सुकुमवासी बस्तीबाट विस्थापित भएपछि आमा र शिशुको खानपान तालिका नै बिग्रिएको गुनासो, पोसिलो खानेकुरा चाहिने बेला माछामासु, अन्डा पनि खान नपाइने ठाउँमा सेल्टर।
काठमाडौँ — विस्थापित सुकुमवासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरको एउटा कुनामा नवजात शिशुलाई स्तनपान गराउँदै थिइन् ३५ वर्षीया सविना नेपाली । गत शनिबार उनी चारमहिने छोरी काखी च्यापेर यहाँ आइपुगेकी हुन् ।
मंगलबारको पानीले यहाँ बसेका धेरै विस्थापितको ओछ्यान भिजेपछि उनीहरूलाई टेन्ट दिइएको रहेछ । त्यही टेन्टको एकछेउमा उनी थिइन् । छेवैमा थियो, लत्ताकपडा कोचिएको जेब्रा झोला, बेबी वाइप्स अनि पानी तताउने विद्युतीय जग । उनले होल्डिङ सेन्टरमा बस्दाको हैरानी एकै सासमा सुनाइन्, ‘घरमा जे खान मन लाग्यो त्यही खाइन्थ्यो । यहाँ बिहान चिया बिस्कुट दिन्छन् । अरूलाई जे पकाएको छ, त्यही खान परेको छ ।’
सुकुमवासी बस्तीबाट विस्थापित भएपछि आमा र शिशुको खानपान तालिका नै बिग्रिएको गुनासो, पोसिलो खानेकुरा चाहिने बेला माछामासु, अन्डा पनि खान नपाइने ठाउँमा सेल्टर।विस्थापित हुनुअघिसम्म चारमहिने छोरीलाई आफ्नो समय अनुकूल खुवाउन सजिलो भएको तर होल्डिङ सेन्टर आएपछि खानपानको तालिका नमिलेको उनले सुनाइन् । भनिन्, ‘दूध खासै आउँदैन । घरमा हुँदा लिटो पकाएर खुवाउने गरेकी थिएँ । यहाँ त्यसरी कसरी खुवाउन सक्नु ? तातोपानीमा स्यार्लेक्स घोलेर खुवाउने गरेकी छु ।’
शनिबार होल्डिङ सेन्टर आएकी उनले सुरुमा चार दिन टेन्टबिना नै सुत्नुपरेको र चारमहिने छोरी राति बारम्बार रुने गरेकाले आफूलाई र छेउछाउका अरूलाई सुत्न अप्ठ्यारो परेको सुनाइन् । ‘आज बिहान टेन्ट पाइयो,’ उनले भनिन्, ‘हिजो–अस्ति त लामखुट्टेले पनि बेस्सरी सतायो । छोरीको मुखैभरि, ज्यानैभरि टोकेर बस्नखान गरेन । लामखुट्टेले सतायो भनेपछि अस्ति झुल पाएँ ।’ सविनाको अनुभवले विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राख्नुअघि सरकारी तयारी के कस्तो रहेछ भनेर बुझाउँछ ।
सुरुका दिनमा त्यहाँ ल्याइएका धेरै विस्थापितहरूले भनेको समयमा तातोपानी पनि खान नपाएको समस्या सुनाएका थिए । सविना जस्ता स–साना बाबुनानी स्याहारिरहेका र बिरामीले भनेका बेला तातोपानी खान नपाएको गुनासो सुनाएका थिए । विस्थापित सुकुमवासीले आफ्ना समस्या साझा गर्न बनाइएको एक म्यासेन्जर ग्रुपमा आएको एउटा अडियो कान्तिपुरले प्राप्त गरेको थियो । जसमा ८/१० महिनाकी एक शिशुकी आमाले भनेकी छन्, ‘यहाँ दूध पाउडर वा लिटो पाइन्न । तातोपानी तताउने व्यवस्था पनि छैन । दूधले बच्चालाई पुग्दैन । सुरुको २/३ दिन त मैले कति अनुरोध गर्दा पनि दिनमा एक पटक मात्रै लिटो पकाउन सकें ।’
सविना जस्तै दुधे बच्चा हुर्काइरहेका आमाहरू राधास्वामी सत्संग केन्द्रभित्र माछामासु खाना नपाइने नियमको मारमा पनि परेका छन् । कान्तिपुरलाई प्राप्त अडियोमा एक महिलाले भनेकी छन्, ‘यहाँ माछामासु त के अन्डा पनि खान पाइँदैन । स–साना बाबुनानीसहित होल्डिङ सेन्टरमा पुगेका सविनाजस्ता अरू महिलाको अनुभव समान छ । उनीहरूले बच्चाहरू राति रुने, बारबेरा नभएकाले एक ठाउँको हल्ला सजिलै अन्त पुग्ने जस्ता समस्या सुनाए । २१ र १६ वर्षका अन्य दुई छोरासहित त्यहाँ बसिरहेकी सविनाले भनिन्, ‘आफ्नो घर जस्तो झुपडी भए पनि आफ्नै हो रहेछ । बच्चालाई पनि यो कुरा थाहा हुँदो रहेछ । त्यहाँ मान्छेको होहल्लाले छोरी बेलुकाभर रुन्छिन् ।’
सविनाका श्रीमान् बनस्थलीको एक गार्मेन्ट कारखानामा काम गर्छन् । साताको एक दिन बिदामा उनी सिनामंगलस्थित सुकुमवासी बस्तीमा आउने गर्थे । श्रीमान्को एक्लो कमाइले मात्रै घरखर्च नधान्ने भएकाले सविना छोरी दुई महिना भएदेखि नै एक जनाको घरमा काम गर्न जान्थिन् । तर विस्थापित भएर कीर्तिपुर पुगेपछि उनको यही काम पनि टुटेको छ । ‘मैले दिउँसो केही समय एउटा घरमा काम गरेर कमाएको पैसाले पनि घरखर्चमा राहत भएको थियो,’ उनले भनिन्, ‘दिउँसो काम गरे पनि बेलुका ज्वानोको झोल नै खाए पनि, मासु या जे खाए पनि पकाएर आफ्नै घरमा खान्थें ।’ १९ वर्षदेखि बसेको घर भत्किँदाको चोट एकातिर र चारमहिने छोरी लिएर होल्डिङ सेन्टरमा बस्नुपर्दाको दुःख अर्कोतिर । उनले सुनाइन्, ‘आफ्नै घर त रहेन । अरू सामान रोडमा राख्न किन ल्याउनु भनेर खाट, दराज सबै त्यहीं छोडिदिएँ ।’
महानगरीय प्रहरी प्रमुख विष्णु जोशीले आफूहरूले सहयोगी भूमिका नै निर्वाह गरिरहेको दाबी गरे । उनले भने, ‘राधास्वामीमा रहेकाहरूको व्यवस्थापनमा हामीले सहयोगी भूमिका निर्वाह गरिरहेका छौं । केन्द्रले भोजनको व्यवस्थापन मिलाइरहेको छ ।’ उनले त्यहाँ रहेका ४८ जना महिला तथा बालबालिकामध्ये दुई गर्भवती महिलालाई अस्पताल पठाउने र बालबालिकाको शिक्षादीक्षाका लागि पहल भइरहेको बताए । भने, ‘ उनीहरूको दीर्घकालीन पुनःस्थापनाका लागि सरकार र सहरी विकास मन्त्रालयले योजना ल्याउन बाँकी रहे तापनि हामीले स्थानीयस्तरमा व्यवस्थापनलाई सहज बनाइरहेका छौं ।’
सरकारले विस्थापितहरूलाई होल्डिङ सेन्टरका अलावा केही होटलमा पनि ल्याएर राखेको छ । तर त्यहाँ पनि दुधे शिशुसहित बसेकाहरूलाई अप्ठ्यारो उस्तै छ । सरकारले विस्थापितहरूलाई होल्डिङ सेन्टरका अलावा केही होटलमा पनि ल्याएर राखेको छ । तर त्यहाँ पनि दुधे शिशुसहित बसेकाहरूलाई अप्ठ्यारो उस्तै छ । २७ वर्षीया आस्मा स्याबा ७ महिने छोरासहित मनोहरास्थित सुकुमवासी बस्तीबाट विस्थापित भएर शनिबार नयाँ बसपार्क छेउको एक लजमा आइपुगिन् । उनी बुधबार दिउँसोतिर ५ वर्षकी जेठी छोरी र सातमहिने छोरा लिएर नयाँ बसपार्कको छेउछाउमा डुलिरहेकी थिइन् । उनले होटलमा सबैका लागि जे पाक्छ त्यही खाइरहेको बताइन् । ‘जे दिनुभएको छ । त्यही खाने गरेकी छु । हामीले जे खायो त्यही बच्चाले पाउने हो,’ उनले भनिन्, ‘के गर्नॅ म सुत्केरी हो, मलाई फरक खाना दिनु भन्ने कुरा भएन । जे सबैका लागि पाकेको छ । त्यही मेरो भागमा पर्छ ।’
सुकुमवासी बस्ती भए पनि आस्मा डेरा भाडामा बस्थिन् । एक वर्षअघि वार्षिक ३० हजार तिर्ने गरी उनका श्रीमान्ले टहरा भाडामा लिएका थिए । गर्भवती श्रीमती र सानो छोरा छाडेर अनि भएको पुरानो स्कुटर र जोगाएको केही सुन बेचेर श्रीमान् कमाउन कुवेत गएको उनले बताइन् । आस्मा शनिबार टहरो भत्काएपछि सुरुमा आफन्तीको घर गएर बसेको र अर्को दिन रंगशाला पुगेर नाम टिपाएको बताउँछिन् । भनिन्, ‘रंगशाला गएर नाम टिपाएपछि त्यहाँबाट यो होटलमा बस्न पठाउनुभएको हो ।’
उनले होटलमा सुविधा भए पनि दुधे बच्चाको खानपानमा समस्या परिरहेको र बच्चाको सरसफाइ राम्रो हुन नसकेको बताइन् । अनि कहिलेबाट आफूहरूलाई अस्थायी आवासमा लगेर राखिने हो भन्नेबारे पनि आफूले जानकारी नपाएको बताइन् ।
नयाँ बसपार्कको अर्को होटलमा १८ महिने छोरीसहित भेटिइन्, ४० वर्षीया संगीता सिंह । शान्तिनगरस्थित सुकुमवासी बस्तीबाट उनी ७ र ८ वर्षका दुई छोरा अनि दुधे छोरीसहित विस्थापित भएर आइपुगेकी रहेछिन् । उनले केही महिनाअघि श्रीमान् कमाउन खाडी पुगेको र मासिक ६ हजार भाडामा सुकुमवासी बस्तीमा बस्दै आएको सुनाइन् ।
श्रीमान् विदेश भएको र ससाना बच्चाहरूसहित बसेका बेला एक्कासि डोजर आएर घर भत्काउँदा आफूलाई निकै गाह्रो भएको अनुभव उनले सुनाइन् । भनिन्, ‘एक्लै थिएँ । सानो बच्चाहरू मात्र डर लागिहाल्यो । डोजर चल्ने भएपछि छोराछोरी लिएर कोठा खोज्न गएँ । बच्चा धेरै भएको, सानो भएको भनेर कसैले दिएनन् ।’
खोज्दा पनि डेरा नभेटेपछि उनले रंगशालामा नाम टिपाउन पुगेको र त्यहाँबाट होटलमा आइपुगेको बताइन् । होटलमा ससाना छोराहरू चकचक गरिराख्ने भएकाले बस्न अप्ठ्यारो भइरहेको पनि उनले सुनाइन् । होटर परिसरमा साँझतिर धेरै मान्छे ओहोरदोहोर हुने र त्यतिबेला छोरीको सुत्ने समय भए पनि होहल्लाले नसुत्ने र रुने गरेकाले पनि समस्या थपिएको उनले बताइन् । सगोलमा खाने खाना बच्चाहरूलाई नमिल्ने भएकाले पनि समस्या थपिएको गुनासो पनि उनले सुनाइन् । ‘बस्ने ठाउँ त छ । तर अहिले यो बच्चा बोकेर म कता जाने भन्ने भएको थियो । मन बुझाएको छु,’ उनले भनिन्, ‘के गर्ने सोच्दा नै गाह्रो भएको छ । दुई छोराको पढाइ पनि लागिसक्यो । छिटो पढाउन पाए हुन्थ्यो । अब छिट्टै हाम्रो व्यवस्था सरकारले गरोस् भन्ने लागेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, घरजग्गा नभएर सरकारको सहयोग चाहनेको नामावली संकलन जारी राखिएको छ । समस्यामा परेकालाई विभिन्न होटल, लजदेखि कीर्तिपुरस्थित राधास्वामी सत्संग नेपालको भवनमा राखिएको उनले बताए । ‘आगामी १५ दिनभित्र उहाँहरूको कतै घरजग्गा भए, नभएकोदेखि सम्पूर्ण विवरणको कठोर स्क्रिनिङ हुन्छ,’ उनले दुई दिनअघि कान्तिपुरसँग भनेका थिए, ‘यदि घरको कुनै सदस्यको नाममा समेत जग्गाजमिन रहेनछ भन्ने भयो भने व्यवस्थापन गरिनेछ ।’
