जबर्जस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ४५३ नेपालीको दिल्लीस्थित नेपाली दूतावास, उत्तरप्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा उद्धार भइसकेको छ । यो घटना रोजगारीको प्रलोभनमा नेपाली कसरी फसिरहेका छन् भनेर बुझ्ने एउटा केस स्टडी हो ।
What you should know
काठमाडौं र भैरहवा — सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती नेटवर्किङ व्यवसायमा लगाइएका साढे चार सय नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झूटा आश्वास दिएर गैरकानुनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो । उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इन्डियाको सहयोगमा दूतावासले शुक्रबार राति ४ सय ५३ जना नेपालीको उद्धार गरेको छ ।
उद्धार भएकामा १ सय १५ महिला, ३ सय ३८ पुरुष छन् । उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट शनिबार बिहान नेपाल ल्याई दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए । उनीहरुमध्ये १ सय ९ महिला र ३ सय २५ पुरुष गरी ४ सय ३४ जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ । बाँकी ६ महिला र १३ पुरुष गरी १९ जना प्रहरीको नियन्त्रणमा छन् ।
उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा १८ देखि ५५ वर्षका छन् । यसबारे रूपन्देही प्रहरीले थप अनुसन्धान थालेको छ । कुशीनगरमा धेरै ठूलो संख्यामा नेपाली युवालाई बन्धक बनाइएको र घरपरिवारमा फोन गरेर फिरौती रकमसमेत माग्ने गरिएको भन्ने सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, उत्तर प्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा चार दिनको अपरेसनपछि उद्धार गरेर नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।
चिनेजानेकै मानिसले नेपालका विभिन्न जिल्लाबाट बेरोजगार युवालाई रोजगारीका लागि बिहार तथा उत्तर प्रदेश बोलाउने गरेको पाइएको कार्यवाहक राजदूत थापाले बताए । ‘आकर्षक रोजगारी दिने प्रलोभन दिएर तालिमको बहानामा केही हप्ता राखेपछि उनीहरूमार्फत थप नेपाली नागरिक बेलाउन लगाइएको पाइएको छ,’ उनले भने, ‘रोजगारीका लागि आइपुग्ने हरेक व्यक्तिबाट रजिस्ट्रेसन फिका नाममा पैसा उठाउने गरिएको रहेछ । पिरामिड शैलीको संरचना बनाएर पैसा उठाउने काम गरिने रहेछ ।’
२५ हजार भारुसम्मको मासिक तलब, त्यस अतिरिक्त तालिम अवधिका नाममा खाना, बस्ने अलग्गै शुल्कसमेत लिई त्यही क्रममा एकबाट अर्को मानिस बोलाउने संगठित ठगी चक्रमा नेपालीहरू परेको पाइएको उनले बताए । त्यसरी बोलाइएका नेपालीहरूलाई भनेजस्तो काम र खाने–बस्ने सुविधासमेत नदिने गरेको खुलेको छ । त्यसरी नेपालीहरूलाई रोजगारीको प्रलोभन दिएर ठगी धन्धामा लगाइएको सूचना दूतावासमा आएपछि उद्धारका लागि नियोगका अधिकारी तथा किन इन्डियासहितको टोलीलाई परिचालन गरिएको थियो । दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी कन्सुलर प्रकाश मल्लसहितका कूटनीतिक अधिकारी कुशीनगर पुगेर नेपालीको उद्धार गराउन सफल भएका हुन् ।
किन इन्डियाका प्रमुख नवीन जोशीले ठूलो संख्यामा नेपाली नागरिकलाई बन्दी बनाएर राखिएको सूचनाका आधारमा पहिला ‘रेकी’ गरेर पुष्टि भएपछि उत्तर प्रदेश प्रहरीको सहयोग लिएर छापा हानिएको बताए । ‘राति १२ बजेदेखि बिहान साढे ४ बजेसम्म ८ वटा घरमा छापा हानेर नेपालीहरूलाई निकालिएको हो,’ उनले सुनाए, ‘स्थानीयको रेखदेख तथा कमान्डमा अलग अलग समूह बनाएर नेपाली नागरिकलाई राखिएको रहेछ । कोही महिनौंदेखि थिए भने कोही भर्खर पुगेका रहेछन् ।’ नेपालबाट आएलगत्तै पहिलो सातामै रजिस्ट्रेसन शुल्क भनेर २५ हजारसम्म लिने र त्यसपछि त्यसलाई बढाउँदै लगेर २ लाख रुपैयाँसम्म नेपाली नागरिकबाट लिइएको पाइएको जोशीले बताए । ‘रोजगारी तथा व्यापारको आम्दानीबाट राम्रै फाइदा हुने प्रलोभन देखाइँदो रहेछ । तर, पैसा उठाइसकेपछि बेवास्ता गर्न थालेपछि नेपालीहरूले आफू ठगिएको महसुस गर्ने रहेछन्,’ उनले भने, ‘रोजगारी पनि नदिने, पैसा पनि फिर्ता नगर्ने तथा घर फर्किन पनि नदिने साथै खाना, बस्न पनि उचित व्यवस्थापन नभएको पाइयो ।’
उद्धार गरिएकामध्येका एक युवाका अनुसार सुरुमा १० हजार रुपैयाँ बुझाएपछि मासिक तलब दिने प्रलोभन दिइएको थियो । ‘त्यहाँ पुगेपछि मात्र मैले नेटवर्किङ व्यवसाय भएको थाहा पाएँ,’ ती युवाले कान्तिपुरसित भने, ‘गएको एक/दुई दिनमै फर्किन खोज्दा मिल्दैन भने ।’ उनका अनुसार नयाँ आउनेलाई बिहान ४ बजे उठेर तालिममा सहभागी गराइन्छ । बिहान १० बजेसम्म तालिममा सहभागी भएपछि होस्टलमा राखिन्थ्यो । ‘हामी बस्ने होस्टलले दिउँसो अर्को होस्टलमा पठाउँथ्यो,’ उनले भने, ‘त्यहाँ घण्टा–घण्टामा नयाँ व्यक्ति आएर नेटवर्किङ व्यवसाय र त्यसबाट मिल्ने लाभबारे सुनाउँथे ।’ आफूहरूले शंका लागेर सोधपुछ गर्दा ४/५ वर्षदेखि काम गरिरहेको व्यावसायिक संस्था भएको भन्दै आश्वस्त पार्ने गरेको उनले बताए । ‘तर, संस्थाका बारेमा गुगलमा कतै प्रस्ट जानकारी पनि छैन,’ उनले भने, ‘मजस्ता धेरै युवा त्यहाँ रहेका छन् ।’
नेपाली अधिकारी र उत्तर प्रदेश प्रहरीले शुक्रबार राति १२ बजे संयुक्त रूपमै ५ वटा टोली बनाएर ८ वटै घरमा घेरा हालेर विवरण संकलन गर्दा ४ सय ५३ जना नेपाली रहेको खुलेको थियो । तिनीहरूमध्ये २ वर्षदेखि ३ दिनअघि मात्र पुगेकाहरू पनि थिए । उद्धार गरिएकाहरू सबैलाई एकैसाथ ८ वटा भारतीय बसमा राखेर नेपाल ल्याइएको दिल्ली दूतावासका कन्सुलर एसएसपी मल्लले बताए । नेपालमा नेटवर्किङ व्यवसाय अवैध रहेको र भारतमा वैध रहेकाले नेपालीहरूको एक गिरोह त्यहाँ पुगेर त्यस्तो व्यवसाय सञ्चालन गरिरहेको देखिएको र थप अनुसन्धानबाटै खुल्ने उनले बताए ।
उद्धार कार्यमा खटिएका राजदूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीका अनुसार होस्टलका साँघुरा र अँध्यारा एकै कोठामा १५ जनासम्म राख्ने र सुताउने गरिएको थियो । ‘७ दिनको तालिम दिएपछि ५ देखि १० जनासम्मको समूह विभाजन गर्ने र उनीहरूलाई प्रतिव्यक्ति अर्को ४ जना सदस्य बनाउन दबाब दिने रहेछन्,’ उनले भने, ‘नयाँ सदस्यले थप ४ जना सदस्य बनाउन नसके विभिन्न दबाब दिने, मानसिक यातना दिने र घरपरिवारमा फोन गर्न लगाएर रकम माग गर्ने गरेको पनि पाइयो ।’ सदस्यता विस्तार गर्न पनि नसक्ने र घरबाट रकम मगाउन पनि नसक्नेहरूलाई मानसिक यातना र दबाब दिने गरेको देखिएपछि त्यसलाई आफूहरूले ‘नेटवर्किङ स्क्याम’ का रूपमा लिएर पीडित भएकाहरूको उद्धार गरिएको उनले बताए ।
उद्धार गरिएकामध्ये धेरैजसो सुदूरपश्चिम प्रदेशका कैलाली, बैतडी, कञ्चनपुरलगायत जिल्लाका छन् । त्यस्तै केही लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, दाङ, रोल्पा र केही कोशी प्रदेशका उदयपुर, धनकुटा, तेह्रथुम र इलामका पनि रहेका छन् । उद्धार गरिएकामध्ये ९० प्रतिशत बढी व्यक्ति सुनौली नाका हुँदै कुशीनगर पुगेको र उनीहरूको स्क्रिनिङको काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
उद्धार गरिएकामध्ये बैतडीको पुर्चौडी नगरपालिका–२ स्थायी घर भई कञ्चनपुर बस्दै आएका १९ वर्षीय रोहित पार्कीले आफू चार महिनाअघि साथी सुरेश बोहरामार्फत त्यहाँ पुगेको बताए । ‘म साथी सुरेशले राम्रो कमाइ हुन्छ भनेर बोलाएपछि त्यहाँ गएको थिएँ,’ उनले भने, ‘सुरुमा १० हजार शुल्क तिरेर सदस्य बनेपछि थप २ लाख लगानी गरेर कपडा बिक्री गर्ने काम गर्न थालेको थिएँ ।’
कार्की जस्तै २ महिनाअघि पुगेकी कपिलवस्तुकी २६ वर्षीया एक महिलाले आफ्नो पहिचान खुलाउन मानिनन् । तर, उनले मासिक ५० हजारसम्म कमाउन सकिने भन्ने साथीमार्फत सुनेपछि त्यहाँ पुगेको बताइन् । ‘सुरुमै १५ हजार बुझाएपछि माथिल्लो तह पाइने र मासिक ४० हजार कमाउन सकिने भनेपछि पैसा तिरें,’ उनले भनिन्, ‘तर, थप सदस्य बनाउन नसकेपछि मेरो ४० हजार डुब्यो । फिर्ता माग्दा गाली गर्न र त्यहाँ खान, बस्न लागेको १ लाख र तालिम खर्चको २५ हजार घरबाट मगाउनु भन्न थाले ।’ घरबाट पनि पैसा लैजान नसक्ने भएपछि उनकै फोनबाट आफन्तलाई फोन गर्न लगाउने र जागिर राम्रो भएको र धेरै कमाउन थप लगानी गर्नुपर्ने भन्दै रकम मग्न दबाब दिन थालेपछि आफूले भाग्ने प्रयास गरिरहेकै बेला उद्धार भएको उनले बताइन् ।
