भिक्षु, कुकुर र शान्ति पदयात्रा

भिक्षुहरूको हातमा कुनै पार्टी वा देशको झन्डा छैन न त कुनै नारा वा भाषण । साथमा छ ‘आलोका’ नामको एउटा कुकुर । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ ।

माघ १, २०८२

दया दुदराज

Monks, dogs and the peace walk

What you should know

काठमाडौँ — काठमाडौंबाट हजारौं किलोमिटर टाढा । राजमार्ग, साना सहर र गाउँहरूमा पछिल्लो दिन अलि भिन्न दृश्य देखिएका छन् । काषाय वस्त्रमा सजिएका भिक्षुहरू । हातमा लामो लट्ठी, दायाँ–बायाँ काँधमा भिरेका झोलीझम्टा ।

उनीहरूसँगै छ सेतो खैरो टाटेपाटे रङको ‘आलोका’ नामको एउटा कुकुर । भिक्षुहरूको हातमा कुनै पार्टी वा देशको झन्डा छैन न त कुनै नारा वा भाषण । तर यो यात्राले अहिले विश्वको ध्यान खिचेको छ ।

यो कुनै सामान्य पदयात्रा होइन, यो त अशान्त बन्दै गएको विश्व र विभाजित समाजमा ‘शान्ति, सचेतना र करुणा’ को बीउ रोप्ने एउटा आध्यात्मिक अनुष्ठान हो । टेक्सासको फोर्ट वर्थस्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट गत अक्टोबर २६ मा सुरु भएको यो ‘शान्ति पदयात्रा’ (वाक फर पिस) २३ सय माइल (३७ सय किलोमिटर) लामो छ । गन्तव्य–वासिङ्टन डी.सी । यात्राको अन्त्य फेब्रुअरीको मध्यतिर हुने अनुमान छ ।

उनीहरू धर्मको प्रचार गर्न वा धर्मको विरोध गर्न पदयात्रामा निस्केका होइनन् । भिक्षुहरूको भनाइ छ, ‘यो आत्मचिन्तन र करुणाको सन्देश बोकेको ध्यान हो ।’

यो यात्राको भिक्षु पन्नाकाराले नेतृत्व गरिरहेका छन् । उनी नांगो खुट्टामै हिँड्छन् । बाटोका ढुंगा, किला, सिसा र तातो कालोपत्र सडकले उनका खुट्टामा चोट लागेका छन् । तर उनी भन्छन्, ‘पीडाभन्दा माथि शान्तिप्रतिको चेतना हो ।’

Monks, dogs and the peace walk

यात्रा सुरु गर्नुअघि उनीहरूले आधिकारिक सामाजिक सञ्जालमा ‘शान्ति फैल्याउन’ का लागि लेखेका थिए । ‘शान्तिका लागि पदयात्रा एउटा सहज तर अर्थपूर्ण सम्झना हो । जसले हामी प्रत्येकभित्र आफ्नो परिवार, समुदाय, समाजमा एकता र करुणाभाव फैल्याउन सक्छ ।’

यो यात्रा सजिलो छैन । यात्राका क्रममा दुर्घटनामा पर्दा एक भिक्षुले आफ्नो खुट्टा गुमाएका छन् । एटलान्टा न्युज फर्स्टका अनुसार गत नोभेम्बर ११ मा टेक्सासको भिक्षु प्राजना महादमलाई एक कारले ठक्कर दिँदा उनले देब्रे खुट्टा गुमाए । तर यात्राको लय रोकिएन । उनलाई उपचारका लागि लगियो तर उनका साथीहरू निरन्तर यात्रामा छन् ।

सामाजिक सञ्जालमा उनीहरूले दिएको जानकारीअनुसार उनीहरू दिनभर हिँड्छन् । बाटोमा भेटिएका मान्छेहरूसँग गफ गर्छन् । राति कहिले खुला आकाशमुनि टेन्टमा सुत्छन् । कहिले चर्चको आँगनमा, कहिले किसानको खेत त कहिले पार्कहरूमा ।

उनीहरू जहाँ पुग्छन्, त्यहाँ मानिसहरू आफैं आइपुग्छन् । कतिपयको हातमा फूल हुन्छ त कतिपय खाना लिएर आउँछन् । उनीहरूको छेउ पुगेका कतिपय रोइरहेका हुन्छन् त कतिले उनीहरूसँगै हिँडेर हौसला थप्छन् ।

मौन यात्राको लोभलाग्दो लोकप्रियता

सडकमा मौन हिँडिरहेका यी भिक्षुहरूले डिजिटल दुनियाँमा भने निकै ठूलो जमात कमाइसकेका छन् । सामाजिक सञ्जालमा यो टोलीको लोकप्रियता लोभलाग्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकमा उनीहरूका फलोअर संख्या १० लाख नाघिसकेको छ । सीएनएन, एबीसी न्युज, यूएस टुडे, एपी, न्युयोर्क पोस्टलगायतका चर्चित समाचार संस्थाले समेत भिक्षुहरूको पदयात्रालाई विशेष सामग्रीका रूपमा प्रस्तुत गरेका छन् । अमेरिकामा त लाखौं मानिसले ‘यो सन्देश अहिले अमेरिकालाई चाहिएको थियो’ भनेरसमेत टिप्पणी गरिरहेका छन् ।

भिक्षुहरूको यात्राका विभिन्न भिडियोहरू सामाजिक सञ्जालहरूमा प्रशस्त देखिन्छन् । जहाँ उनीहरू यात्रामा भेटिएकाहरूसँग गफ गर्छन् । कतिपयले फूलका गुच्छाले स्वागत गर्छन् । कतिले रुँदै आफ्ना पीडा पोखिरहेका छन् । कतिपयले आफ्नाहरू गुमाएको कथा सुनाउँछन् । बच्चादेखि वृद्धसम्म उनीहरूका पर्खाइमा देखिन्छन् । यात्राका क्रममा भेटिएकहरूलाई उनीहरूले आशीर्वाद दिँदै गरेको र स्नेहले हातमा डोरो ‘ब्लेसिङ स्ट्रिङ’ बाँधी दिँदै गरेको पनि देखिन्छ ।

Monks, dogs and the peace walk

भिक्षुहरू भेट्न आउनेलाई हातमा बाँधिदिने डोरो ‘ब्लेसिङ स्ट्रिङ’ समेत अहिले सामाजिक सञ्जालमा भावनात्मक प्रतीक बनेको छ । उनीहरूको ब्लगमा लेखिएको छ, ‘यो धागोले सम्झाउँछ, तपाईं पनि यो यात्राको हिस्सा हुनुहुन्छ ।’

सामाजिक सञ्जालमा यो यात्रा चर्चित हुनुको कारण हो– ‘आलोका’ नामक कुकुर । भिक्षुहरूसँगै हिँडिरहेको ‘आलोका’ कुकुर अहिले यो यात्राको सबैभन्दा चर्चित बनेको छ । कहिले बाटोछेउ सुतेको, कहिले मानिससँग खेल्दै गरेको, कहिले भिक्षुहरूको छायामा दौडिरहेको उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् ।

यात्राका नेतृत्वकर्ता प्रपन्नाकारा अनुसार ‘आलोका’ भारतको एउटा साम् कुकुर थियो । सन् २०२२ मा भारतमा भएको शान्ति यात्राका क्रममा उसले पन्नाकारालाई पछ्याउँदै नेपालको सीमासम्म साथ दिएको थियो । एक पटक गम्भीर बिरामी परेपछि पन्नाकाराले उसलाई काखमा बोकेर जोगाएका थिए । त्यसैले नाम राखियो ‘आलोका’, अर्थात् दिव्य प्रकाश । ‘जब म थाक्छु, उस (आलोका) लाई हेर्छु,’ पन्नाकारा भन्छन्, ‘त्यसपछि फेरि हिँड्न मन लाग्छ ।’

आलोकाका तस्बिर र भिडियोहरू भाइरल भइरहँदा धेरै अमेरिकीहरूले यसलाई ‘कठिन समयमा आशाको किरण’ का रूपमा लिएका छन् । कतिपय अनुयायीहरूले लेखेका छन्, ‘तपाईंहरूको यो यात्राले हामीलाई दयालु बन्न र श्वासप्रश्वासमा ध्यानकेन्द्रित गर्दै शान्त रहन सिकाएको छ ।’

मागसहितको साधना

पदयात्राका क्रममा उनीहरूले ६ वटा राज्य पार गरिसकेका छन् । जहाँ पुगे पनि उनीहरूलाई स्वागत गर्न स्थानीयको घुइँचो लाग्ने गरेको छ । अलाबामाका पादरी प्याट्रिक हिचम्यान क्रेगले क्रिसमसको रात यी भिक्षुहरूलाई आफ्नो चर्चमा बास दिए । हिचम्यान क्रेगले भने, ‘शान्तिका लागि काम गर्ने जोकोही पनि जिससको हृदयको नजिक हुन्छन्, चाहे उनीहरूको धर्म जेसुकै होस् ।’

यो टोली वासिङ्टन डीसी पुगेपछि अमेरिकी कंग्रेस (संसद्) लाई एउटा विशेष अनुरोध गर्ने योजनामा छ । वासिङ्टन डी.सी. पुगेपछि भिक्षुहरूले त्यहाँको संसद्सँग बुद्धको जन्म र ज्ञान प्राप्तिको दिनलाई राष्ट्रिय बिदाको मान्यता दिन आग्रह गर्ने योजना बनाएका छन् ।

उनीहरूका अनुसार यसले बुद्धका शिक्षाहरूलाई सम्मान गर्ने मात्र नभई विश्वभर शान्तिको सन्देश फैलाउन मद्दत पुग्नेछ । ‘हाम्रो मुख्य उद्देश्य सरल छ,’ प्रपन्नाकारा भन्छन्, ‘शान्ति राज्यबाट सुरु हुँदैन, व्यक्तिबाट सुरु हुन्छ । एक पाइला, एक सास, एक मन ।’

धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा यो यात्राले अनौठो आकर्षण पैदा गरेको छ । उनीहरूको यात्रालाई समर्थन गर्ने र हेर्नेहरूको भीड उत्तिकै बढेको छ । ‘देशमा हरेक दिन कुनै न कुनै पीडादायी घटना भइरहेको छ । जब मैले उनीहरूको आँखामा हेरें, त्यहाँ शान्ति देखें,’ अड्री पियर्स नामक अमेरिकी नागरिकले एपीसँग भनिन् ।

Monks, dogs and the peace walk

रोड्स कलेजकी धर्मशास्त्रकी प्राध्यापक ब्रुक शेडनेकले पनि यस यात्राले प्रेरणा दिएको बताइन् । उनी भन्छिन्, ‘यस्ता पदयात्राले मानिसहरूलाई शब्दबाट भन्दा पनि भिक्षुहरूको त्याग र समर्पणबाट बढी प्रेरित गर्छन् ।’

उनीहरूको यात्रालाई सबैले सकारात्मक मात्रै लिएका छैनन् । कतिपयले यसलाई धर्म प्रचार भन्दै टिप्पणी पनि गरेका छन् । विशेषगरी भिक्षुहरूले चर्चकै प्रांगणमा गएर भाषण गरेपछि त्यहाँका केही स्थानीयले यात्राको विरोध गरेका छन् । उनीहरूका अनुसार भिक्षुहरू शान्तिको नाममा धर्म प्रचारका लागि आएका हुन् ।

तर, भिक्षु पन्नाकाराले उक्त आरोपको खण्डन गर्दै आफूहरूको यात्रा कुनै विरोध वा धर्म परिवर्तन गराउने माध्यम नभएको दाबी गरेका छन् । उनी भन्छन्, ‘हाम्रो उद्देश्य मानिसहरूलाई आफ्नो दैनिक जीवनमा शान्ति खोज्न प्रेरित गर्नु मात्र हो ।’ 

(एजेन्सीको सहयोगमा)

Monks, dogs and the peace walk

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully