वैवाहिक बलात्कार मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्चबाट पनि पाए सफाइ

मंगलबार न्यायाधीशद्वय विनाेद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो ।

जेष्ठ १९, २०८३

कान्तिपुर संवाददाता

District Judge Bhuvan Giri also got acquittal from the Supreme Court in the marital rape case.

What you should know

काठमाडौँ — दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलत्कार मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

मंगलबार न्यायाधीशद्वय विनाेद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो ।

३१ चैत २०८१ मा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । श्रीमतीले वैवाहिक बलात्कारको आरोप लागेपछि उनी पक्राउ परेर थुनामा थिए । उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिएकाे थियाे भने त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते गिरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि गिरीकी पूर्वपत्नी रावल सर्वोच्च अदालतमा अनसन बसेकी थिइन् । बहस चलिरहँदा इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । मुद्दा दायर भए लगत्तै उनी निलम्बनमा परेका थिए भने उच्चले सफाइ दिएपछि जिम्मेवारीमा फर्केका थिए । 

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्लाले गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको थियो ।  

जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सजाय कम भएको पुनरावेदन गरेकाे थियो ।

पुनरावेदनमाथि भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै उच्चले गिरीलाई सफाइ दिइएको थियो ।  सम्बन्ध विच्छेदपछि पनि सहमतिबिना शारीरिक सम्बन्ध राखेको र जबर्जस्ती करणी गरेको भन्दै उनीविरुद्ध रावले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा मुद्दा दायर भएको थियो ।

कान्तिपुर

Link copied successfully