मनसुनको कमजोर गति

मनसुन प्रवेशको ढिलाइले दक्षिण एसिया हुँदै नेपालसम्मको वर्षा प्रणालीमा समेत प्रभाव पर्ने मौसमविद्हरूले अनुमान गरेका छन् ।

जेष्ठ २२, २०८३

फणीन्द्र संगम

Weak monsoon speed

What you should know

काठमाडौँ — भारतमा मनसुन सरदर मितिभन्दा तीन दिन ढिला गरी भित्रिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले बिहीबार दक्षिणी राज्य केरलबाट दक्षिण–पश्चिम मनसुन प्रवेश गरेको घोषणा गरेको हो । मनसुनको यो ढिलाइ र कमजोर गतिले दक्षिण एसिया हुँदै नेपालसम्मको वर्षा प्रणालीमा समेत प्रभाव पर्ने मौसमविद्हरूले अनुमान गरेका छन् ।

भारतमा सामान्यतः जुन १ मा मनसुन भित्रन्छ । विभागले यसअघि मे २६ मा मनसुन भित्रने अनुमान गरेको थियो । विभागका अनुसार दुई दिनयता दक्षिण–पूर्वी अरब सागरमा बादलको हिस्सामा वृद्धि भएको छ, जहाँ पश्चिमी हावाको प्रभाव समुद्री सतहदेखि करिब ४.५ किलोमिटर उचाइसम्म फैलिएको छ । तल्लो तहमा पश्चिमी हावाको गति करिब २०–२५ ‘नट्स’ रहेको छ । पछिल्ला दुई दिनमा केरलमा ठूलो वर्षासँगै केही स्थानमा भारी वर्षा पनि भएको छ । मनसुनका लागि आवश्यक मापदण्ड पूरा भएकाले दक्षिण–पश्चिम मनसुन भित्रिएको घोषणा गरिएको विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

अन्डमान र निकोबार द्वीपबाट केरलसम्म मनसुन आइपुग्न सामान्यतया १० देखि १५ दिन लाग्छ । यसपालि १६ मेमै अन्डमान क्षेत्रसहित दक्षिण–पूर्वी अरब सागर, दक्षिण–पश्चिम र दक्षिण–पूर्वी बंगालको खाडीमा मनसुन सक्रिय भइसकेको थियो । तर, समयमै केरल आउन सकेन । यसतर्फ मनसुन अघि बढ्न अरब सागर र बंगालको खाडीमा बन्ने वायुमण्डलीय दबाब, हावाको चाप र चक्रवातजस्ता मौसमी प्रणाली महत्त्वपूर्ण मानिन्छन् ।

मनसुन भित्रिएको औपचारिक घोषणाका लागि केरलसहित १४ वटा मौसम केन्द्रमध्ये कम्तीमा ६० प्रतिशत केन्द्रमा लगातार दुई दिनसम्म २.५ मिलिमिटर वा सोभन्दा बढी वर्षा हुनुपर्ने विभागले जनाएको छ । पश्चिमी वायुको गति बलियो भए मात्रै त्यसले मनसुन प्रवेशमा सघाउँछ ।

भारी वर्षा भइरहेकाले विभागले बिहीबार केरलका अलाप्पुझा, कोट्टायम र एर्नाकुलम जिल्लामा चेतावनी जारी गरेको थियो । केरलसँगै तामिलनाडु, कर्नाटकका केही भूभागमा सात दिनसम्म भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।

राजस्थान, पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, मध्य प्रदेश, छत्तीसगढ र तेलंगानामा भने प्रि–मनसुनको प्रभाव देखिएको छ । ५० देखि ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी, मेघगर्जन र वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ । मौसमी बदलावका बीच गुजरात, पश्चिमी राजस्थान, उत्तर प्रदेश, बिहार, महाराष्ट्र र तामिलनाडुका केही भूभागमा भने तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ ।

