यस वर्षको मनसुन : सरदरभन्दा बढी पानी पर्ने मौसम विभागको प्रक्षेपण

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

This year's Monsoon: Meteorological department predicts more rain than Sardar

काठमाडौँ — यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले बुधबार सार्वजानिक गरेको मनसुन प्रक्षेपणअनुसार हाल प्रि–मनसुन सक्रिय रहिरहेको अवस्थामा मनसुन प्रवेश हुनेबारे भने यकिन गरिएको छैन ।

मौसम पुर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालका अनुसार सामान्यतयाः मनसुन जुन १३ मा पूर्वी नेपालबाट प्रवेश भएर अक्टोबर २ मा पश्चिम नेपाल हुँदै बाहिरिन्छ । यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बीनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । 

सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर पूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । 

विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आकलन र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा अनुमान गरेको जारी प्रक्षेपणमा भनिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी कार्ययोजनामा उल्लेख गरिएअनुसार वर्षभरि पर्ने कुल देशभर वार्षिक रुपमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुने गरेको छ । 

This year's Monsoon: Meteorological department predicts more rain than Sardar

यसैगरी अधिकतम् तापक्रम र न्यूनतम तापक्रमसमेत देशैभरि सरदरभन्दा बढी रहने सम्भावना छ । सुदूरपश्चिमको उत्तर पूर्व भूभाग, कर्णालीको उत्तरी भूभाग, लुम्बीनीको उत्तरी भूभाग, गण्डकीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भूभाग र बागमतीको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम् तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । 

मधेशको पूर्वी भूभाग र गण्डकीको मध्य भूभागमा सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भूभागमा अधिकतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । 

कर्णाली र बागमतीका अधिकांश भूभाग, लुम्बीनीको मध्य भूभाग, मधेको पश्चिमी भूभाग, कोशीको तराई भूभागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

कान्तिपुर

Link copied successfully