मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं वीरगन्जको होटलबाट सोमबार पक्राउ परेका हुन् ।
काठमाडौं, पर्सा — मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
सोमबार राति करिब ९ बजेतिर उनलाई वीरगन्जको आदर्शनगरस्थित दियालो होटलबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिए । उनी उपर अफवाह फैल्याएको आरोप छ । ‘गलत अफवाह फैल्याएको आरोपमा प्रसाइलाई नियन्त्रणमा लिएका हौं,’ एसपी पाठकले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्जसम्म आइपुगेका प्रसाईंलाई उनका समर्थकले विमानस्थलदेखि वीरगन्जसम्म स्वागत गरेर ल्याएका थिए । वीरगन्ज आएर केही स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रसाईंले 'संसदीय चुनावमा भोट नहाल्नुहोस्' भनेर चुनावअघि आफू वीरगन्ज आउन खोज्दा त्यतिबेला काठमाडौंको चाल्नाखेलबाट आफूलाई प्रहरीले पक्राउ गरेको बताएका थिए । दोस्रोपटक पनि प्रहरीले आफूलाई वीरगन्ज आउन नदिएको, तर यस पटक वीरगन्ज आउन सफल भएको उनले बताएका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहले मधेशीको छोरो भएपनि मधेश लगायत देशका अधिकांश सहर भत्काएर जनतालाई दुःख दिएको पनि उनले आरोप लगाएका थिए । वीरगन्ज पनि राति घोषणा गरेर बिहान उज्यालो हुन नपाउँदै भत्काएको आरोप लगाउँदै उनले नेपाली नागरिकलाई आपत् परेको बेला साथ दिनुपर्छ भन्ने सोचले आफू वीरगन्ज आइपुगेको बताएका थिए । यतिबेला सदनमा प्रतिपक्षको भूमिका खेल्न एमाले, कांग्रेस, राप्रपा लगायतका दल असफल भइरहेको अवस्थामा आफू प्रतिपक्षीको भूमिका खेली रहेको पनि उनको भनाइ थियो ।
जनताले कांग्रेस, माओवादी र एमालेको रिसले घण्टीलाई भोट दिएको बताउँदै उनले सरकारले केपी ओली, प्रचण्ड, शेरबहादुर र राप्रपाको रिस जनतामा पोखिरहेको आरोप पनि लगाएका थिए ।
मंगलबार वीरगन्जस्थित शक्तिपिठ गहवामाई माताको दर्शन गर्ने र वीरगन्जबासीको पीडा बुझ्ने आफ्नो कार्यक्रम रहेको उनले बताएका थिए । वीरगन्जको जनताको साथ पाए आफू वीरगन्जमा सडक विस्तारको नाममा पीडित भएका स्थानीयको पक्षमा लडने पनि उनले बताएका थिए । सदनमा प्रतिपक्ष नभएको आरोप लगाउँदै उनले आफ्नो पछाडि सर्वहारा, सुकुम्बासीको अपार भीड र समर्थन रहेको पनि दाबी गरेका थिए । सनातन हिन्दु अधिराज्य कायम नगरेसम्म आफू चुप लागेर नबस्ने उनले बताएका थिए ।
प्रसाईंको गिरफ्तारीको विरोधमा उनका समर्थकहरुले होटेल बाहिर केहीबेर नाराबाजी समेत गरेका थिए ।
पछिल्लो समय उनी निर्वाचनसम्बन्धी कसुरमा पटक पटक पक्राउ परेका थिए । गत २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बन्द आह्वान गरेपछि निर्वाचन आयोगको अनुरोधमा प्रहरीले उनलाई निर्वाचनको केही दिनअघि पक्राउ गरेर छोडेको थियो ।
प्रसाईं विवादास्पद अभिव्यक्तिका आधारमा २०७६ सालदेखि अहिलेसम्म कम्तिमा १० पटक पक्राउ परिसकेका छन् । उनी हरेकपटक अदालतबाट छुट्ने पनि गरेका छन् ।
