यस वर्षको अन्त्यतिर एल निनो उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ इतिहासकै सबैभन्दा तातो वर्ष हुन सक्ने धेरै वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
What you should know
काठमाडौँ — यस वर्ष नेपालमा सरदरभन्दा कम वर्षा र बढी तापक्रम हुने प्रक्षेपण सार्वजनिक भइरहेका बेला विश्व मौसमविद्हरूको ध्यान भने प्रशान्त महासागरमा केन्द्रित छ । प्रक्षेपणअनुसार त्यहाँ 'एल निनो' विकसित भए त्यो इतिहासकै बलियो एल निनोमध्ये एक हुन सक्ने उनीहरूले चेतावनी दिएका छन् । जसले दक्षिण एसियासहित नेपालमा कमजोर मनसुन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ ।
विश्व मौसम संगठन (डब्ल्यूएमओ) को दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले हालै सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ । मञ्चको बैठकमा सहभागी मौसमविद्हरूले यो मनसुनमा 'एल निनो' विकास हुने सम्भावना देखाएका थिए ।
दक्षिण एसियाको ठूलो भागमा औसतभन्दा कम वर्षा हुने तर उत्तर-पश्चिम, उत्तर-पूर्व र दक्षिणी केही क्षेत्रमा सामान्य वा बढी वर्षा हुन सक्ने सास्कोफको प्रक्षेपण छ । यो अवधिमा दिनको अधिकतम र रातको न्यूनतम तापक्रम दुवै औसतभन्दा माथि रहनेछ ।
जल तथा मौसम विज्ञान विभागले हालै मनसुनी प्रक्षेपण सार्वजनिक गर्दै नेपालका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने भनेको छ । अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।
'आधिकारिक रूपमा सास्कोफ र विभागको आउटलुकमा एल निनो भएमा औसतभन्दा कम वर्षा हुने भनिएको छ । वर्षा र बादल कम हुँदा स्वाभाविक अधिकतम र न्यूनतम तापक्रम बढ्छ,' वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, 'मनसुनको समग्र अवधिमा तापक्रम बढ्ने सम्भावनाको प्रतिशत बढी देखिएको छ ।'
नेपालमा मनसुन जुन १३ (जेठ चौथो साता) भित्रिएर अक्टोबर २ (असोज तेस्रो साता) बाहिरिने गर्छ । यो क्रम हरेक वर्ष केही दिन फरक पनि पर्न सक्छ । मनसुन अवधिमा नेपालमा वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशत पर्छ ।
दक्षिण एसियाको अधिकांश भागमा जुनदेखि सेप्टेम्बरसम्म दक्षिण–पश्चिम मनसुनको प्रभाव प्रमुख रूपमा देखिन्छ । यस अवधिमा श्रीलंका र दक्षिण–पूर्वी भारतबाहेक वार्षिक वर्षाको करिब ७५ देखि ९० प्रतिशतसम्म वर्षा हुन्छ । जलस्रोत पुनःभरण, सिँचाइ र खानेपानी आपूर्तिका लागि यो महत्वपूर्ण मानिन्छ । तर, औसतभन्दा कम मनसुन वर्षाले विशेषगरी कृषिबाली उत्पादनमा ठूलो असर पुर्याउँदा भोकमरीको जोखिमलाई उच्च बनाउने सम्भावना भने रहिरहन्छ ।
अहिले नेपालमा प्रिमनसुन सक्रिय बनिरहेको छ । मध्य फागुनदेखि मध्य जेठसम्मको यो अवधिमा औसतभन्दा धेरै पानी परेको मौसम विभागले जनाएको छ ।
विभिन्न भूभागमा पानी परिरहे किन गर्मी घट्न सकेन त ?
वरिष्ठ मौसमविद् पौडेल भन्छन्, 'पश्चिमतिर जहाँ गर्मी भइरहेको छ, त्यहाँ एक हप्तायता पानी परेको छैन । लुम्बिनी र सुदूरपश्चिमका भूभाग र भित्री मधेशमा तापक्रम बढेको छ । त्यहाँ बिस्तारै कम हुने सम्भावना पनि छ ।'
केही दिनयता पश्चिमी तराईका धेरै स्थानमा 'हिट वेभ' छ । त्यहाँ लगभग ४० डिग्री सेल्सियस तापक्रम पुग्दा जनजीवन नै प्रभावित बनेको छ । पहाडी भूभाग र पूर्वतिर भने स्थानीय वायु सक्रिय बन्दा वर्षा भइरहेको छ । प्रिमनसुनमा कतै तातो त कतै खण्डवृष्टि हुने पौडेल बताउँछन् ।
अहिले बढेको तापक्रमलाई एल निनोको प्रभावका रूपमा भने लिन नमिल्ने उनको भनाइ छ । किनकि अहिले एल निनो न्युट्रल अवस्थामा छ । 'पहिले पनि एलनिनो मनसुनको समयमा ८-९ पटक देखिएको हो । तर एल निनोमा सुक्खा हुने मात्रै पनि होइन । ४ महिनाबीचमा खडेरी चल्दै गर्दा बीचमा २-३ दिन मजाले वर्षा हुन पनि सक्छ । त्यसले बाढी-पहिरोसमेत ल्याउन सक्छ,' उनी भन्छन् ।
विभागले पनि मनसुन अवधिमा औसत पानी कम पर्ने सम्भावना मात्रै देखाएको उनी बताउँछन् । 'मनसुनमा ९० देखि ११० सम्म हामी औसत वर्षा मान्छौं, एल निनोको प्रभाव देखिए त्यसभन्दा कम वर्षा हुन्छ भनिएको हो, जिरो नै हुन्छ भन्ने होइन ।'
एल निनो एउटा प्राकृतिक मौसमी चक्र हो । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो बन्दै गएपछि यसले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ । यहाँबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ ।
सामान्यतया यसले अमेरिकाका केही भागमा अत्यधिक वर्षा गराउँछ भने दक्षिण र दक्षिण-पूर्वी एसिया (नेपाल, भारतजस्ता मुलुक), अस्ट्रेलिया र दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढाउँछ । यसको ठिक उल्टो ला निनाले भने समुद्री सतहको तापक्रम चिसो बनाउँदै मनसुनी वर्षामा योगदान पुर्याउँछ ।
यस्तो मौसमी चक्र औसतमा ३ देखि ५ वर्षको अन्तरालमा दोहोरिन्छ । यद्यपि यो २ देखि ७ वर्षसम्म पनि फरक पर्न सक्छ । एल निनो बढीमा १८ महिनासम्म र ला निना ३ वर्षसम्म पनि रहन सक्ने वैज्ञानिक बताउँछन् ।
एल निनो घटनाहरूको मापन प्रशान्त महासागरको मध्य भागमा पर्ने एक विशाल आयातकार क्षेत्रमा तापक्रमको स्तर हेरेर गरिन्छ । मध्यम स्तरको एल निनोमा दीर्घकालीन औसतभन्दा करिब १ डिग्री सेल्सियसले तापक्रम बढ्न सक्छ । जब यो तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्छ, त्यसलाई शक्तिशाली एल निनो मानिन्छ ।
पछिल्ला ५० वर्षका सबैभन्दा ठूला एल निनो घटनाहरू (सन् १९८२, १९९७ र २०१५) मा तापक्रम औसतभन्दा २ डिग्री सेल्सियस वा त्योभन्दा धेरैले बढेको थियो । ती प्रत्येक घटनाले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेका थिए । यस वर्षका धेरै पूर्वानुमानअनुसार तापक्रम त्यसभन्दा बढी हुन सक्ने सम्भावना छ ।
यस वर्षको अन्त्यतिर एल निनो उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ इतिहासकै सबैभन्दा तातो वर्ष हुन सक्ने धेरै वैज्ञानिकहरूले अनुमान गरेका छन् ।
अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले एल निनो आगामी महिनाभित्रै सुरु हुने संकेत दिएको छ । जुन–अगस्टमा एल निनो विकसित हुने सम्भावना ६२ प्रतिशत रहेको छ, यो २०२६ को अन्त्यसम्म कायम रहने एनओएएको अनुमान छ ।
पछिल्ला केही सातायता उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिएको तापक्रम वृद्धिको गति निकै तीव्र रहेको छ । युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फरकास्ट (ईसीएमडब्ल्यूएफ) लाई उद्धृत गर्दै बीबीसीले पूर्वानुमान मोडेलहरूले सेप्टेम्बर-नोभेम्बरसम्म तापक्रम २.५ भन्दा बढीले वृद्धि हुन सक्ने देखाएको उल्लेख गरेको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेल हाल एल निनो तटस्थ अवस्थामै रहेकाले भयावह अवस्था आउन सक्न भनेर चिन्तित भइहाल्नु नपर्ने बताउँछन् । 'हामीकहाँ मनसुन आगमनको क्रममा छ । त्यसको मनिटरिङपछि मात्रै एल निनोको संकेत कस्तो रहन्छ भनेर अझ स्पष्ट हुन सकिन्छ । इन्डियन ओसन डाइपल (आईओडी) को विकसित अवस्थाले पनि हामीकहाँ प्रभाव पर्ने हुन्छ ।'
विगतको संकट
१८७६-१८७८ को एल निनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्त्याएको थियो । यो करिब १८ महिनासम्म चलेको थियो । यसका कारण एसिया, अफ्रिकाका साथै ब्राजिलजस्ता देशले खडेरी र अनिकाल भोग्नुपर्यो । कुल मृतक संख्या ५ करोडभन्दा बढी पुगेको अनुमान छ ।
त्यसबेला उच्चस्तरको प्रविधि नभएकाले वैज्ञानिकहरूले अवलोकन विधिबाट तापक्रम वृद्धि २.७ डिग्री रहेको अनुमान गरेका थिए ।
भारत, चीन, इजिप्ट, मोरोक्को, इथियोपिया, दक्षिणी अफ्रिका, ब्राजिल, कोलम्बिया र भेनेजुएलामा लामो समयसम्म परेको खडेरीले भोकमरी सुररु भएको थियो । अभिलेखअनुसार भारतमा १ करोड २२ लाखदेखि २ करोड ९३ लाखसम्म, चीनमा १ करोड ९५ लाखदेखि ३ करोडसम्म र ब्राजिलमा करिब २० लाख मानिसको मृत्यु भएको थियो । त्यो समयको विश्व जनसंख्याको करिब ३ प्रतिशत मानिस यस विपत्तिमा परेका थिए । यो घटनालाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्तिमध्ये एक मानिन्छ ।
यस्तो भयावह अवस्था आउँदा पनि मानिसहरूले किन मनसुनी वर्षा हुन सकेन भनेर बुझ्न सकेका थिएनन् । यसपछि नै वैज्ञानिकहरूले प्रशान्त महासागर र वायुमण्डलबीचको सम्पर्कलाई आधार बनाएर एल निनोसम्बन्धी धारणा सार्वजनिक गर्न थालेका हुन् ।
यसपालिको मनसुनमा १५० वर्षअघिकै जस्तो एल निनो फर्कने कतिपय वैज्ञानिकले अनुमान गरिरहेका बेला वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, 'अहिले नै भयावह अवस्था आउँछ भनेर अनुमान गर्नु हतार हुन्छ । एल निनोको प्रारम्भिक विकास चक्रपछि मात्रै यसको प्रभाव र असरबारे थप बुझ्न सजिलो हुनेछ ।'
हालका प्रक्षेपणहरू चिन्ताजनक देखिए पनि तत्काल भयावह निष्कर्ष निकाल्न नहुने कतिपय मौसमविद्को मत छ । मनसुनको वास्तविक व्यवहार, प्रशान्त महासागरको तापक्रम र अन्य मौसमी प्रणालीको विकासले मात्र आगामी मौसमी चक्रको वास्तविक तस्बिर तय गर्नेछ ।
