शनिबार थापाथलीस्थित बागमती किनारको बस्तीमा डोजर चल्दा ५३ वर्षीय पकचा तरिम कसाईको बास मात्रै खोसिएन, श्रीमतीसँगको साथ पनि छुट्यो ।
What you should know
काठमाडौँ — आइतबार साँझ ५ बज्दै थियो । दर्किरहेको वैशाखे झरीले दशरथ रंगशाला जलमग्न बनिसकेको थियो । खेलकुदको रौनक छाइरहने यो विशाल चौरमा यतिबेला भने सयौँ अनुहारहरू त्रासद र मलिन देखिन्थे । वरपर असरल्ल छरिएका थिए, भिजेका पोकापुन्तुरा र भत्किएका सपनाहरू । सरकारको उर्दीसँगै बस्तीमा चलेको डोजरले उनीहरूको थातथलो मात्र भत्काएको थिएन, वर्षौंदेखि सँगालेको हाँसो र खुसी पनि माटोमै मिलाइदिएको थियो ।
त्यही छरपस्ट पोकापुन्तुराको छेउमा, झरीले निथ्रुक्क भिज्दा पनि परवाह नगरी थचक्क बसिरहेका थिए ५३ वर्षीय पकचा तरिम कसाई । उनको अनुहारमा उमेरको चाउरीपन मात्र थिएन, सर्वस्व लुटिएको मान्छेको गहिरो शून्यता पनि प्रस्टै पढ्न सकिन्थ्यो । शनिबार थापाथलीस्थित बागमती किनारको बस्तीमा डोजर चल्दा उनको बास मात्रै खोसिएन, श्रीमतीसँग पनि उनको साथ छुट्यो ।
बासको खोजीमा उनी शनिबारै रंगशालाको प्रांगणमा आइपुगेका थिए । बेलुकापख महानगरपालिकाको टोलीले उनलाई गाडीमा राखेर बालाजुको एउटा होटलमा पुर्यायो । त्यहाँ पुग्नेबित्तिकै उनी आत्तिँदै श्रीमती पुष्पालाई खोज्न थाले, तर कतै भेटेनन् । ‘हिजो दिनभरि बास खोज्ने ध्याउन्न मात्रै थियो, दिउँसो यहाँ (रंगशाला) सम्म त हामी सँगै थियौँ,’ भिजेको कपडाबाट तप्किरहेको पानी पुछ्दै उनले सुनाए, ‘त्यसपछि भीडभाडमा कता छुटिन् कता !’
शनिबार राति रंगशालामा भीड र भागदौड बढ्दै गएपछि उनले श्रीमतीको खोजी नगरेका होइनन् । डराइरहेका उनलाई त्यहाँ खटिएका प्रहरीले आश्वासन दिएका थिए, ‘एकैछिनमा भेटिन्छ, नआत्तिनुस् ।’ राति ९ बजेतिर जब उनलाई महानगरको गाडीमा राखेर बालाजु लैजान खोजियो, उनले गाडीको ढोकामै उभिएर प्रहरीसँग फेरि सोधे, ‘मेरी श्रीमती पुष्पा खै त ? ऊ नभई म कसरी जानु ?’
‘महानगर प्रहरीले मेरी बुढीलाई म भएकै ठाउँमा पठाइदिन्छौँ, अहिले नआत्तिई जानुहोस् भने,’ प्रहरीको भनाइ सम्झँदै उनले भने । बालाजुस्थित 'मिसन बाग्लुङ' होटलमा पुगेपछि पनि उनले रातभरि ढोकातिर हेर्दै श्रीमतीको बाटो कुरिरहे, तर उनी आइनन् । उनले त्यहाँ पुगेका प्रहरीसँग याचना गरे, होटल सञ्चालकलाई हात जोडेर हारगुहार गरे । निकै बेरपछि कसैले उनलाई सुनाइदियो, ‘तपाईंकी श्रीमती अर्कै होटलमा पर्नुभएछ ।’
‘मनै त हो, यस्तो बेलामा बुढीको बोली नसुनी कसरी थाम्नु ? प्रहरीले फोनबाट बुढीसँग कुरा गराइदिएपछि मात्रै अलिकति सास आयो र ढुक्क भएर पल्टिएँ,’ उनले लामो सुस्केरा हाले । कसाई दम्पतीसँग मोबाइल फोन छैन, त्यसैले उनीहरू प्रविधिमय यो सहरमा एक्ला र असहाय छन् ।
‘बिहानै उठेर फेरि श्रीमती खोज्दै यहीँ (रंगशाला) आएँ । दिउँसो ३ बजेतिर बल्ल उनी कीर्तिपुरतिर छिन् भन्ने थाहा पाएँ,’ उनले भने । काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूलाई उनले आफूलाई पनि कीर्तिपुर नै पठाइदिन बिन्ती गरिरहेका थिए । तर, साँझको ५ बजिसक्दा पनि उनलाई लैजाने कुनै सुरसार थिएन । ‘कीर्तिपुर जाने टोलीसँगै पठाइदिने भन्नुभएको थियो, पानी परेर होला, खै किन ढिला भयो,’ उनी भत्किएको घर र छुटेकी श्रीमतीको यादमा रुमल्लिइरहेका थिए ।
आइतबार साँझ रंगशालाको चिसो भुइँमा पकचा जस्ता सयौँ विस्थापितहरू पानीमा रुझ्दै र जाडोले थरथर काँप्दै बसिरहेका थिए । काठमाडौं उपत्यका विकास प्राधिकरणले उनीहरूलाई कहाँ पठाउने भनेर 'स्क्रिनिङ' (तथ्यांक संकलन र वर्गीकरण) गरिरहेको थियो । शनिबारदेखि घरबारविहीन बनेका उनीहरू सहरको बीचमा शरणार्थीजस्तै भौँतारिइरहेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ परिवार यसरी नै सडकमा आइपुगेका छन् । जसलाई प्राधिकरणले कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम र राजधानीका विभिन्न सस्ता होटलहरूमा रात बिताउन पठाउने मेसो मिलाइरहेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ परिवार बसोबास गर्दै आएका थिए । उपत्यका विकास प्राधिकरणका इन्जिनियर डोरकाजी श्रेष्ठका अनुसार आइतबार साझसम्म सम्पर्कमा आएकामध्ये ३३ घर परिवारलाई कीर्तिपुर र ६२ घर परिवारलाई विभिन्न होटलहरुमा पठाइएको छ ।
उनका अनुसार अन्य परिवारहरूलाई पनि होटलहरुमा पठाउने तयारी थालिएको छ । होटल व्यवसायी महासंघका अध्यक्ष टीआर भण्डारीका अनुसार बालाजु, गोंगबु र मित्रनगर लगायतका क्षेत्रमा करिब ७०० जना बसोबास गरिरहेका छन् ।
