दिल्लीबाट फर्किएपछि परराष्ट्रमन्त्री खनालले भने :  सीमा विवाद कूटनीतिक ढंगले टुंग्याउँछौँ

सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो : मन्त्री खनाल

जेष्ठ २४, २०८३

कान्तिपुर संवाददाता

After returning from Delhi, Foreign Minister Khanal said: We will resolve the border dispute diplomatically.

What you should know

काठमाडौँ —  

परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने बताएका छन् । भारतको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गरे । 

नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको समेत उनको भनाइ छ । मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर विभिन्न क्षेत्रमा आपसी सहकार्य, कूटनीति एवं सीमासम्बन्धी विषयमा छलफल भएको समेत बताए  । ‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो । अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो,’ उनले भने । 

भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरू गर्न आपसी समझदारी भएको बताए  ।

प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको समेत उनले जानकारी दिए । 

मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्दै छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारीसमेत दिए । मन्त्री खनाल भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका थिए । 

कान्तिपुर

Link copied successfully