विश्व चर्चित ‘अलोका’ जब भैरहवाबाट बुद्ध एयरको जहाजमा उड्यो...

‘इन्डियन परिया’ प्रजातिको यो कुकुरलाई अहिले संसारले ‘अलोका’ नामले चिन्छ ।

असार १, २०८३

मनोज पौडेल

When the world-famous 'Aloka' flew from Bhairahawa on a Buddha Air plane...

What you should know

लुम्बिनी — शान्तिका लागि भिक्षुका पाइला पछ्याउँदै अमेरिकामा १ सय ८ दिनसम्म हिँडेको अलोका कुकुर बुद्ध जन्मस्थल लुम्बिनी आएर काठमाडौं पुगेको छ । 

आज त्यही कुकुर विश्वभर ‘शान्तिको दूत’ (पिस डग) का रूपमा परिचित छ । ‘इन्डियन परिया’ प्रजातिको यो कुकुरलाई अहिले संसारले ‘अलोका’ नामले चिन्छ । अमेरिकामा हिँड्दै ३ हजार ७ सय किमि शान्ति पदयात्रा गरेर उक्त कुकुर आइतबार साँझ साढे ६ बजे लुम्बिनी पुगेको हो । 

भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा अमेरिकामा भएको वाक फर पिस (शान्ति पदयात्रा)को प्रमुख आकर्षणका रूपमा रहेको अलोका लुम्बिनी पुग्दा हेर्न र तस्बिर खिचाउन भिक्षु भिक्षुणी, उपासक उपासिकाको भीड लागेको थियो । अनुशासित र शान्तिप्रिय अलोकाले करुणाको प्रतीकका रूपमा सबैको मन जितेको थियो । अलोका सोमबार बिहान साढे ९ बजे बुद्ध एयरको फ्लाइट नं ८५२ बाट १८सी सिटमा बसेर भिक्षु पन्यकारसँगै काठमाडौं पुगेको थियो । 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अलोका सिधै बौद्धनाथ पुगेको र त्यसपछि चारुमती, आनन्दकुटी र स्वयम्भूनाथ भ्रमण गरेको थियो । सोमबार साँझ संस्कृति तथा पर्यटन मन्त्री खड्गराज पौडेलसँग भेटघाट भएको थियो । एयरपोर्टमा भव्य स्वागत गरिएको थियो । अलोका मंगलबार विहान ८ बजे नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ । बुधबार भिक्षु पन्याकारसहित अलोका अमेरिका उड्ने नेपाल यात्राका समन्वयकर्ता भिक्षु मैत्री महास्थवीरले बताए । When the world-famous 'Aloka' flew from Bhairahawa on a Buddha Air plane...

अलोकाको लुम्बिनी दोस्रो भ्रमण हो । यसअघि भिक्षु पन्याकार सन् २०२२ मा भारतमा पदयात्रा गर्दा अलोकाले पछ्याएको थियो । त्यसबेला झन्डै १ सय दिनसम्म भिक्षुहरूसँग हिँड्दा लुम्बिनीसमेत आएको थियो । त्यतिखेर पन्याकारले ३ हजार ४ सय किमि शान्ति पदयात्रा गरेका थिए । २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कलकत्ताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो । 

पछिल्लो पटक अमेरिकाको टेक्सासको फोर्ट वर्थस्थित भियतनामी हुओङ दाओ विपस्यना केन्द्रबाट अक्टुबर २६ मा सुरु भएको यात्रा ३७ सय किलोमिटरभन्दा लामो दूरी पार गरेर फ्रेबुअरी १० मा वासिङ्टन डीसी पुगेको थियो । टेक्सासबाट सुरु भएको भिक्षुहरूको पैदल यात्रा लुजियाना, मिसिसिपी, अलाबामा, जर्जिया, दक्षिण क्यारोलिना, उत्तरी क्यारोलिना, भर्जिनिया, मेरिल्यान्ड हुँदै वासिङ्टन डीसीमा पुगेर टुंगिएको थियो । टोलीमा १९ जना भिक्षु थिए । साउथ क्यारोलिनामा यात्राका क्रममा चोट लागेर अलोकाको खुट्टाको शल्यक्रिया गरे पनि उसले भिक्षुहरूको साथ छाडेको छैन । यात्रामा सहभागी अलोका कुकुरको चर्चा अहिले विश्वभरि छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully