आइतबार मात्रै सुनौली नाकाबाट भियतनामी मूलका अमेरिकी भिक्षु भन्ते पन्याकरसहित ३ भिक्षुको टोलीमा अलोका लुम्बिनीको ‘शान्ति यात्रा’ मा सहभागी भएको थियो । र, सोमबार बिहान भैरहवाबाट बुद्ध एयरको एटीआर विमान चढेर ऊ काठमाडौं ओर्लियो ।
What you should know
काठमाडौं — भारतको कोलकाताको ब्यस्त सडक । गाडीहरूको कर्कस हर्न, गति र कोलाहल । त्यही कोलाहलबीच गुडिरहेका चक्काहरूबाट आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेको एउटा सामान्य, बेवारिसे भुस्याहा कुकुर ।
सन् २०२२ मा जब त्यो कुकुरले पूर्वी भारतको एउटा सडकमा भियतनामी मूलका अमेरिकी बौद्ध भिक्षुहरूको टोलीलाई पछ्यायो, त्यसताका कसैले सोचेको थिएन, कि यो एउटा यस्तो यात्राको सुरुवात थियो, जसले संसारलाई करुणाको नयाँ परिभाषा सिकाउनेछ भनेर ।
आज त्यही कुकुर विश्वभर ‘शान्तिको दूत’ (पिस डग) का रूपमा परिचित छ । ‘इन्डियन परिया’ प्रजातिको यो कुकुरलाई अहिले संसारले ‘अलोका’ नामले चिन्छ ।
केही समयअघि मात्रै भिक्षुहरूले अलोकालाई अमेरिकाको टेक्ससदेखि वासिङ्टन डिसीसम्म १० वटा राज्य पार गराउँदै झण्डै ३७ सय किलोमिटर लामो पैदल शान्ति यात्रामा सहभागी गराएका थिए । त्यही अन्तर्राष्ट्रिय ‘सेलिब्रेटी' अलोका यतिबेला बुद्धको देश नेपालको यात्रामा छ ।
आइतबार मात्रै सुनौली नाकाबाट भियतनामी मूलका अमेरिकी भिक्षु भन्ते पन्याकरसहित ३ भिक्षुको टोलीमा अलोका लुम्बिनीको ‘शान्ति यात्रा’ मा सहभागी भएको थियो । र, सोमबार बिहान भैरहवाबाट बुद्ध एयरको एटीआर विमान चढेर ऊ काठमाडौं ओर्लियो ।
बौद्धनाथको दर्शन सकेर अलोकाको दिउँसोको गन्तव्य थियो, स्वयम्भूनाथस्थित आनन्दकुटी विहार । नेपालकै पहिलो थेरवाद बौद्ध विहार मानिने आनन्दकुटीमा अलोका र भिक्षुहरूको टोली आइपुग्दा वातावरण उत्सवमय देखिन्थ्यो ।
रैथाने बाजागाजाको गुञ्जन थियो । सर्वसाधारणको बाक्लो भीड थियो र पुष्पगुच्छा बोकेका भिक्षु–भिक्षुणीहरू थिए ।
द्वन्द्व र विभाजनले पिरोलिएको यो विश्वमा बुद्धको प्रेम, करुणा र अहिंसाको शिक्षालाई पुनः स्मरण गराएकोमा विहारका भिक्षुहरूले अलोका र उनको टोलीलाई करुणा, मैत्री र आशाको सन्देशवाहकका रूपमा स्वागत गरे ।
त्यहाँ एउटा सुन्दर दृश्य देखियो । सम्बोधन गर्नुअघि गुरु भन्ते पन्याकरले सर्वसाधारणले पिउने पानीको बोतलबाट पानी खन्याएर अलोकालाई पिलाए । जब गुरु मञ्चमा उभिएर सम्बोधन गर्न थाले, हजारौं माइल हिडेको थकित अलोका स्टेजमै निश्चिन्त भएर निदायो ।
गुरु पन्याकरले आफ्नो सम्बोधनमा केहीबेरअघि मात्रै उनले देखेको मानिसहरूको त्यही तछाडमछाडलाई स्मरण गरे । उनले गहिरो दर्शन सुनाए, ‘शान्तिको खोजी बाहिर कतै होइन, मानिसको आफ्नै मनभित्रबाट सुरु हुन्छ ।’
आनन्दकुटीभित्र पस्दा अलोकालाई भेट्न, स्पर्श गर्न वा तस्बिर खिच्न मानिसहरू जसरी उत्साहित भई तछाडमछाड गरिरहेका थिए । त्यसलाई सङ्केत गर्दै उनले थपे, ‘शान्ति यात्राको वास्तविक उद्देश्य व्यक्तिगत लाभ वा आशीर्वाद पाउनु होइन, बरु आफूभित्र प्रेम र करुणाको चेतना फैलाउनु हो । यदि हामी आफै हतार, प्रतिस्पर्धा र लोभमा फस्यौं भने कहिल्यै शान्ति महसुस गर्न सक्दैनौं ।’
आजको समाजमा मानिसहरू निरन्तर हतारको जीवन बाचिरहेका छन् । यसमा भिक्षुले चिन्ता व्यक्त गरे । विद्यालय जान, काम गर्न, खाना खान र आराम गर्नसमेत हतार गर्ने प्रवृत्तिले मानिसलाई आन्तरिक शान्तिबाट टाढा पुर्याएको भिक्षु भन्तेको बुझाइ थियो । जीवनको दौडधुपबाट केही समय अलग भएर आफ्ना विचार, बोली र व्यवहारप्रति सजग हुन सके मात्र शान्तिको अनुभव गर्न सकिने उनले बताए ।
आनन्दकुटीको सम्बोधन सकिएपछि पछाडिको जङ्गलको बाटो हुँदै स्वयम्भू परिसर पुग्ने पदयात्रा सुरु भयो । हरियो जङ्गल र शान्त वातावरण देखेपछि भिक्षुले अलोकाको गलामा बाँधिएको कालो डोरी खोलिदिए ।
डोरी खुल्नेबित्तिकै अलोका स्वतन्त्र भयो । उ कहिले कुद्दै अघि पुग्थ्यो, कहिले बाटोमाथिको ढिस्कोमा उक्लिन्थ्यो । उ स्वतन्त्रताको गहिरो सास फेरिरहेको थियो । त्यत्तिकैमा भिडबाट कसैले नेपाली भाषामा भन्यो, ‘यता बाँदर छन् । आक्रमण गर्लान् ?’
भिक्षुले नेपाली भाषा बुझेनन् । उनी आफ्ना साथीहरूसँग हिँडिरहे । तर, जब अलि माथि पुगेपछि अर्का एकजनाले अंग्रेजीमा भने, ‘यहाँ बाँदर र सडकका कुकुरहरू छन् । अलोकालाई आक्रमण गर्लान् नि ?’ अब भने भिक्षु सजग भए र फेरि डोरी निकालेर अलोकाको गलामा बाँधिदिए ।
त्यो जङ्गलको बाटोमा उक्लदै गर्दा रुखका हाँगा र भित्ताहरूबाट बाँदरहरूले नौलो पाहुना अलोकालाई अचम्म मान्दै हेरिरहेका थिए । तर, स्वयम्भूका रैथाने सडक कुकुरहरूले भने अलोकाको आगमनलाई सहज रूपमा लिन सकेनन् । उनीहरू आफ्नो क्षेत्र रक्षाका लागि आक्रोशित भए र अलोकामाथि जाइलाग्न खोजे ।
त्यो चर्को भुकाइ र आक्रोश देखेपछि क्षणभरका लागि अलोकाभित्रको ‘कुकुर स्वभाव’ पनि जाग्यो । उसलाई पनि रिस उठ्यो । उस्का शरीरका रौं ठाडा भए । र, उ पनि आवेशमा आयो । तर, उसले भुक्दा नभुक्दै भिक्षुले उसलाई अझ जोडले सम्हाले । शान्ति यात्रामा निस्किएको यो विशेष कुकुरलाई रैथाने कुकुरहरूको हमलाबाट जोगाउन वरपरका मानिसहरूले पनि घेरा हाले ।
कुनै दिन सडकका ती कुकुरहरू जस्तै अलोका पनि थियो वा अलोका जस्तै उनीहरू पनि थिए । तर, आज परिस्थिति फरक थियो । स्वयम्भूमा देखिएका आन्तरिक पर्यटक तथा सर्वसाधारणले रैथाने कुकुरहरूलाई धपाउँदै अलोकाको स्वयम्भूसम्मको बाटो सजिलो बनाइदिए । उसलाई सुरक्षा र सम्मान दिए । यो संघर्ष स्वयम्भूको थुम्कोमा पुग्दा र त्यहाँबाट ओर्लेर बुद्ध मन्दिर परिसरको पार्किङसम्म आइपुग्दा पनि जारी नै रह्यो । अलोकाले पाइलैपिच्छे आफ्नै प्रजातिको आक्रोश र चर्को भुकाइको सामना गरिरहनु पर्यो ।
स्वयम्भू परिक्रमा गर्दाको दृश्य निकै विरोधाभासपूर्ण देखियो । एकातिर सडकका कुकुरहरूको अस्तित्व रक्षाको चर्को भुकाइ थियो । अर्कोतिर अलोकालाई छुन र उसकै साथमा ‘सेल्फी’ खिच्न मानिसहरूको तछाडमछाड । कोही उसको निधार छुन खोज्थे । कोही उसको कपाल सुम्सुम्याउँथे । स्वयम्भूको डाँडामा अलोका एक ‘सेलिब्रेटी‘ थियो । तर, त्यही स्वयम्भूको ओरालो र सिँढीहरूमा कयौं रैथाने कुकुरहरू भोकै, घाइते र रोगले थलिएर बसिरहेका देखिन्थे । उनीहरूलाई छुनु त परको कुरा, मानिसहरू हेर्न र नजिक पर्न पनि चाहँदैनथे ।
त्यही भिडमा उभिएका एक दर्शनार्थीले छेउको साथीसँग भन्दै थिए, ‘यहाँका बेवारिसे कुकुर र यो भिक्षुको कुकुरमा के नै फरक छ र ? फरक त केवल मान्छेले गर्ने व्यवहारमा मात्रै त रहेछ ।’
मानिसहरूले करुणा र धर्मका यस्ता कुरा गरिरहदा, अलोका भने पार्किङमा राखिएको हायस गाडीभित्र पसिसकेको थियो । ऊ भिक्षुहरूसँगै नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासतर्फ प्रस्थान गर्यो । साँझ उसले क्षेत्रपाटीको धर्मकीर्ति विहारमा पर्यटन मन्त्रीलाई पनि भेट्नु पर्ने तालिका थियो ।
काठमाडौंको एकदिने बसाइ र यो हतारोको यात्रापछि मंगलबार नै उ भारत हुँदै आफ्नो घर अमेरिका फर्किँदै छ । तर, स्वयम्भूको डाडामा आफ्नै रैथाने कुकुरहरुले भुकेको त्यो चर्को आवाज र मानिसहरूको यो अनौठो व्यवहार अलोकाको मानसपटलमा सायद लामो समयसम्म रहिरहला ।