मनसुन ढिलो प्रवेशसँगै यो कमजोर बन्न सक्ने पनि मौसमविद्हरूको आकलन छ । भारतीय मौसम विभागले यसअघि जुनदेखि सेप्टेम्बरसम्म ९२ प्रतिशत वर्षा हुने प्रारम्भिक अनुमान गरे पनि पछिल्लो संशोधनपछि त्यसलाई ९० प्रतिशतमा झारेको छ । दक्षिण एसियामा जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने दक्षिण–पश्चिम मनसुनले वार्षिक वर्षाको करिब ७५ देखि ९० प्रतिशत हिस्सा ओगट्छ । कृषि, जलस्रोत र ऊर्जा उत्पादनमा अत्यधिक निर्भर यस क्षेत्रमा मनसुन कमजोर बने समग्र अर्थतन्त्रमै असर पर्छ ।

नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । ‘सामान्यतया केरलमा मनसुन प्रवेश गरेको १२ देखि १४ दिनभित्र नेपाल आइपुग्छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले भने, ‘यो वर्ष मनसुनी प्रक्रियामै केही स्लो मुभमेन्ट चाहिँ देखिएको छ । विभिन्न वेदर प्यारामिटर, हावाको गति र वर्षा ढाँचा विश्लेषण गरेर मात्रै हामीकहाँ मनसुन कहिले प्रवेश गर्छ भन्न सकिन्छ ।’ गत वर्ष १५ दिनअगावै मे २९ मा भित्रिएको थियो ।

यसपालि मनसुन प्रणाली ढिलो विकास भएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । ‘केरलमा भित्रिने मनसुनी प्रणाली विस्तार भएर नै नेपाल प्रवेश गर्ने हो,’ उनले भने, ‘विभागले नै यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ ।’

Weak monsoon speed

विश्व मौसम संगठन (डब्ल्यूएमओ) को दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ । दक्षिण एसियाको ठूलो भागमा औसतभन्दा कम वर्षा हुने तर उत्तर–पश्चिम, उत्तर–पूर्व र दक्षिणी केही क्षेत्रमा सामान्य वा बढी वर्षा हुन सक्ने सास्कोफको प्रक्षेपण छ । यो अवधिमा दिनको अधिकतम र रातको न्यूनतम तापक्रम दुवै औसतभन्दा माथि रहनेछ ।

‘आधिकारिक रूपमा सास्कोफ र विभागको आउटलुकमा एल निनो भएमा औसतभन्दा कम वर्षा हुने भनिएको छ । वर्षा र बादल कम हुँदा स्वाभाविक अधिकतम र न्यूनतम तापक्रम बढ्छ,’ अर्का वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘मनसुनको समग्र अवधिमा तापक्रम बढ्ने सम्भावनाको प्रतिशत बढी देखिएको छ ।’

विश्व मौसम विज्ञान संगठनले मंगलबार विज्ञप्ति जारी गर्दै नोभेम्बरसम्म ‘एल निनो’ विकसित हुने सम्भावना ९० प्रतिशत रहेको भन्दै चेतावनी दिएको थियो । ‘यद्यपि यसको शक्ति र समयबारे केही अनिश्चितता भए पनि धेरै मौसम पूर्वानुमान मोडेलहरूले यो अवस्था कम्तीमा मध्यम र सम्भवतः बलियो हुने संकेत गरेका छन्,’ संगठनले भनेको छ । विश्व मौसम विज्ञान संगठन संयुक्त राष्ट्रसंघको जलवायु निकाय हो ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले आगामी महिनाहरूमा एल निनो ढोकामै आइपुग्नेमा विज्ञान स्पष्ट रहेको बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले यो करिब ९० प्रतिशत निश्चित रहेको पनि उल्लेख गरेका छन् । ‘विश्वले यसलाई आपतकालीन जलवायु चेतावनीका रूपमा लिनुर्छ । एल निनो अवस्थाले पहिले नै तातिरहेको संसारलाई अझ बढी तताउनेछ । यसको असर अझ गम्भीर हुनेछ,’ उनले भनेका छन्, ‘यसको प्रभावकारी समाधान भनेको जीवाश्म इन्धनको लत अन्त्य गर्नु, नवीकरणीय ऊर्जातर्फको परिवर्तन तीव्र बनाउनु, सबैभन्दा जोखिममा रहेका मानिसहरूको संरक्षण गर्नु, र सबैका लागि पूर्व सूचना प्रााली उपलब्ध गराउनु हो ।’

एल निनो प्राकृतिक मौसमी चक्र हो । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो बन्दै गएपछि यसले मौसममा ठूलो फेरबदल ल्याउँछ । यहाँबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ ।

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully