पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले गर्‍यो इन्कार

सम्बद्ध कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ ।

वैशाख २३, २०८३

मातृका दाहाल

Interpol refuses to issue red notice against former Prime Minister Deuba couple

काठमाडौँ — इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ ।

देउवा दम्पतीविरुद्ध सम्बद्ध  कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो । देउवा दम्पती हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरणहरू सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।

२४ भदौको जेन–जी आन्दोलनमा निवासमा आक्रमणमा परेका दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यहाँबाट फर्केपछि पुनः देउवा त्रिभुवन विमानस्थलबाट सिंगापुर गएका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो ।

सुरक्षा स्रोतका अनुसार इन्टरपोलले देउवा दम्पतीविरुद्धको सम्बन्धित कसुर कुन हो ? कुन-कुन कसुरमा अनुसन्धान भइरहेको छ ? अनुसन्धान कुन अवस्थामा पुगेको छ भन्ने विषय उठाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतले रेड नोटिस जारी गर्न पठाइएको पत्र नोटिस जारी नभई फिर्ता आएको पुष्टि गर्‍यो ।

सम्बन्धित अन्य समाचार

देउवा दम्पतीका ती ८ घन्टा

राजनीतिक जीवनको अन्त्यमा सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर फौजदारी अभियोगमा देउवा

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully