरकारी संस्था धुमधाम धान दिवस मनाउने तयारीमा
What you should know
रौतहट, कपिलवस्तु, रूपन्देही, शिव पुरी, बर्दिया, कैलाली — रौतहट
यसपालि मध्य असारसम्म तराईका प्रायः खेत बाँझै छन् । खडेरीको मारमा परेको पश्चिम तराईमा हली, बाउसे र खेताला फुर्सदिला छन् । कहीँकतै भूमिगत पानीको भरमा बीउ तयार भए पनि रोपाइँका लागि पर्याप्त छैन । मल, बीउ र सिँचाइको अभावमा धेरै किसान छटपटिएका बेला सरकारी र गैरसरकारी संस्थाले भने सोमबार धुमधाम धान दिवस मनाउने तयारी गरेका छन् । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २३ औं धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम गर्न लागिएको हो ।
१२ असारसम्म देशभर १२.०७ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले सोमबार गुलरिया–३ खैरीमा धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ । ‘पानी नपरेर किसानलाई तनाव भइरहेको छ,’ गुलरिया–२ का कधाई गोडियाले भने, ‘उता औपचारिकताका लागि धान दिवस मनाउने कार्यक्रम आयोजना गरिएको छ ।’ प्रत्येक वर्षको धान दिवसमा एक गरो हिल्याएर रोपाइँ गरेको फोटो खिचाउने काम मात्रै भइरहेको उनले बताए । ‘पानी नपरेर समस्या त छ । तर, धान दिवस त मनाउनै पर्यो, हाम्रो वार्षिक कार्यक्रम हो,’ कार्यालय प्रमुख कमला अधिकारीले भनिन् । खैरीस्थित ३ कट्ठामा मोटरले भूमिगत पानी तानेर रोपाइँ गरी दिवस मनाउने तयारी गरिएको उनले बताइन् ।
बर्दियालगायत पश्चिम तराईका जिल्लामा आइतबारसम्म वर्षा भएको छैन । अत्यधिक गर्मीमा धानको ब्याड कसरी जोगाउने भन्ने चिन्तामा किसान छन् । धानको ब्याड रोपाइँ गर्ने भइसक्दा पनि आकाशको पानी कुरेर बस्नुपरेको गुलरिया–९ का मथुराका प्रल्हाद गोडियाले बताए । ‘ब्याड पहेंलिएर सुक्न थाल्यो,’ उनले भने, ‘यसपालि धान खेती बिग्रिने चिन्ता बढेको छ ।’ बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ । आइतबारसम्म १९ प्रतिशत रोपाइँ भइसकेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले बताए ।
सिँचाइ अभावले किसानले धान रोप्नै नपाइरहेका बेला तीनै तहका सरकारले ग्रामीण क्षेत्रका खेतमै पुगेर दिवस मनाउने तयारी गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा धान दिवस मनाउने तयारी गरिरहेको छ । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले तीन तहकै सरकारको समन्वयमा सुनवल नगरपालिकामा धान दिवस मनाउने तयारी भइरहेको बताए ।
धान दिवस भनेर खेतमा ठूला मान्छे आएर हिलो छ्यापेर जान्छन्, हाम्रा लागि न समयमा मल आउँछ, न त खेतमा पानी बग्छ । - तपेश्वर चौधरी, रौतहटका किसान‘लुम्बिनीको प्यूठानमा सबैभन्दा धेरै र पाल्पामा सबैभन्दा कम रोपाइँ भएको देखिएको छ,’ उनले भने, ‘सोमबार धान दिवस तीन तहकै सरकारको समन्वयमा किसानको उत्साहका लागि मनाउने तयारी छ ।’ संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा दिवस मनाउने तयारी भइरहेको उनले बताए ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकाको मानपकडीमा पनि धान दिवस मनाइँदै छ । लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा धान दिवस मनाइने कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भाष्कर पौडेलले बताए । मानपकडीमा सहभागिता जनाएर मन्त्री चौधरी प्रदेश सरकारको धान दिवस मनाउन पश्चिम नवलपरासी पुग्नेछन् ।
कपिलवस्तुका १० वटै स्थानीय तहमा सोमबार धान दिवस मनाउने कार्यक्रम तय गरिएको छ । धान दिवसमा सहभागिताका लागि एक गैरसरकारी संस्थाले सोमबार बिहानै प्रमुख जिल्ला अधिकारी नवराज गौतमसहितको टोलीलाई हरनामपुरमा निम्त्याएको छ । सोमबार अपराह्न कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले डुमरामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने तयारी छ ।
दिवस मनाउन सरकारी निकायको दौडधुप चलिरहँदा किसान रोपाइँ गर्न नपाएर छटपटीमा छन् । यशोधरा–२ भावपुरका अभिषेक पाण्डेले दुई बिघा खेत रोप्न काला नमक र साभा मन्सुलीको उन्नत जातको बीउ छरेको दुई साताभन्दा बढी भयो । ‘सुरुमा मल र बीउ नपाएर सास्ती भयो । भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर बीउ ल्याएर काम चलाएँ । पानी नपरेर खेत धाँजा फाटेका छन् । बीउ डढ्न थालेको छ,’ उनले भने, ‘समयमा रोपाइँ नभएपछि लगानी खेर जाने जोखिम छ ।’
कपिलवस्तु–३ सड्वाका कृष्ण कोहारले पनि अझै बीउ राख्न सकेका छैनन् । ‘रोप्नुपर्ने बेला बीउ नै राखेको छैन,’ उनले भने, ‘ढिलो हुने निश्चित भयो । मनसुन सक्रिय नहुँदा वर्षा भएको छैन, बीउ राख्न नपाउँदा छटपटिएको छु ।’ शनिबार राति बुटवल आसपास वर्षा भए पनि सीमावर्ती क्षेत्रमा छिटा परेन । खेतीपाती बेचबिखन गरेर घरगर्जो टार्दै आएका उनलाई ८ जनाको परिवार पाल्ने चिन्ता छ । ‘धान दिवसको तामझामभन्दा सिँचाइको उचित व्यवस्थातिर लाग्नुपर्थ्यो,’ उनले भने ।
असार पहिलो साताबाट धमाधम रोपाइँ हुने यहाँ १५ जेठसम्म बीउ राखिसकिन्थ्यो । तर, पानी नपरेका कारण एक महिना ढिलो हुन लाग्दा पनि बीउ राख्न नसकेको मायादेवी गाउँपलिकाको भरवलियाका किसान हरिराम चौधरीले बताए । असार पहिलो सातासम्म बीउ नछर्ने हो भने रोपाइँ ढिलो हुन्छ । यसले धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए । ‘प्रमुख अन्न बाली बेलामा लगाउन नपाउँदा कृषकको जीवन चक्रमै प्रभाव पार्छ,’ उनले भने । कपिलवस्तुमा ६५ हजार ८ सय ५२ हेक्टरमा धान खेती हुँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन छ ।
धान दिवस मनाउन तामझाम सुरु भए पनि रौतहटका किसानमा उत्साह देखिएको छैन । किसानको मुख्य समस्यातिर ध्यान नदिई पर्वको नाममा बाजागाजा, भाषण गर्ने शैली बन्द हुनुपर्ने रौतहटको सिम्राभवानीपुरका किसान तपेश्वर चौधरी बताउँछन् । ‘दिवस भनेर खेतमा ठूला मान्छे आएर हिलो छ्यापेर जान्छन्,’ उनले भने, ‘हाम्रा लागि न समयमा मल आउँछ, न त खेतमा पानी बग्छ । आकाशे पानीको भर र मलको अभाव सधैंको बाध्यता हो ।’
कृषि ज्ञान केन्द्रका अनुसार रौतहटको ३४ हजार हेक्टरमा धान खेती हुन्छ । गत वर्ष समयमा पानी नपरेपछि झन्डै १० प्रतिशत खेत बाँझै रहेको थियो । केन्द्रका अनुसार गत वर्ष जिल्लामा २१ हजार ५ सय ७८ मेट्रिक टन धान कम उत्पादन भएको थियो । १ लाख १६ हजार ७ सय ८ मेट्रिक टन धान उत्पादन हुने जिल्लामा ९५ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको थियो । मनसुन ढिलो हुँदा वा पानी नपर्दा किसानले धानको ब्याड राख्न र रोपाइँ गर्न आकाशतिर हेर्नुपर्ने बाध्यता छ ।
सुदूरपश्चिमकै अन्न भण्डार कैलालीका किसानलाई यसपालिको १५ असार हर्ष न विस्मात् बनेको छ । मध्य असारसम्म पानी नपर्दा खेत बाँझै छन् । रोपेको धान सुक्न थालेको छ । किसानलाई दिवसको रौनकभन्दा पनि बेर्ना जोगाउने चिन्ता छ । गोदावरी नगरपालिका–१२ ओलानीका दीपक विक खेत देखेर चिन्तित छन् । उनका अनुसार विगत वर्षमा असार मध्यसम्म आइपुग्दा रोपाइँको चटारो हुन्थ्यो । ‘विगतमा असार दोस्रो सातामा धान रोप्न व्यस्त हुन्थ्यौं,’ उनले भने, ‘खाना खाने फुर्सदसम्म मिल्दैनथ्यो । यसपालि आकाश हेर्दै दिन बिताउनुपरेको छ ।’
नेपालमा ५ असारमा मनसुन भित्रिए पनि पूर्ण रूपमा सक्रिय भइसकेको छैन । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार १२ असारसम्म देशभर १२.०७ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । गत वर्षको १३ असारसम्म करिब १५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो ।
बर्खे सिजनमा मुलुकभर करिब १३ लाख ८२ हजार हेक्टरमा रोपाइँ हुन्छ तर १२ असारसम्म १ लाख ६७ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । प्रदेशगत रूपमा हेर्दा कोशीमा धान रोपाइँ हुने क्षेत्रफलको करिब १० प्रतिशत क्षेत्रमा मात्र धान रोपिएको छ । त्यस्तै मधेशमा ५.०१, बागमतीमा १२.५९, गण्डकीमा २३.६८, लुम्बिनीमा २०.८, कर्णालीमा २२.८१ र सुदूरपश्चिम प्रदेशमा ९.२६ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।
