कसैले कानुनविपरीत काम गरेको छ भने उसलाई कालोसूचीमा राख्ने, कानुनी कारबाही गर्ने वा आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउने व्यवस्था छ : सांसद थापा
What you should know
काठमाडौँ — कांग्रेस सांसद बासना थापाले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनी शासनविपरीत भएको बताएकी छिन् ।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रिया अवलम्बन गरि कारबाही गर्न सकिने बताएकी हुन् । 'मैले आज पूर्वाधार विकास समिति अन्तर्गतका माननीय मन्त्रीज्युसँग केही महत्वपूर्ण विषयमा कुरा राख्न चाहेको थिएँ । विशेषगरी हिजोदेखि भाइरल भइरहेको 'ठेकेदारहरूको खुट्टा भाँच्दिनू' भन्ने अभिव्यक्तिका सम्बन्धमा आफ्नो धारणा राख्न चाहेकी थिएँ । तर मन्त्रीज्यु स्वयं उपस्थित हुनुभएन । हाम्रो समितिको बैठक तथा छलफल मन्त्रीबिना सञ्चालन भएको यो पहिलो पटक हो,' उनले भनिन् ।
काम नगर्ने निर्माण व्यवसायीमामाथि कारबाही आवश्यक भए कानुनी दायराभित्र ल्याउनुपर्ने, कालोसूचीमा राख्ने वा अन्य कानुनी उपाय अपनाउनुपर्ने उनको भनाइ थियो ।
भौतिक कारबाहीको भाषा स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । 'आज हामी जनावरमाथि समेत भौतिक हिंसा गर्नु हुँदैन, कुटपिट गर्नु हुँदैन भन्ने मान्यता राख्छौँ भने ठेकेदार पनि आखिर एक नागरिक नै हुन् । यदि कसैले कानुनविपरीत काम गरेको छ भने उसलाई कालोसूचीमा राख्ने, कानुनी कारबाही गर्ने वा आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउने व्यवस्था छ । काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने ठाउँमा लोकतान्त्रिक शासन व्यवस्था र कानुनी राज्यको मूल्यमान्यतालाई नै कुल्चिने खालका अभिव्यक्ति आउनु दुःखद् विषय हो,' उनले भनिन् ।
