पूर्वाधारमन्त्री लम्साल भन्छन् : काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू

नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन गर्दै मन्त्री लम्सालले भने : यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।

असार १, २०८३

पोषनाथ अधिकारी

धादिङ — पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ ।

काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएपछि उनको अभिव्यक्ति विवादित बनेको हो । आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् । 

अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखलगायतका सरोकारवाला अधिकारीहरूलाई सँगै राखेर उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । निर्देशन दिँदै मन्त्री लम्सालले भने, 'यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।'

स्थानीय जनताले पनि काम छिटो होस् भन्ने चाहेको उल्लेख गर्दै मन्त्री लम्सालले बिजुलीको पोल सार्ने र सडक निर्माणका लागि आवश्यक पर्ने सामग्री को सहज उपलब्धताका लागि कति सहजीकरण गर्नुपर्ने हो, त्यो तत्काल यकिन गरी निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

पोषनाथ

Link copied successfully