रिपोर्टरको डायरी : सुकुमवासी होल्डिङ सेन्टरमा फोटो/भिडियो खिच्न मनाही छ, खिचिहाले डिलिट गर्नुपर्छ

सुकुमवासी विस्थापितलाई राखिएको होल्डिङ सेन्टरभित्रको फोटो र भिडियो महानगर प्रहरीले किन डिलिट गर्न लगायो, मैले बुझ्न सकेको छैन ।

वैशाख १६, २०८३

दया दुदराज

Reporter's Diary: Taking photos/videos is prohibited at the Sukumvasi Holding Center, those who take photos must delete them

What you should know

काठमाडौँ — एउटा गाडीमा काठमाडौं महानगर प्रहरीको ठूलो समूह आइपुग्यो । मलाई पाखुरामा समात्दै एक नगर प्रहरीले अन्य प्रहरीलाई सुनाए, 'उहाँ भित्र छिरेर भिडियो खिच्दै हुनुहुन्थ्यो, अब के गर्ने ?' ती महानगर प्रहरीले पालैपालो केरकार गरे, 'तपाईँले कसको अनुमतिमा खिच्नुभयो ?' मैले सबैलाई एउटै जवाफ फर्काएँ, 'खिच्न नदिने आदेश के हो, कसको हो ? 'एक महानगर प्रहरीले झोक्किँदै प्रश्न गरे, 'तपाईँ केका आदेशमा यहाँ खिच्न आउनुभएको ? कागज देखाउनुस् । 'मैले मेरो पत्रकार परिचयपत्र देखाएँ र भनेँ, 'यो खिच्न पाउने मेरो अधिकार हो । यही हो मेरो कागज ।' ती प्रहरीले कुतर्क गरे, 'हामीसँग पनि बन्दुक छ भन्दैमा पड्काउँदै हिँड्नु त ?'

गलफती लम्बिने भएपछि मैले भने, 'फोटो-भिडियो खिच्दिनँ, मलाई त्यहाँको अवस्था मात्र बुझ्न दिनुस् न त ।' पाखुरा समात्ने प्रहरीले अड्डी कसे, 'पहिले त्यो भिडियो डिलिट गर्नुहोस् । अनि कुरा गर्न पाउनुहुन्छ ।' मैले भनेँ, 'खिचिसकेको कुरा किन डिलिट गर्नु ? डिलिट गर भन्नै मिल्दैन ।' उनले ढिपी गरिरहे, 'डिलिट गर्नु भन्या सुन्नुभएन ?' बिस्तारै उनको स्वर ठूलो हुँदै आयो । यस्तो कुरा नजिकै रहेकी उकेरा डटकमकी पत्रकार मेनुका वाइवाले पनि सुनिरहेकी थिइन् । त्यतिबेला उनी पनि सेन्टरभित्र जाने प्रयासमा हैरानी भोगिरहेकी थिइन् । उनले पछि सुनाइन्, 'मलाई पनि हैरान पारे ।'

Reporter's Diary: Taking photos/videos is prohibited at the Sukumvasi Holding Center, those who take photos must delete them

मलाई भित्रका विस्थापित पात्रहरूसँग कुराकानी गर्नु थियो । तर प्रहरीहरू मलाइ जानै नदिन अड्डी कसिरहेका थिए । 'पहिले डिलिट गर्नुस् अनि जानुहोस्,' ती नगर प्रहरीले भने । मैले अलि नरम हुँदै भनेँ, 'अब खिच्दिनँ, बरु मेरो फोन तपाईँ नै राख्नुस् । म कुरा गरेर कापीमा टिप्छु मात्रै ।' तर ती नगर प्रहरीहरूले मान्दै मानेनन् । मैले मोबाइल खोल्दै थिएँ । उनी नियालेर हेरिरहेका थिए र भने, 'त्यो डिलिट गर्नु भन्या मान्नुहुन्न ?' मैले छल्नका लागि डिलिट गरेझैँ गरेँ तर ती नगर प्रहरीले मेरो फोन नै थुते र 'रिसाइकल बिन'बाट समेत डिलिट गरे । तर त्यसअघि नै मैले खिचेका तस्विर र भिडियो सम्पादकिय टिमलाइ पठाइसकेको थिए ।*

000

बुधबार म कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित 'होल्डिङ सेन्टर'मा पुग्दा बिहानको ११ बज्दै थियो । गत शनिबार सरकारले थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहराबाट सुकुमवासीहरुलाई विस्थापित गरेर त्यहाँ लगेर राखेको थियो । उनीहरूको अवस्थाको रिपोर्टिङ गर्न म त्यहाँ पुगेको थिए । गेटमै थिए, नेपाल प्रहरीका दुई हवलदार ।  उनीहरूले मलाइ रोकेनन् । म भित्र पुगे । त्यहाँको दृश्य सरकारले भनेभन्दा फरक थियो । ठुलो टहराजस्तो हल तर पर्खाल नभएको । पहेँलो रंगको च्यादरले चारैतिरबाट घेरिएको थियो । जहाँ विस्थापितहरूमा सर सामानका थुम्का थुमका देखिन्थे । अनि भुइँमै बिछ्याएको बिस्तारा र त्यही छेउछाउमा लेखिएको 'फ्यामेली नम्बर' परैबाट देखिन्थ्यो ।

त्यहाँ भित्र पत्रकारलाई जान अलिक कडिकडाउ छ भन्ने थाह पाएरै मैले बिहानै होल्डिङ सेन्टरमा बसेका एक जना विस्थापितसँग कुरा गरेको थिए । म पुग्दा उनले भर्खर खाना खाइसकेका रहेछन् । कालो प्लास्टिकको फोममाथि बनाइएको बिस्तारछेउमा बसेर उनीसँग कुरा भयो । उनले राती पानी परेपछिको हैरानी सुनाए । डस्ना देखाउँदै भने,  'हिजो त योभित्र पानी पसेर कम्ता बिजोग भएन ! यो डस्ना पनि पूरै भिजेको छ । सुकाउने ठाउँ पनि छैन । बच्चाबच्चीको कपडा पनि भिजेको छ ।' उनका आमा र श्रीमतीले पनि रातीको हैरानी सुनाए ।

Reporter's Diary: Taking photos/videos is prohibited at the Sukumvasi Holding Center, those who take photos must delete them

उनीहरूकै कुराबाट मैले थाह पाए, उनीहरूलाई पाल दिने कुरा भएको रहेछ । उनले भने, , 'यत्रो धेरै छौँ, उ त्यति सानो पाल दिने अरे, को बस्ने को नबस्ने ?' उनले यस्तो बताएको केही बेरमै सशस्त्र प्रहरी बलका केही जवान आए र भने,  'यो सामान कता सार्ने हो सार्नु, यहाँ पाल राख्नुपर्‍यो ।'

मंगलबारसम्म उनीजस्तै यहाँ आश्रय लिएका विस्थापितहरूले कालो प्लास्टिकको फोम र झुलको भरमा रात कटाएका रहेछन् । मंगलबार रातीको पानीले समस्या थपेपछि यहाँ पाल टाँग्ने तयारी भएको रहेछ । यो दृश्य खिचिरहेका बेला एक जनाले मेरो पाखुरा च्याप्प समातेर भने, 'तपाईँ यहाँ फोटो किन खिचेको ?' मैले प्रतिप्रश्न गरेँ, 'किन खिच्न पाइन्न र ?' मेरो पाखुरा समात्ने व्यक्ति काठमाडौं महानगरपालिकाका महानगर प्रहरी थिए । उनले 'मिल्दैन मिल्दैन' भन्दै जबर्जस्ती ताने । मैले मोबाइलमा भिडियो अन गरेँ । मेरो पाखुरा समातेर बाहिर निकाल्दै गर्दा ती प्रहरीले भने, 'यहाँ प्रेसलाई बन्देज छ । भित्र केही खिच्न पाउँदैन ।'

मैले प्रश्न गरेँ, 'किन पाइँदैन ?'

उनले जवाफ फर्काए, 'माथिको आदेश छ ।'

मैले पुनः सोधेँ, 'माथिको आदेश भनेको कहाँको आदेश ? के छ आदेश ?' उनी अक्मक्किए । पर रहेका नेपाल प्रहरीका हवलदारलाई बोलाए, 'सर यता आउनुस् त, उहाँ भिडियो खिच्दै हुनुहुन्छ ।'

ती प्रहरी हवलदारले पनि भने, 'सर, यहाँ फोटो/भिडियो खिच्न मिल्दैन ।' मैले उनलाई पनि प्रश्न गरेँ, 'किन मिल्दैन ?' उनीहरूको एउटै जवाफ थियो- 'माथिको आदेश ।' म संवाद गरिरहँदा पनि ती महानगर प्रहरीले मेरो पाखुरा समातिरहेकै थिए । मैले उनीहरूलाई भनेँ, 'खिच्न नदिने आदेश कसको हो ? अनि यदि नदिने नै हो भने मेरो कठालो समात्ने अधिकार तपाईँलाई कसले दियो ?'

ती महानगर प्रहरीले एक हातले मलाई समातिरहेका थिए, अर्को हातले मोबाइलबाट कसैलाई फोन गर्दै भने, 'सर यहाँ आउनु त, एक जना फोटो–भिडियो खिचिरहेका छन् । तपाईँ आउनुपर्‍यो ।'

एकैछिनमा अर्का हवलदार आइपुगे । उनले भने, 'सर, उहाँले भित्र गएर भिडियो–सिडियो बनाउनुभएको छ ।'

मैले तिनै हवलदारलाई प्रश्न गरेँ, 'फोटो खिच्न पनि पाइँदैन ?'

ती हवलदारले जवाफ फर्काए, 'तपाईँले आदेश लिनुभएको छ ?'

मैले प्रतिप्रश्न गरेँ, 'आदेश कसको चाहिन्छ ? हामीले कोबाट आदेश लिनुपर्छ ?'

उनले जवाफ फर्काए, 'हामीलाई त्यहीअनुसार भनेको छ, हामी त्यहीअनुसार काम गर्दै छौँ ।' ती हवलदारले महानगर प्रहरीतर्फ सोझ्याउँदै भने, 'त्यहाँ फोन गर्नु त ।'

ती महानगर प्रहरीले मलाई कम्पाउन्डबाट बाहिर निकाल्न खोज्दै भने, 'त्यहाँ हिँड्नु न, सर आउँदै हुनुहुन्छ ।'

अर्का हवलदारले भने, 'तपाईँ हामीसँग डिस्कस नगर्नु, सरसँग कुरा गर्नु ।'

मैले उनलाई प्रश्न गरेँ, 'डिस्कस गरेको होइन । म भित्र बस्दाखेरि मलाई समातेर तान्नुभयो नि त ।' ती महानगर प्रहरीले बारम्बार दोहोर्‍याइरहे, 'यहाँ मिल्दैन नि त ।'

नजिकै एक आमा आइन् र भनिन्, 'भिडियो खिच्न पाउनुपर्छ ।' उनी विस्थापित मध्येकी एक थिइन् । 'सरकारले हाम्रो बेइज्जत बद्नामी गरेर उठिबास लगाए पनि कोही मान्छे आएर हाम्रो आफन्त भेट्न पनि आउन नपाउने ?' ती आमाले प्रहरीतिर हेरेर भनिन, ' तपाईँहरूले हाम्रो सबै भिडियो खिच्नुभएको छ त । खाएको पनि खिच्नुभएको छ, बसेको पनि खिचेकै छ । बाहिर सबै राम्रो मात्रै देखाउने । भित्रको नराम्रो कुराचाहिँ किन नदेखाएको ? उहाँहरूले खिच्न खोज्दा पनि नदिने हुन्छ ?'

ती आमाले आफूहरू सुरक्षाको नाममा बन्दी भएको वेदना पनि पोखिन् । 'हामी बाहिर जाँदा प्रत्येकचोटि, अघि चप्पल लिन जाँदा पनि नाम टिपाएर जानुपर्ने ! चोरेर आएको हो र हामी ? ज्यान मारेर आएको हो ?'

प्रहरी हवलदारले भने, 'कस्तो बुझ्नुहुन्न, त्यो तपाईँहरूकै लागि हो के त्यो…'

यत्तिकैमा मेरो मोबाइलको क्यामेरा बन्द भएछ । मैले थाहा पाइनँ । मलाई ती नगर प्रहरीले पाखुरा समातेरै अगाडि नेपाल प्रहरी भएतिर लगे ।

000

गेट नजिकैको महानगर प्रहरीको भीडकाबीच मैले खिचेका भिडियो र तस्बिरहरू मेटाइए । मैले त्यहाँ प्रतिकार गर्न सकिनँ । मलाई विस्थापित पात्रहरूसँग कुरा गर्नु थियो । त्यसैले मैले भनेँ, 'ल डिलिट भयो, भित्र छिर्न दिनुहोस् ।'

उनीहरूले फेरि भने, 'अब भिडियो-फोटो केही पाइँदैन । अनुगमन मात्रै हो ।' तारा चिह्न भएका एक महानगर प्रहरीले भने, 'उहाँहरूसँग गाह्रो हुने कुरा भयो भने रोक्नु है ।'

मलाई पाखुरामा समात्ने महानगर प्रहरी नै मेरो पछिपछि लागे । म पुनः हलभित्र छिरेँ  । विस्थापितसँग कुराकानी सुरु गरे । तर प्रहरी मेरो वरपर घुमिरहेका थिए ।

Reporter's Diary: Taking photos/videos is prohibited at the Sukumvasi Holding Center, those who take photos must delete them

७२ वर्षीया कान्छीमाया घलेले दुखेसो सुनाइन् । भनिन्, 'हिजोसम्म त खै एउटा बक्सामा भात ल्याएर दिन्थे, म बुढी मान्छेलाई के खाए नखाए हुन्थ्यो । आज यतै पकाएर खुवाएका छन् ।' उनले त्यहाँ आएपछि आफूलाई चिसोले सताउन थालेको पनि बताइन् । भनिन, 'चिसोले भेट्यो जस्तो छ, यो जिउ करकरी दुख्न थाल्या छ ।'

उनले बिहीबार बस्तीमा माइकिङ गरेदेखि आफूलाई निन्द्रा नपरेको सुनाइन् । 'बस्तीमा माइकिङ सुनिएदेखि निद्रा परेको छैन । शनिबार यता ल्याएदेखि त झन् सुत्नै सक्या छैन । हिजो राति परेको पानीले त झन् के सुत्न दिन्थ्यो,' कान्छीमायाले सुनाइन्, 'दिउँसो अलिअलि मिलिक्क निद्रा पर्छ । त्यही पनि बच्चाले हल्ला गरेर के साध्य लाग्छ र !'

कान्छीमायाको ज्यान कीर्तिपुरमा भए पनि उनको मन भने थापाथलीमै छ । शनिबार बिहानै आफ्नो घरमा डोजर चलेको त्यो दृश्य उनलाई झलझली आइरहन्छ । 'आँखा अगाडि अहिले केवल धुलो, माटो र भत्किएका जस्ताका पाताहरू घुमिरहन्छन्,' कान्छीमाया भक्कानिइन्, 'खाइनखाइ दुःखले जोडेको त्यो टहरो पनि राज्यले देखिसहेन ।'

त्यो भग्नावशेषभित्र उनका २० वर्षका अनगिन्ती स्मृतिहरू पुरिएका छन् । २०१२ साल माघमा जन्मिएकी कान्छीमायालाई आफ्नो जन्म मिति र विगतका तीता–मीठा पलहरू कण्ठस्थ छन् । २०६४ साल पुस २ गते उनी थापाथलीको त्यो बगरमा ओत खोज्दै आइपुगेकी थिइन् । 'यता काखीमा बच्चा च्यापेर तीनकुनेदेखि बाँसका कप्टेराहरू बोकेर ल्याएर, आफ्नै हातले भुइँ खस्रेर सानो झुप्रो उभ्याएकी थिएँ ।'

उनी २०६८ सालमा थापाथली बस्ती आइपुगेकी रहेछिन् ।कुरा गर्दा गर्दै उनी भावुक बन्दै थिइन् । त्यही बेला नजिकै बसेर हाम्रो कुराकानी सुनिरहेका महानगर प्रहरी आएर भने, 'अब भयो भयो ।' उनले कुरा अन्त्य गर्न भन्दै थिए । त्यही बेला मैले कान्छीमायासँग उनकै तामाङ भाषामा कुरा गरे र टेलिफोन नम्बर मागे । महानगर प्रहरीले तामाङ भाषामा बोलेको कुराकानी बुझेनन् ।

अलि पर देखिए ५३ वर्षीय पकचा तरिम कसाई । शनिबार बस्तीमा डोजर लगाउँदादेखि नै मैले कसाईलाई पछ्याइरहेको थिएँ । शनिबार दशरथ रंगशालामा उनी श्रीमतीसँग छुट्टिएका थिए । जसको कथा हामीले कान्तिपुरमा प्रकाशन गरेका थियौँ । तर, उनीहरू अहिले सँगै देखिन्थे । उनीहरूसँग कुराकानी गर्न  खोज्दै थिएँ तर महानगरका प्रहरी पछाडि बसेर भन्दै थिए, 'जाम् अब जाम् ।'

*अपडेट गरिएको । 

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully