परिवारको खर्च चलाउने जिम्मेवारीका कारण ४० डिग्री नाघेको भुंग्रोमै दिनहुा काममा व्यस्त हुने सर्वसाधारण थुप्रै छन् ।
What you should know
कञ्चनपुर, बर्दिया, राजविराज र परासी — केही दिनयता अत्यधिक गर्मीले तराईको जनजीवन उकुसमुकुस छ । पूर्वको तुलनामा पश्चिमी क्षेत्रमा दिउँसो चल्ने तातो हावा (लु) का कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको दैनिकी कष्टकर बनेको छ । गर्मीका कारण केही स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् भने केहीले बिहानैदेखि कक्षा सञ्चालन गरिरहेका छन् ।
खपिनसक्नु गर्मीमा अत्यावश्यकबाहेक सर्वसाधारण घर बाहिर निस्कन छाडेका छन् । बजार दिउँसो सुनसान हुन्छन् । केही भने परिवारको खर्च चलाउने जिम्मेवारीका कारण ४० डिग्री नाघेको भुंग्रोमै दिनहुँ काममा व्यस्त हुन्छन् । गर्मीले कामै नपाइने र पाइएको काम गर्न नसकिने अवस्थाले दिनभर काम गरेर छाक टार्ने परिवारमा चुलो बाल्नै सकस भइरहेको छ ।
‘गर्मीले काम नपाउँदा तरकारी किन्ने पैसा पनि उठ्दैन’
मध्य जेठको दिउँसो ४० डिग्री आसपास तापक्रममा ६७ वर्षीय गोपाल दमाई पाइडलवाला रिक्सा चलाउँदै कञ्चनपुरको महेन्द्रनगरका गल्लीमा कामको खोजी गरिरहेका हुन्छन् । ४० वर्षदेखि रिक्सामा सामान बोक्दै आएका उनलाई काम पाउनै मुस्किल छ । त्यसैमाथि गर्मीले काम पाउँदा पनि गर्न नसकिने अवस्था छ । बुढ्यौलीले धेरै काम गर्न धौ हुने बेला गर्मीले समस्या थपेको छ । ‘साँझबिहान मात्रै काम गर्ने हो, दिउँसो त सकिँदैन,’ उनले भने, ‘कुनै दिन त सय रुपैयाँ कमाइ हुँदैन, उधारोमा तरकारी खानुपर्छ ।’ जेठमा रिक्सामा सामान बोकेर सबैभन्दा बढी एक दिनमा २ सय रुपैयाँ मात्रै कमाउन सकेको बताए ।
अहिले बजार आसपास क्षेत्रमा सामान ढुवानी गर्छन् । डेरा सार्नेको र टेन्ट हाउसका सामान बोक्छन् । यसैको कमाइले परिवारको खर्च चल्छ । भारी बोक्न मौसम र उमेरले साथ नदिने उनले सुनाए । ‘सरिया, सिमेन्ट बोक्न सकिँदैन, गर्मीमा तातेर पिठ्युँ पोल्छ, अहिले भारी सामान उठाउन सकिँदैन,’ दमाईले भने, ‘घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।’
परिवारको खर्च चलाउने जिम्मेवारीका कारण ४० डिग्री नाघेको भुंग्रोमै दिनहुा काममा व्यस्त हुने सर्वसाधारण थुप्रै छन् । बिहान ७ बजे निस्किएर बजार डुलेपछि साँझ ७ बजे नै घर फर्किन्छन् । दिउँसो छहारी खोजेर ठेलामै विश्राम गर्छन् । कहिलेकाहीं रित्तो हात घर फर्किनुपर्ने उनले सुनाए । बजारमा चहलपहल कम छ । दिउँसो हिँडडुल गर्ने कम हुन्छन् । चहलपहल नभएपछि सामान ओसार्ने काम पाइँदैन । श्रीमती लालु रक्तचाप र मधुमेहकी बिरामी छन् । उनलाई नियमित औषधि चाहिन्छ । घरमा आवश्यक खाद्यान्नदेखि तरकारी किनेर खानुपर्छ । त्यसैले बुढेसकालमा पनि सकिनसकी रिक्सा गुडाइरहेका छन् ।
बिजुली र पेट्रोलबाट चल्ने अटोरिक्सा आएपछि पाइडलवालाको काम घटेको छ । उनको जस्तो रिक्सा चलाउने महेन्द्रनगरभरि एक/दुई जना छन् । पुर्ख्यौली घर डोटी भएको मात्र थाहा छ । उनका बुवा तेजी सानैमा भारत उत्तराखण्डको हल्द्वानी गए । गोपाल त्यहीं जन्मिए । २०४३ सालमा महेन्द्रनगर आएर सालघारीको सुकुमवासी बस्तीमा छाप्रो बनाए । लगत्तै रिक्सा चलाउन थालेका उनको छाप्रोमै बास छ । सुरुमा दुई पांग्रावाला ठेलागाडा चलाउँथे । महेन्द्रनगरबाट ८/१० किलोमिटरसम्म सामान ओसार्थे । खर्च राम्रै चलेको थियो । चार छोराछोरीको पढाइ गरे । छोरीको विवाह भयो । छोराहरू भारततिर पसे ।
अहिले छोराले हेर्नै छाडेपछि बुढेसकालको सहारा त्यही ठेला बनेको छ । छोराहरू घर नआउने उनले बताए । दुई पांग्रे ठेलालाई मर्मत गरेर तीनपांग्रे पाइडलबाट चलाउन सकिने रिक्सा बनाएका छन् । पछिल्लो समय टेन्ट हासउको सामान ढुवानीको काम गर्थे । अहिले विवाहको सिजन नभएकाले काम पाउन गाह्रो भएको हो । डेरा सार्ने काम फाटफुट मिल्छ । काम पाउने आसमा गर्मीमा समेत सडकमा रिक्सा धकेलिरहेका हुन्छन् । ‘बुढेसकालमा ठेला कसरी चलाउने,’ उनले भने, ‘श्रीमतीको औषधिका लागि पनि सकिनसकी काम गर्नुपरेको छ ।’ राम्रो काम पाएका दिन ५/७ सयसम्म आम्दानी हुने उनी बताउँछन् ।
‘गर्मीले आधाभन्दा बढी व्यापार घट्यो’
बर्दियाको गुलरिया–६ की ३७ वर्षीया पूजा भुजुवा मालपोत कार्यालय नजिक सडक किनारमा मकै पोलेर बिक्री गर्न व्यस्त हुन्छिन् । ठेलाको ओत लागेर बिहानदेखि साँझसम्म मकै व्यापार गर्छिन् । सडकबाट निस्किने रापले खुट्टा पोल्छ । ४० डिग्री तापक्रमले टाउको दुख्छ । यस्तो हपहपीमा पनि दाउरा बालेर मकै पोल्नुपरेको छ । जसरी हुन्छ दुई/चार पैसा कमाएर घर खर्च जुटाउने चिन्ता छ ।
पूजाका श्रीमान् बितेको पनि दुई वर्ष भयो । साना दुई छोरा छन् । श्रीमान् हुँदैदेखि ठेलामा सिजनअनुसारको व्यापार गर्दै आएकी थिइन् । श्रीमान् हुँदा सहारा मिल्थ्यो । बर्खाको बेला तरकारी र सागसब्जी बेच्छिन् । हिउँदमा बदाम बिक्री गर्छिन् । आजभोलि हरिया मकैको सिजन भएकाले घरधन्दा भ्याएर ठेला गुडाउँदै मालपोत कार्यालयनजिक मकै बेच्न पुग्छिन् । उनले बिहान खाना पकाउने बेलासम्म छोराले खेतबाट मकै किनेर ल्याउँछन् । ‘वैशाखसम्म राम्रै व्यापार थियो,’ उनले भनिन्, ‘जेठ लागेपछि गर्मी बढेर मानिसको हिँडडुल घट्यो, अनि हाम्रो व्यापार पनि कम भयो ।’
पहिले दिनभर एक सयभन्दा बढी घोगा बिक्री हुन्थ्यो । आजभोलि त दिनमा ४० वटा बिक्न मुस्किल भइरहेको उनले सुनाइन् । एउटा घोगाको साइजअनुसार १५/२० रुपैयाँ पर्छ । कोइला किन्नुपर्छ । एक टिन कोइलाको १ सय ५० तिर्नुपर्छ । सडकमा ठेला राखेर व्यापार गरेबापत नगरपालिकालाई दैनिक २० तिर्नुपर्छ । ‘गर्मी त धेरै छ, दिउँसोको घाममा कोइलामा मकै पोल्न सहज त छैन,’ उनले भनिन्, ‘केही नगरी बालबच्चा कसरी पाल्नु, दिनभरि आगो अगाडि बसेर मकै पोलेर बेच्दा साँझ तीन/चार सय आम्दानी हुने गरेको उनले सुनाइन् । गाउँकै सहकारी संस्थाबाट ५ लाख ऋण लिएकी छन् । महिनाको १२ हजार रुपैयाँ किस्ता बुझाउनुपर्छ । व्यापार घट्दा किस्ता तिर्न समस्या भइरहेको उनले सुनाइन् । मौसम असहज हुँदा आम्दानीको विकल्प नभएका आफू जस्तालाई सरकारले सहुलियत दिनुपर्ने उनले बताइन् ।
‘गुजाराकै लागि दैनिक १५ किलोमिटर ठेला गुडाउँछु’
गर्मीयाममा कामै नपाइने र पाइएको काम गर्न नसकिने अवस्थाले दिनभर काम गरेर छाक टार्ने परिवारमा चुलो बाल्नै सकस भइरहेको छ ।बर्दियाको गुलरिया–७ का २५ वर्षीय मकबुल मियाँ (काले दाइ) खर्च जुटाउने चिन्ताले आरामसित निदाउँदैनन् । बिहान ठेलामा सामान राखेर चटपटे बेच्न घरबाट निस्कन्छन् । गर्मीका कारण गुलरिया नगरपालिकाअन्तर्गतका विद्यालय बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गरिएको छ । त्यही भएर काले दाइ चटपटे बेच्न सबेरै विद्यालय अगाडि पुग्छन् ।
गर्मी चर्किनुअघि १० देखि ४ बजेसम्म विद्यालय सञ्चालन भइरहेका थिए । विद्यार्थीले दिउँसो चटपटे खान्थे । व्यापार हुन्थ्यो । तर, बिहानी कक्षा सुरु भएयता खाजा खान विद्यार्थी बाहिर आउँदैनन् । ११ बजेसम्म घाम चर्किएपछि विद्यार्थीलाई घर फर्किन हतार भइसक्छ । विद्यालय छुट्टी भएपछि ठेला गुडाउँदै उनी खाना खान घर जान्छन् । ‘चरा उड्न छाड्ने चर्को गर्मीमा आराम गर्ने इच्छा कसलाई लाग्दैन होला,’ उनले भने, ‘आराम गरेर गुजारा चल्दैन । ठेला गुडाएर गाउँगाउँमा चटपटे बेच्नुपर्छ ।’
गुलरिया गाउँ, चौगुर्जी, गुलरिया बजार, तुलापुर, कोठिया, सुहेलवा, आशापुरलगायत आसपासका गाउँमा चटपटे बेच्न जाने गरेको उनले बताए । ‘पहिला गर्मी कम हुँदा टाढासम्म चटपटे बेच्न पुग्थे,’ उनले भने, ‘१०/१५ दिनयता ठेला धकेलेर टाढासम्म जान सकिँदैन ।’ ५ वर्षदेखि चटपटे बेच्न दैनिक १० किलोमिटर ठेला गुडाएर हिँड्ने गरेको उनले सुनाए । त्यसअघि भारतको दिल्लीमा होटलमा काम गर्थे । १२ वर्ष भारतमा बसेर फर्किएका उनको चार जनाको परिवार छ । श्रीमती र वृद्धावस्थाका बुबाआमा छन् ।
चटपटे बेचेर बुबाआमाको हेरचाह पनि गरिरहेको उनले बताए । ‘बुबा दमको बिरामी हुनुहुन्छ, औषधिमा पनि धेरै खर्च हुन्छ,’ उनले भने, ‘खर्च धान्न गर्मी, चिसो भनेर काम नगरी चल्दैन ।’ सम्पत्तिका नाममा टिनको छाप्रोबाहेक केही छैन । मुस्किलले तीन/चार सय रुपैयाँ कमाइ भइरहेको उनले बताए । टाढासम्म पुग्न सके दैनिक ६/७ सय कमाइ हुने गरे पनि गर्मीले दिउँसो लगातार हिँड्न सकस हुने उनले सुनाए ।
‘बगरमा तातेका ढुंगा बोकेर तारजाली भर्नुपरेको छ’
आँखा नखुम्च्याई आकाशतर्फ हेर्न सकिँदैन । बिहान ९ नबज्दै पसिना बग्न थाल्छ । यस्तो बेला पनि काम र मामको खोजीमा भारतबाट सप्तरी आइपुगेका मजदुर नियमित काममा खटिरहेका देखिन्छन् । घामले तातेका ढुंगा उठाएर ग्याबिन जालीमा भर्ने (बोल्डर क्रेटिङ) काम गरिरहेका छन् । बिहारको सुपौलस्थित समदा र गनौंरा गाउँबाट एक साताअघि उनीहरू मजदुरी गर्न यहाँ आएका हुन् । तिलाठी कोइलाडी–१ स्थित खाँडो नदीको पश्चिमी बाँधमा मंगलबार दिउँसो पसिना पुछ्दै ‘बोल्डर क्रेटिङ’को काम गरिरहेका थिए ।
‘घाम सहन नसक्ने अवस्था छ । तर घाम–गर्मी हेर्ने हो भन्ने हाम्रा बालबच्चा भोकै रहने हो,’ गनौंराका २८ वर्षीय श्यामकुमार मुखियाले भने, ‘हिजो (सोमबार) सम्म तातो हावा चलेर अझ हैरान पारेको थियो ।’ राति हावाहुरीले राहत भए पनि मंगलबार फेरि गर्मी चर्कियो । काम गर्ने बेला हात पोल्न थालेपछि ५/७ मिनेट छहारीमा बिसाउँछन् । ‘हाम्रो गाउँ र आसपास नियमित काम पाइँदैन । यहाँ असारसम्म सजिलै काम पाइने भएकाले आइपुगेका हौं,’ उनले भने, ‘यहाँ दुःख गरेर फर्किंदा ४/५ महिना परिवारको गुजारा चल्छ । त्यसैले गर्मी सहेर पनि काम गर्नुपरेको छ ।’
गाउँमा थोरै जमिन रहेका मुखियाका ४ सन्तान पढिरहेका छन् । श्रीमतीसहित ६ जनाको गुजारा चलाउन यहाँ आएका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकाले मैले पढ्न पाइनँ, तर छोराछोरीलाई माथिसम्म पढाउने सपना छ,’ उनले थपे, ‘जति चर्को घाम भए पनि मैले मजदुरी गर्नैपर्छ । एक जना बिरामी परेर घर फर्किसके, मलाई पनि बिरामी भइहाल्छु कि भन्ने पीर भइरहन्छ ।’
समदाका ५८ वर्षीय अक्ष्यलाल मुखियाको पनि यस्तै बाध्यता छ । आफ्नो मात्र ज्यालाले घर खर्च नधान्ने भएकाले छोरा धिरेन्द्रकुमारलाई पनि साथै ल्याएका छन् । ‘बूढाबूढी, छोराबुहारी, नातिनातिनी एकैसाथ भएकाले मेरो ज्यालाले मात्रै खर्च पुर्याउन गाह्रो हुन्छ,’ अक्ष्यलालले भने, ‘त्यसैले परिवार पाल्न बाबुछोराले घाममा मजदुरी गर्नुपरेको छ ।’ दिनभरि घाममा काम गर्दा बिहान उठ्न समस्या हुने गरेको उनले बताए । ‘दिनभरिको थकानले बिहान उज्यालो भइसकेको पनि थाहै पाउँदिनँ,’ उनले भने, ‘हामी जस्ताको पीडा कसले बुझिदिने ।’
५८ वर्ष पार गर्न लाग्दासम्म चैनले निदाएको रात याद नभएको उनले बताए । ढुंगा भर्ने काम गर्दा हात–खुट्टा च्यापिने र तारजालीले काटिने गरेको सुनाए । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजविराजले गराइरहेको खाँडो नदी व्यवस्थापनको काममा खटिएका मजदुर पनि निर्माण कम्पनीले बनाइदिएको टहरमा बस्दै आएका छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मजदुरी गर्दा ८ सय रुपैयाँ (५ सय भारु) ज्याला पाउँछन् ।
‘गुजाराका लागि गर्मी सहने बानी परिसक्यो’
मंगलबार दिउँसो साढे २ बजे चर्को घाम र तातो हावाले पश्चिम नवलपरासीको सदरमुकाममा चहलपहल कम थियो । सडकको राप सहेर रामग्राम नगरपालिका–१२ का ४५ वर्षीय अटो रिक्सा चालक रमेशकुमार चौधरी आदर्श सहकारी संस्थाको कार्यालय अगाडि यात्रु कुरिरहेका थिए । पसिनाले भिजेका उनी सहकारीमा मल लिन आउने किसानको प्रतीक्षामा थिए । ‘गर्मी भनेर भएन, आफ्नो काम गर्नैपर्यो,’ उनले भने, ‘खर्च चलाउन गर्मी भए पनि काममा निस्कनुपर्छ ।’
बिहानको ६ बजे अटो रिक्सा लिएर घरबाट निस्किन्छन् । त्यसपछि सडक डुल्दै यात्रु खोज्छन् । गर्मी होस् वा वर्षा उनी यसरी खटिन्छन् । ‘गर्मी भनेर घर बसियो भने बेलुका घर खर्च कसले दिन्छ,’ उनले भने, ‘तातो सहेर रिक्सा चलाउनु रहर होइन बाध्यता हो ।’ केही वर्षअघि इँटा उद्योगमा काम गर्दा भएको आम्दानी बचत गरेर पुरानो अटो रिक्सा किनेको उनले सुनाए । इँटा कारखानामा दिनभरि घामपानी नभनी काम गर्दा पनि परिवार धान्न धौ भएपछि अटो रिक्सा किनेर गुजारा चलाउने निधो गरेको उनले सुनाए ।
गर्मीको मौसम चुनौतीपूर्ण हुन्छन् । चर्को घाममा अटोको छत तातेर झन् असिनपसिन बनाउने उनले बताए । उनका दुई छोरा छन् । जेठा छोरा भारतको दिल्लीमा काम गर्न गएका छन् । त्यहाँ निर्माण क्षेत्रमा काम गरेर केही रकम पठाउँछन् । कान्छा छोरा चालकको काम गर्छन् । खाना खान पनि समय निकाल्नुपर्छ । दैनिक १ हजारदेखि १५ सयसम्म कमाउँछन् । अटो रिक्सो ममत, इन्धन र घर खर्च कटाएर महिनामा २० देखि २५ हजार बचत गर्छन् । ‘गर्मीमा केही समय काम गर्न असहज भए पनि अरू बेला सहज हुन्छ,’ उनले भने, ‘मजदुरी गर्ने, निर्माण सामग्रीमा काम गर्ने र सडक व्यापार गर्नेलाई गर्मीले अत्याउने गरेको छ । उनीहरूको दुःख देखेर मेरै दुःख सानो सम्झन्छु ।’
