कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी

मनोज पौडेल

कपिलवस्तु — न्याय परिषद्का न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । 

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी

न्यायाधीश भएपछि गिरी गत असारमा जिल्लामा पहिलो पटक पदस्थापन भएका थिए । गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो । उनकी कान्छी श्रीमती लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर श्रीमान्विरुद्ध आन्दोलित थिइन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जाहेरी दर्ता भएर गिरीविरुद्ध अनुसन्धान सुरु भइसकेको जानकारी दिए । ‘पक्राउ पुर्जी अनुसन्धानको एउटा पाटो हो,’ उनले भने, ‘अन्य कुराबारे पनि अध्ययन थालेका छौं ।’

गिरीको काठमाडौं सरुवा भएसँगै जिल्लास्थित प्रहरी उक्त जाहेरीबारे अनुसन्धानमा सक्रिय भएको थियो । श्रीमतीले बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाएकी थिइन् । कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा गत मंसिरमै उनले जाहेरी निवेदन दिएकी थिइन् ।

श्रीमतीले आफूविरुद्ध जाहेरी दिएसँगै गिरीले पनि पत्नीले पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरी दिएका थिए । दुवै निवेदन लिएर प्रारम्भिक अनुसन्धान गर्दै रहेको प्रहरीले जनाउँदै आएको थियो । जिल्लामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि श्रीमतीले काठमाडौं गएर विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी थिइन् । उनले अदालत अगाडि प्रदर्शन गर्नेदेखि सरोकारवाला निकायमा पुगेर दबाब सिर्जना गर्दै आएकी थिइन् ।

त्यसपछि गत फागुन ३ गते बानेश्वरस्थित संसद् भवनअघि केही महिलालाई लगेर उनले विरोध प्रदर्शन गरेकी थिइन् । त्यसबेला अन्य चार महिलासहित पक्राउ परेकी थिइन् । त्यसपछि यो घटनाले बढी चर्चा पाएको थियो । जिल्लामा प्रहरीले उजुरी लिन नमानेपछि उनले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् । दुवै आयोगले प्रहरीलाई पत्र पठाउँदै चासो राखेका थिए ।

केही दिन महिला आयोगको संरक्षणमा उनी काठमाडौंमा बसिन् । कारबाहीका लागि न्याय परिषद्मा समेत उजुरी गरेकी थिइन् । जिल्लामा हुँदा गिरी ४ नम्बर न्यायाधीश थिए । पहिलो श्रीमतीसँग कानुनअनुसार छुट्टीभिन्न भई यिनीसँग बस्दै आएका थिए । २०७८ फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २ सय १२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए । गिरी तालिम लिएर ३ महिनाअघि मात्र जिल्लामा हाजिर भएका थिए ।

प्रकाशित : चैत्र २२, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?