भारत भ्रमण सकेर आएका परराष्ट्रमन्त्री खनाल चीन जाँदै

भारत भ्रमणलगत्तै हुन लागेको चीन भ्रमणका दौरान द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने तथा कनेक्टिभिटी र विकास परियोजनाहरूलाई अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

जेष्ठ २५, २०८३

अनिल गिरी

Foreign Minister Khanal, who has returned from his visit to India, is heading to China.

What you should know

काठमाडौँ — तीन दिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल १४ जुनमा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने भएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

भ्रमणका क्रममा मन्त्रीले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूलाई समेत भेट्नेछन् । ‘भ्रमण निश्चित भएपछि परराष्ट्रमन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘वास्तवमा उहाँको चीन भ्रमण निश्चित भएपछि मात्र उहाँले छोटो तयारीमै दिल्ली जानु भएको हो ।’

दिल्लीमा रहँदा मन्त्री खनालले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरी सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका बृहत् द्विपक्षीय विषयहरूमा छलफल गरेका थिए ।

वर्तमान सरकार पश्चिमा मुलुकहरूतर्फ बढी ढल्किएको भन्ने बेइजिङको बढ्दो आशंकाकाबीच परराष्ट्रमन्त्री खनाल बेइजिङ जान लागेको उनीहरू निकट एक अधिकारीले बताए । ‘परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणको उद्देश्य त्यो भ्रमणलाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनियाँ नेतृत्वलाई आश्वस्त पार्नु हो । यसको अर्थ दुवै छिमेकीसँग नेपाल सन्तुलित दृष्टिकोण देखाउनु पनि हो,’ ती अधिकारीले थपे ।

मन्त्री खनालले बेइजिङ जानुअघि पूर्वमन्त्री, नेताहरू, उच्च अधिकारी र चीन विज्ञहरूसँग भेट सुझाव लिने ती अधिकारीको भनाइ छ ।  

२१ फागुनमा निर्वाचनको लगत्तै सीपीसीका केही उच्च अधिकारी काठमाडौं आएका थिए । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र खनाललगायतका नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए ।

त्यसक्रममा उनीहरूले नयाँ सरकारले पश्चिमा नीति अवलम्बन गर्छ कि भनेर जिज्ञासा समेत राखेका थिए ।

अनिल

Link copied successfully