‘पिस डग’ अलोकालाई एयर इन्डियाले दिएन उडान अनुमति, भिक्षु पन्नाकर पनि काठमाडौंमै रोकिए

अमेरिकाबाट क्यानडा, श्रीलंका, भारतसम्म पनि अलोकाले भिक्षुसँगै जहाजमै यात्रा गरेको थियो । यो टोली सोमबार भैरहवाबाट बुद्ध एयरको विमान चढेर काठमाडौं आएको थियो ।

असार २, २०८३

सुरज कुँवर

Air India denies flight permission to 'Peace Dog' Aloka, monk Pannakar also stranded in Kathmandu

What you should know

काठमाडौँ — विश्वशान्तिको सन्देश बोकेर विभिन्न देशमा पदयात्रा गर्दै आएका चर्चित बौद्ध भिक्षु भन्ते पन्नाकर र उनको सहयात्री ‘पिस डग’ अलोकालाई उडान सम्बन्धी कागजात नमिलेको भन्दैै एयर इन्डियाको उडानमा रोकेको छ । 

आइतबार भारतको सुनौली नाकाबाट लुम्बिनी हुँदै काठमाडौं आइपुगेको भिक्षु पन्नाकरासहित १८ जनाको टोली र अलोका नामक कुकुर एयर इन्डियाको विमानबाट आज बिहान साढे ६ बजे दिल्ली जाँदै थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर इन्डियाको स्टेसनले कुकुरलाई यात्रुसँगै लैजान नपाइने भन्दै रोकेपछि १७ जना दिल्ली उडेका छन् भने भिक्षु पन्नाकर र कुकुर काठमाडौंमै रोकिएको यो यात्राको नेपालमा संयोजन गरिरहेका पत्रकार नरेन्द्र मानन्धरले बताए । 

उनका अनुसार, यो टोली भोलि दिल्लीबाट अमेरिका प्रस्थान गर्ने तालिका छ । मानन्धरका अनुसार अमेरिकाबाट क्यानडा, श्रीलंका, भारतसम्म पनि अलोकाले भिक्षुसँगै जहाजमै यात्रा गरेको थियो । यो टोली सोमबार भैरहवाबाट बुद्ध एयरको विमान चढेर काठमाडौं आएको थियो ।

तर एयर इन्डियाले अलोकालाई उडानसम्बन्धी आवश्यक कागजात नमिलेको भन्दै बोर्डिङ रोकिदिएको हो ।  एयर इन्डियाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) प्रबन्धक अनिल कुमारका अनुसार अलोकालाई ‘सर्भिस डग’ का रूपमा जहाजको क्याबिनमा लैजान खोजिएको थियो । तर त्यसका लागि यात्रुसँगै पशु चिकित्सकद्वारा प्रमाणित पत्र आवश्यक पर्ने नियम रहेकाले कुकुरलाई बोर्डिङ पास नदिइएको उनले बताए । 

‘उहाँहरूले कुकुरलाई सर्भिस डग भन्नुभएको छ । तर सर्भिस डगलाई क्याबिनमा लैजान स्वास्थ्यसम्बन्धी चिकित्सकीय प्रमाण चाहिन्छ,’ उनले भने, ‘हामीले हिजोदेखि नै त्यस्तो प्रमाणपत्र ल्याउन आग्रह गरेका थियौं । एयर इन्डियाको वेबसाइटमै यो व्यवस्था स्पष्ट रूपमा उल्लेख छ । तर हामीले मागेको कागजात नपाएपछि रोक्नुपरेको हो ।’

उनका अनुसार अलोका करिब २० किलोग्राम तौलको छ । यस्तो अवस्थामा क्याबिनभित्र लैजान कठिन हुने उनले बताए । यात्रुसँग स्वास्थ्यसम्बन्धी आवश्यकता प्रमाणित भएमा सहजीकरण गर्न सकिन्थ्यो । अन्यथा यस्तो ठूलो कुकुरलाई क्याबिनमा लैजँदा छेउका यात्रुलाई असहज हुन सक्छ,’ उनले भने ।

एयर इन्डियाले अलोकालाई कार्गो होल्डमार्फत लैजान सकिने विकल्प दिएको जनाएको तर भिक्षुले त्यसमा सहमति नदिएको एयरलाइन्सको भनाइ छ । ‘हामीले कुकुरलाई कार्गोमार्फत पठाउन सकिने प्रस्ताव राखेका थियौं । तर उहाहरू त्यसमा सहमत हुनुभएन,’ अनिल कुमारले भने । 

अब के हुने भन्नेबारे भने एयर इन्डियाले कुनै अन्तिम निर्णय भइनसकेको जनाएको छ । आवश्यक चिकित्सकीय प्रमाणपत्र उपलब्ध भएमा अर्को उडानमार्फत सहजीकरण गर्न सकिने सम्भावना रहेको कम्पनीको भनाइ छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले पिस डग अलोकालाई १० बजे हुने एयर इन्डियाको उडानमा पठाउन प्राधिकरणबाट निर्देशन भइसकेको बताएका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully