भिक्षुहरूसँगै अमेरिकामा ३७ सय किमि पदयात्रा गरेर चर्चा कमाएको अलोका कुकुर लुम्बिनीमा

भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा पदयात्रामा निस्किएको टोलीमा सहभागी कुकुरको विश्वभर चर्चा ।

जेष्ठ ३१, २०८३

मनोज पौडेल

Aloka the dog, who gained fame by trekking 3,700 km in the US with monks, is in Lumbini.

What you should know

लुम्बिनी — शान्तिका लागि भिक्षुका पाइला पछ्याउँदै अमेरिकामा १ सय ८ दिनमा ३ हजार ७ सय किलोमिटर हिँडेर साथ दिएको कुकुर अहिले लुम्बिनी आइपुगेको छ । पदयात्राका नेतृत्वकर्ता भिक्षु पन्याकरको साथ लागेर आइतबार उक्त कुकुर नेपाल आइपुगेको हो । 

भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा पदयात्रामा निस्किएको टोलीमा सहभागी कुकुरले विश्वभर चर्चा पाएको थियो । वाक् फर पिस नाम दिइएको शान्ति पदयात्राका क्रममा १ सय ८ दिनसम्म हिँडेर ३ हजार ७ सय किमि पैदल यात्रा गरिएको थियो । उक्त पद यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो । उक्त टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म पिस वाक गरेको थियो । मायादेवी मन्दिरमा पूजाआजा गरी एक कार्यक्रमको आयोजना गरी उनीहरूको भव्य स्वागत गरिएको थियो । 

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा भिक्षु पन्याकरले एउटा सानो यात्राले विश्वभर चर्चा र सम्मान पाउँदा शान्तिका लागि गरेको सानो प्रयासबाट ठूलो सफलता पाएको बताए । पदयात्राले बुद्धका शिक्षालाई सम्मान गर्ने मात्र नभई विश्वभर शान्तिको सन्देश फैलाउन मद्दत पुगेको पनि उनले बताए । ‘हाम्रो मुख्य उद्देश्य सरल छ,’ उनले भने, ‘शान्ति राज्यबाट सुरु हुँदैन, व्यक्तिबाट सुरु हुन्छ । त्यसैले एक पाइला, एक सास, एक मन लागेर सबै शान्तिका लागि लाग्नु पर्छ ।’ Aloka the dog, who gained fame by trekking 3,700 km in the US with monks, is in Lumbini.

कार्यक्रममा लुम्बिनी विकास कोषका निमित्त सदस्य–सचिव ज्ञानीन राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताए । ‘यसले लुम्बिनीको महिमा र आध्यात्मिकता अझ बढेको छ,’ उनले भने, ‘यसले शान्ति पर्यटनमा पनि टेवा दिनेछ ।’ भारतबाट आएका भिक्षु पन्याकारको टोलीलाई लुम्बिनी विकास कोषले अखण्ड शान्ति द्वीपमा स्वागत गरेको थियो । 

एक सातादेखि भारत भ्रमणमा रहेको भिक्षु पन्याकरको टोली आइतबार सुनौली हुँदै लुम्बिनी आएको हो । उनीसँगै पैदल यात्रामा सहभागी तीन जना भिक्षुका साथ १४ जना उपासक उपासिका गरी १८ जनाको टोली नेपाल आएको हो । पन्याकरको यो पहिलो नेपाल भ्रमण भने होइन । २०७२ सालमा नेपालमा आएको भूकम्पका कारण प्रभावित परिवारलाई खाद्यान्न र घर निर्माण गरेर सहयोग र राहत प्रदान गर्न उनी नेपाल आएका थिए । त्यस्तै उनीसँगै पदयात्रामा सहभागी भई यहाँ आएका अचान पिए धम्मो पनि दुईपटक नेपाल आएर लाङटाङमा वर्षाबास बसेका थिए । त्यस्तै उनीसँगै आएका अचान सुपालक पनि २०२४ मा लुम्बिनीमा वर्षाबास बसेका थिए ।

सोमबार बिहान हवाई उडानबाट उनीहरू काठमाडौं जाने छन् । दिनभरि बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ । मंगलबार उनीहरू काठमाडौंबाट दिल्लीका उडान भर्ने कार्यतालिका रहेको छ । 

विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्ति शान्तिकै उद्गमस्थल लुम्बिनी नआउने खबर पाएपछि अत्यन्तै दुःख लागेर उनीहरूसँग सम्पर्क गरी नेपाल भ्रमणका लागि प्रयास गरेको भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । भारत भ्रमणमा रहेका भिक्षुको टोलीसँग नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति/प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको भिक्षु मैत्री महास्थवीरले बताए । 

धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको भिक्षु मैत्री महास्थवीरले सुनाए । ‘शान्ति पदयात्रालाई समर्थन गर्ने र हेर्नेहरूको भीड त्यहाँ उत्तिकै बढेको थियो,’ उनले भने । 

‘पदयात्राका भिक्षुहरूको अनुहारमा करुणा, मैत्री र सद्भाव अनुभूति गर्न लायकै देखिन्थ्यो,’ लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले भने, ‘जब मैले उनीहरूको आँखामा हेरेँ, त्यहाँ शान्ति देखेँ ।’

भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेको थियो । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका थिए । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो । 

यस्तो शान्ति यात्राले गजबको प्रेरणा दिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । ‘यस्ता पदयात्राले मानिसहरूलाई शब्दबाट भन्दा पनि भिक्षुको त्याग र समर्पणबाट बढी प्रेरित हुन्छन् । त्यसैले यो पिस वाकको उद्देश्य मानवको दैनिक जीवनमा शान्ति खोज्न प्रेरित गर्नु थियो । जुन सफल भयो,’ उनले भने ।Aloka the dog, who gained fame by trekking 3,700 km in the US with monks, is in Lumbini.

अमेरिकाको टेक्सासको फोर्ट वर्थस्थित भियतनामी हुओङ दाओ विपश्यना केन्द्रबाट अक्टुबर २६ मा सुरु भएको उनीहरूको पदयात्रा ३७ सय किलोमिटरभन्दा लामो दूरी पार गरेर फ्रेबुअरी १० मा वासिङ्टन डीसीसम्म पुगेको थियो । टेक्सासबाट सुरु भएको भिक्षुहरूको पैदल यात्रा लुजियाना, मिसिसिपी, अलाबामा, जर्जिया, दक्षिण क्यारोलिना, उत्तरी क्यारोलिना, भर्जिनिया, मेरिल्यान्ड हुँदै वासिङ्टन डीसी पुगेर टुंगिएको थियो । टोलीमा १९ जना भिक्षु थिए । बाटोमा भिक्षुहरूको संख्या थपघट भइरहन्थ्यो । 

यात्रा भने सहज थिएन । भिक्षु पन्याकाराको नेतृत्वमा रहेको टोली नांगो खुट्टा हिँडेको थियो । हिँड्दा बाटोका ढुंगा, किला, सिसा र तातो कालोपत्र सडकले उनीहरूका खुट्टामा चोट लागेको थियो । तर, पीडाभन्दा माथि शान्तिप्रतिको चेतनाले आफूहरूको दुःख र पीडा सबै हराएको यात्राका सहभागी अचान पिए धम्मोले बताए । एटलान्टा न्युज फर्स्टका अनुसार गत नोभेम्बर ११ मा हाइवे नजिकबाट उनीहरू हिँडिरहेका बेला भिक्षुहरूलाई स्कर्टिङ गरिरहेको गाडीलाई ट्रकले ठक्कर दियो । दुई जना घाइते भए । जसमध्ये एक भिक्षु महाधाम फोम्मासानको देब्रे खुट्टा काट्नु पर्यो । तर पनि यात्रा भने रोकिएन । उनलाई उपचारका लागि लगियो तर अन्य भिक्षुहरूले भने यात्रालाई निरन्तरता दिए र अभियान टुंगयाए ।

चर्चामा अलोका

भिक्षुहरूको शान्ति यात्रामा सहभागी अलोका कुकुरको पनि चर्चा अहिले विश्वभरि उत्तिकै छ । करुणाको प्रतीकका रूपमा अलोकाले सबैको मन जितेको छ । अलोकालाई छुन र ऊसँग तस्बिर खिच्न मान्छेहरू घन्टौं पर्खिने गरेका छन् । हरेक नयँ मान्छेसँगै सहजै घुलमिल हुने र छुन एवं तस्बिर खिच्न खोज्ने मान्छेलाई परिचितलाई झैं व्यवहार गर्ने अलोकाको स्वभावको सर्वत्र प्रशंसा हुने गरेको छ । 

कुकुरलाई भेट्ने र छुनेहरू क्षणभरमै प्रभावित हुन्छन् । कुकुरको यही स्वभावले सामाजिक सञ्जालमा हरेक दिन उसलाई पछ्याउने फ्यानको संख्या पनि बढिरहेको छ । अलोका पनि गजबको छ । अनवरत रूपमा भिक्षुलाई पछ्याइरहेको छ । 

अमेरिकामा ३७ सय किमि हिँड्दा पनि अलोका थाकेन । घाम, पानी, हिमपात र हावाहुरी छिचोल्दै ऊ पनि भिक्षुहरूसँगै हिँडेको थियो । भिक्षुहरू रोकिँदा रोकिन्थ्यो । आराम गर्दा सुस्ताउँथ्यो । मान्छेको भाव बुझेर व्यवहार गर्थ्यो । माया दर्शाउँथ्यो । अपनत्व देखाउँथ्यो । त्यही भएर भिक्षुको स्वागतका लागि खानेकुरा र पुष्पगुच्छा लिएर आउनेहरू अलोकाका लागि खानेकुरा र लुगा ल्याउन बिर्सिदैन्थे । अलोकाको निधारमा प्राकृतिक मुटुको चिह्न छ । जसले कुकुर निक्कै अद्भुत देखिन्छ । साउथ क्यारोलिनामा यात्राका क्रममा चोट लागेपछि अलोकाको खुट्टाको शल्यक्रिया गरिएको थियो ।

सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । त्यसबेला झन्डै १ सय दिन उक्त कुकुरले भिक्षुहरूसँग बिताएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कलकत्ताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully