काठमाडौँ — न्याय परिषद्का न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन आवश्यक प्रक्रिया थालिएको जानकारी दिए ।
यसअघि जिल्ला अदालत कपिलवस्तुले चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।
न्यायाधीश भएपछि गिरी गत असारमा जिल्लामा पहिलो पटक पदस्थापन भएका थिए । गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो । उनकी कान्छी श्रीमती लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर श्रीमान्विरुद्ध आन्दोलित थिइन् । उनीविरुद्ध श्रीमतीले बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाएकी थिइन् । कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमै उनले जाहेरी निवेदन दिएकी थिइन् ।
श्रीमतीले आफूविरुद्ध जाहेरी दिएसँगै गिरीले पनि पत्नीले पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरी दिएका थिए । दुवै निवेदन लिएर प्रारम्भिक अनुसन्धान गर्दै रहेको प्रहरीले जनाउँदै आएको थियो । जिल्लामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि श्रीमतीले काठमाडौं गएर विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी थिइन् । उनले अदालत अगाडि प्रदर्शन गर्नेदेखि सरोकारवाला निकायमा पुगेर दबाब सिर्जना गर्दै आएकी थिइन् ।
जिल्लामा हुँदा गिरी ४ नम्बर न्यायाधीश थिए । पहिलो श्रीमतीसँग कानुनअनुसार छुट्टीभिन्न भई यिनीसँग बस्दै आएका थिए । २०७८ फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २ सय १२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए । गिरी तालिम लिएर ३ महिनाअघि मात्र जिल्लामा हाजिर भएका थिए ।
