मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोरको निरीक्षण क्रममा पाँचथर पुगेका मन्त्री लम्सालले सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरी रहेको बताए ।
What you should know
पाँचथर — पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पाँचथर पुगेर अर्को धम्की दिएका छन् । सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि हालतमा नछोड्न निर्देशन दिँदै उनले भने, 'समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनूस् ।'
यसअघि नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिएका थिए, जसको आलोचना भइरहेको छ ।
रुग्ण अवस्थामा रहेको मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै शनिबार मन्त्री लम्साल पाँचथर आइपुगेका थिए । उनले आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा निर्देशन दिँदै अधिकांश योजना सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरी रहेको बताए । 'त्यसैले सुरक्षा संयन्त्र जिम्मेवार हुनु जरुरी छ, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुस्, देशमा सरकार छ भन्ने महसुस गराउनैपर्छ,’ मन्त्री लम्सालले भने ।
मेची र मध्यपहाडीसँगै तमोर करिडोरका आयोजना प्रमुखहरूलाई उनले सम्झौता मिति समाप्त भएका र पटकपटक म्याद थपिएर पनि काम नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया तत्काल अगाडि बढाउन पनि निर्देशन दिए ।
मध्यपहाडी राजमार्गअन्तर्गत थर्पु–चिवा भञ्ज्याङ सडक, मेची राजमार्गको पुवाखोला र तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक-३ हाङठुवादेखि हेवा खोला क्षेत्रका आयोजना रुग्ण भएकाले तत्काल काम सम्पन्न हुने गरी ठोस कदम चाल्न पनि उनले निर्देशन दिएका छन् ।
आयोजना प्रमुखहरूले रुग्ण आयोजनाको ठेक्का तोड्दा व्यवसायीबाट कर्मचारीलाई खतरा हुने भएकाले सुरक्षाको प्रत्याभूति हुने वातावरण तयार गरिदिन अनुरोध गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले नागरिकको सुरक्षाका लागि प्रशासन र सुरक्षा निकाय संवेदनशील रहेको बताए । मन्त्री लम्सालले शनिबार नै मेची राजमार्गको इलाम खण्ड र तमोर करिडोरको फिदिम खण्डमा स्थलगत निरीक्षण गरेका छन् ।
समस्या नहेरी फर्किएको गुनासो
मन्त्री लम्सालको टोलीले मध्यपहाडी राजमार्गअन्तर्गत थर्पु–चिवा भञ्ज्याङ क्षेत्रको स्थलगत अध्ययन गर्ने भने पनि उनी फिदिमबाटै फर्किएपछि याङवरकका बासिन्दा जिल्ल परेका छन् ।
‘मन्त्री आउलान् र पहिरोले भत्काएका पुलपुलेसा र सडकको अवस्थाबारे प्रत्यक्ष जानकारीसहित माग पत्र पेस गरौं भन्ने योजना थियो, सदरमुकामबाटै फर्किएको खबर सुन्दा दु:ख लाग्यो,’ याङवरकका बासिन्दा जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङले भने ।
बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्री आउने खबर पाएपछि थर्पु, ओयाम र दोभाने क्षेत्रमा जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि प्रतीक्षा गरिरहेका थिए ।
