मौसमविद्हरूले एल निनोको प्रभावले रोपाइँका बेला पानी नपर्ने, बालीमा असर पर्ने र खाद्य सुरक्षासँगै अर्थतन्त्रसमेत संकटमा पार्न सक्ने चेतावनी दिएका छन्।
What you should know
काठमाडौँ — प्रशान्त महासागरमा उत्पन्न हुने एल निनोको प्रभावले आगामी ६ महिना तापक्रम बढ्नेदेखि कुनै ठाउँमा सुक्खा हुने त कतै भीषण वर्षा हुने आकलन गरिएको छ । मौसमविद्हरुले रोपाइँका बेला पानी नपर्ने अनि बर्खायाम सकिने बेला आरिघोप्टे पानी पर्न सक्ने पूर्वानुमानसमेत गरेका छन् । यसको सीधा असर बाली चक्र र खाद्य सुरक्षासँग त जोडिन्छ नै राष्ट्रिय अर्थतन्त्रलाई पनि प्रभाव पार्ने देखिन्छ । अर्कोतर्फ एल निनो प्रणालीकै कारण मनसुनजन्य विपद्को जोखिम पनि बढ्ने विज्ञहरूको भनाइ छ ।
पोहर साल खडेरी लम्बिँदा धान उत्पादन करिब ४ प्रतिशतले घटेको थियो । तराईमा त ५ प्रतिशतले उत्पादनमा ह्रास आएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रासद मिश्रले जानकारी दिएका छन् । धान नेपालको प्रमुख बाली हो । जसको उत्पादनको सम्बन्ध देशको अर्थतन्त्रसँग सीधा जोडिन्छ । कृषि मन्त्रालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा धानको मात्र करिब ७ प्रतिशत हिस्सा छ । अर्थात् प्रशान्त महासागरमा विकसित मौसमी प्रणालीले नेपालीहरूको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ ।
अर्कोतर्फ मनसुनी चक्र खलबलिँदा खेती प्रभावित भई खाद्यान्न अभाव हुने र त्यसले मूल्यवृद्धि निम्त्याउनेलगायतका शृंखलाबद्ध असरहरू पनि देखापर्न थाल्छन् । यसै पनि अहिले इन्धन संकटका कारण अस्वाभाविक रूपमा बढेको महँगी धान्न नसकेर निम्न र मध्यम वर्ग हायलकायल छ ।
सामान्य अवस्थामा भारतसँग हामीले वार्षिक २५ अर्बको धान चामल खरिद गर्ने गरेका छौं । तर, एल निनो प्रणालीले नेपाल मात्र नभएर दक्षिण एसियाली क्षेत्रलाई नै प्रभाव पार्नसक्ने भएकाले यो रकम अझ थपिनसक्छ । एल निनो प्रभावले वर्षा ढिलो हुँदा तापक्रम वृद्धि हुने अनि अन्ततः प्रकोप सिर्जना हुने जोखिम पनि रहन्छ ।
यो वर्ष देशभरको तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भनिसकेको छ । यस्तोमा हिमताल विस्फोट भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरोजस्ता प्रकोपको सम्भावना अधिक रहेको प्राधिकरणले उल्लेख गरेको छ । मौसमविद्हरुले एल निनो प्रणालीले गर्न सक्ने असरबारे घचघच्याए पनि सरकारले आफूलाई प्राकृतिक विपद् पूर्वतयारीमा केन्द्रित गरेको छ । यो राम्रो हो तर बाली चक्रमा पर्ने असरबारे ध्यान नदिने हो भने खाद्य प्रणाली र अर्थतन्त्रमै समेत विपद् निम्तिन सक्नेछ ।
के हो एल निनो ?
विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् - एल निनो र ला निना । एल निनो र ला निनाले प्रशान्त महासागरको पानी कति तातो वा चिसो छ भन्ने देखाउँछन् । सरल भाषामा भन्नुपर्दा, यो समुद्रको पानी असामान्य रूपमा तात्ने वा चिसिने प्रक्रिया हो ।
समुद्रको पानी सामान्यभन्दा धेरै तात्यो भने त्यसलाई एल निनो भनिन्छ । त्यसको उल्टो अर्थात्, प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई ला निनो भनिन्छ । सामान्य अवस्थामा प्रशान्त महासागरको पानी पूर्वी क्षेत्रमा चिसो र पश्चिममा तातो हुन्छ ।
पूर्वबाट पश्चिमतर्फ हावा बहने क्रममा सूर्यको तापले पानीलाई तातो बनाइरहेको हुन्छ । तर, एल निनोका बेला यस्तो हावा कमजोर हुन्छन् र उल्टो दिशातर्फ अर्थात् पश्चिमबाट पूर्वतर्फ फैलन थाल्छ । मौसमका हिसाबले यी दुवै महत्त्वपूर्ण प्रणाली हुन्, किनभने प्रशान्त महासागरको तापक्रममा हुने परिवर्तनले हजारौं किलोमिटर टाढाको मौसमसमेत बदल्न सक्छ ।
समुद्री सतह असामान्य रूपमा तात्दा विकसित हुने एल निनो सामान्यतया ९ महिनादेखि १ वर्षसम्म सक्रिय रहन सक्छ । धेरैजसो अवस्थामा यो वर्षको मध्यदेखि विकसित भई अन्त्यतिर बलियो बन्छ र त्यसपछि अर्को वर्षको सुरुवात वा मध्यसम्म क्रमशः कमजोर हुँदै जान्छ । मौसमविद्हरूका अनुसार अहिले प्रशान्त महासागरमा समुद्री तापक्रम क्रमिक रूपमा बढिरहेको छ र सन् २०२६ को मध्यदेखि एल निनो सक्रिय हुन सक्ने संकेत देखिएको छ। केही अन्तर्राष्ट्रिय मौसम पूर्वानुमानहरूले एल निनोको असर २०२६ को अन्त्यसम्म, र सम्भवतः २०२७ को सुरुवातसम्म पनि रहन सक्ने देखाएका छन् ।
विश्व मौसम संगठनलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२६ को मेदेखि जुलाईका बीच एल निनो विकसित हुने सम्भावना रहेको बताएका छन् । अहिलेका समुद्री तापक्रम र वायुमण्डलीय संकेतहरूले आगामी महिनाहरुमा मौसम अनिश्चित हुनेछ । यसको अर्थ हो, कहिले अत्यधिक गर्मी हुन सक्छ भने कहिले अचानक मुसलधारे पानी पर्न सक्छ । मौसम नै असन्तुलित भइदिन्छ । दक्षिण एसियाका अधिकांश देशहरूको अर्थतन्त्र, कृषि, खानेपानी, जलविद्युत् तथा जनजीवन मनसुनमा निर्भर हुने भएकाले एल निनोको प्रभाव यहाँ प्रत्यक्ष महसुस हुने गर्छ ।
विशेषगरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा एल निनोका कारण सामान्यभन्दा कम वर्षा, लामो खडेरी, अत्यधिक गर्मी तथा कृषि उत्पादनमा गिरावट आउने देखिन्छ । तर, एल निनोको प्रभाव सधैं एउटै ढाँचामा हुँदैन, कतिपय क्षेत्रमा कम वर्षा हुँदा अर्को क्षेत्रमा अत्यधिक वर्षा हुने र बाढी तथा पहिरोको जोखिम पनि बढ्न सक्छ । त्यसैले एल निनोलाई केवल खडेरी ल्याउने अवस्था मात्रै मानिँदैन । यसले मौसमलाई अनियमित र असन्तुलित पनि बनाउन सक्छ । कुनै बेला कम पानी नै नपरिरहेका बेला अचानक धेरै पानी पर्न सक्छ । लामो सुख्खापछि एक्कासी ठूलो वर्षा हुँदा बाढी र पहिरोको जोखिम झन् बढ्छ । हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिमसमेत बढाउन सक्छ ।
एल निनोसँग जोडिएको अर्को ठूलो चिन्ताको विषय हो- डढेलोको जोखिम । कम वर्षा र सुख्खा मौसमले जंगललाई अत्यधिक सुक्खा बनाउने भएकाले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा यसले डढेलोको सम्भावना बढाउन सक्ने मौसमविद्हरुको भनाइ छ ।
वैज्ञानिकहरूको प्रारम्भिक अनुमानले यसपटक एल निनो सक्रिय हुन सक्ने देखाएको छ । तर, यो कति बलियो हुन्छ भन्ने अझै निश्चित भइसकेको छै न। केही विज्ञहरूले अत्यन्त शक्तिशाली ‘सुपर एल निनो’ को सम्भावना पनि औंल्याएका छन् । अर्थात्, सामान्यभन्दा धेरै प्रभाव पार्ने एल निनो विकसित हुन सक्ने अनुमान पनि छ ।
विश्व मौसम संगठनले भने नै त्यसलाई पुष्टि गरिसकेको छैन । आगामी केही महिनामा प्रशान्त महासागरको तापक्रम र वायुमण्डलीय गतिविधि कता जान्छ भन्ने आधारमा अवस्था अझ स्पष्ट हुने अपेक्षा गरिएको छ। नेपालजस्ता देशका लागि यो प्रणाली गम्भीर चासो र चिन्ताको विषय हो, कारण - एल निनोको असर समुद्रमा मात्रै होइन, खेतबारीदेखि खानेपानीसम्म पर्छ ।
