भारतमा मनसुन कमजोर बन्ने थप संकेत, प्रक्षेपणमा विभागले गर्‍यो संशोधन

भारतीय मौसम विभागले एल निनोको सम्भावित प्रभावका कारण मनसुनी वर्षा दीर्घकालीन औसतको ९० प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

जेष्ठ १५, २०८३

फणीन्द्र संगम

Further signs of weakening monsoon in India, department revises forecast

What you should know

काठमाडौँ — भारतमा यस वर्षको मनसुन कमजोर हुने संकेत थप बलियो बनेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै मनसुन वर्षाको प्रक्षेपण घटाएर दीर्घकालीन औसतको ९० प्रतिशतमा झारेको छ ।

विभागले शुक्रबार मनसुनसम्बन्धी दोस्रो प्रक्षेपण सार्वजनिक गरेको हो । अप्रिल १३ मा जारी गरेको प्रक्षेपणमा जुनदेखि सेप्टेम्बरसम्मको दक्षिण–पश्चिम मनसुन अवधिमा ९२ प्रतिशत मात्रै वर्षा हुने अनुमान थियो । विभागका अनुसार चार महिनाको मनसुन अवधिमा ५० वर्षको औसत ८७ सेन्टिमिटर वर्षाको ९६ प्रतिशतदेखि १०४ प्रतिशतसम्मलाई ‘सामान्य वर्षा’ मानिन्छ ।

जुन २०२६ मा भारतका अधिकांश क्षेत्रमा वर्षा सामान्यभन्दा कम हुने सम्भावना अत्यधिक रहेको विभागले जनाएको छ । तर उत्तर–पश्चिम र उत्तर–पूर्व भारतका केही भाग, दक्षिणी प्रायद्वीपका केही स्थान तथा मध्य भारतका केही छिटफुट क्षेत्रमा भने सामान्यदेखि सामान्यभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

भारतको पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले एल निनो विकसित हुने संकेतले मनसुन कमजोर पार्न सक्ने बताएका छन् । विभागका अनुसार हाल भूमध्यरेखीय प्रशान्त महासागर क्षेत्रमा तटस्थ अवस्थामा रहेको ईएनएसओ अवस्था विस्तारै एल निनो चरणतर्फ उन्मुख भइरहेको छ । पछिल्ला जलवायु मोडलहरूले दक्षिण–पश्चिम मनसुन अवधिमा एल निनो विकसित हुने सम्भावना देखाएका छन् । एल निनो विकसित हुँदा मध्य तथा पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुन्छ ।  

मनसुन कमजोर हुने संकेतसँगै तापक्रम पनि सामान्यभन्दा माथि रहने अनुमान विभागको छ । जुनमा भारतका अधिकांश क्षेत्रमा अधिकतम तापक्रम सामान्यभन्दा बढी रहनेछ । उत्तर प्रदेश, हरियाणा, पञ्जाब, बिहार, ओडिसा, छत्तिसगढ, गुजरात र आन्ध्र प्रदेशलगायत क्षेत्रमा अत्यधिक गर्मी र लु लाग्ने दिन बढ्न सक्ने चेतावनी दिइएको छ । 

विभागले भारतमा मनसुन मे २६ मा केरलाबाट भित्रने अनुमान गरेको थियो । तर पछिल्लो अवस्थाले मनसुन आगमन केही ढिला हुने संकेत देखाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्डमान निकोबार र दक्षिण बंगालको खाडीको अधिकांश हिस्सामा मनसुन भित्रिइसके पनि त्यहाँबाट माथि उक्लिन सकेको छैन । दक्षिणपश्चिम मनसुनले सबैभन्दा पहिले केरलामा वर्षा गराउँछ र त्यसपछि उत्तरतर्फ अन्य राज्यमा यो विस्तार हुन्छ । यसले भारतको वार्षिक वर्षाको करिब ७० प्रतिशत पानी पार्ने गरेको छ ।

केरलासहितका १४ वटा मौसम केन्द्रमध्ये कम्तीमा ६० प्रतिशत केन्द्रमा लगातार दुई दिनसम्म २.५ मिलिमिटर वा सोभन्दा बढी वर्षा हुनुपर्छ । करिब ४.५ किलोमिटर उचाइमा बहने पश्चिमी वायुको गति २८ देखि ३७ किलोमिटर प्रतिघण्टासम्म बलियो हुनुपर्नेछ । अहिलेसम्म यीमध्ये कुनै पनि मापदण्ड पूरा नभएकाले मनसुन अझै पूर्ण रूपमा प्रवेश गरिनसकेको विभागको भनाइ छ ।

भारतीय मौसम विभागका महानिर्देशक मृत्युन्जय महापात्रले दक्षिण–पश्चिम मनसुन अरब सागर र बंगालको खाडीका केही भागमा थप फैलिने अपेक्षा गरिएकाले सात दिनभित्र भारतमा मनसुन भित्रने बताएका छन् । सामान्यता भारतमा दक्षिणी राज्य केरलाबाट जुन १ मा मनसुन भित्रने गर्छ । 

नेपालमा पनि मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम पनि बढ्ने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । नेपालमा मनसुन जुन १३ (जेठ चौथो साता) भित्रिएर अक्टोबर २ (असोज तेस्रो साता) बाहिरिने गर्छ । 

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Link copied successfully