धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा उतारचढाव र धितोपत्र बजारलाई प्रभावित पारेको कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
What you should know
काठमाडौँ — धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बिहीबार पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेकै बेला प्रहरीले समेत धितोपत्र र बिमासम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको हो ।
नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई बिहीबार अपराह्न नक्साल नारायणचौरस्थित गोल्छा अर्गनाइजेसनको कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा उतारचढाव र धितोपत्र बजारलाई प्रभावित पारेको कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । आरोपित गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष हुन् ।
गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि बिमा कम्पनीमार्फत धितोपत्र बजारमा शंकास्पद कारोबार गरी सम्पत्ति शुद्धीकरण गराएको कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ । विभागका अधिकारीहरूका अनुसार यस प्रकरणमा गोल्छासहित शंकर ग्रुपका उपाध्यक्ष तथा सोही समूहअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट तथा उनीहरूकै व्यापारिक साझेदारसमेत रहेका हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा बिमा प्राधिकरण र धितोपत्र बोर्डका तत्कालीन पदाधिकारी एवं कर्मचारीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
सम्बद्ध स्रोतका अनुसार व्यावसायिक उद्देश्यसहित गत साउनताका (चालु आर्थिक वर्षको सुरुवात) मा गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर मिलेर सामूहिक सेयर कारोबार गर्ने सल्लाह भयो । सहमतिअनुसार सबैले पैसा पनि उठाए । सबैले बैंकिङ प्रणालीमार्फत एउटै खातामा पैसा संकलन पनि गरे । सोही कोषबाट केही सेयर पनि किनियो ।
‘साथीहरू मिलेर पैसा संकलन गरी एउटा कोष बनाऔं र कोषको रकम पुँजी बजारमा लगानी गरेर छोटो समयमै राम्रो मुनाफा आर्जन गरौं भन्ने उद्देश्य आफैंमा खराब र कानुनविपरीत होइन,’ एक साझेदारले भने । तर जब साझेदारमध्ये कसैले धोका दिएको थाहा हुन्छ, त्यतिबेला सम्बन्ध एकाएक शत्रुतामा परिणत हुन्छ । उल्लिखित साझेदारहरूबीच पनि त्यही भयो । कान्तिपुरसँगको कुराकानीमा पाँचमध्ये एक साझेदारले जनाएअनुसार भट्टको नाममा कानुनविपरीत हिमालयन रिइन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सलगायत सूचीकृत कम्पनीमा सर्वसाधारणको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २६ रुपैयाँ अपचलन गरेका छन् ।
भट्टले भने आफूलाई थाहा नदिई सुलभले यो काम गरेको बताउँदै आएका छन् । धितोपत्र र बिमासम्बन्धी... जब गोल्छा, शाह, गुप्ता, मोरलगायतले गडबडी भइरहेको र आफूहरूको पैसा दुरुपयोग गरेर सेयर किनेको थाहा पाएपछि उनीहरूले आकस्मिक बैठक डाके । बैठकमा भट्ट पनि उपस्थित थिए । बैठकमा निकै चर्चाचर्की भयो । भट्ट र सुलभले गरेको अनियमितताको रकम फिर्ता गर्ने कुरा पनि उठ्यो । तर, त्यो सम्भव थिएन ।
किनकि भट्ट र अग्रवालको यो कारोबारमा सम्पत्ति शुद्धीकरण विभागलगायत नियामक निकायले अनुसन्धान सुरु गरिसकेका थिए । सोही क्रममा भट्ट र सुलभको बैंक खाता पनि रोक्का गरिएको थियो र अहिले पनि । अनुसन्धान जारी रहेकाले उनीहरूको खाता अझै रोक्का छ । उक्त बैठकमा सहभागी दुई जना स्रोतका अनुसार, भट्टले सुलभमाथि आक्रोश व्यक्त गरेका थिए र सुलभ भने निकै भावुक भएर क्षमायाचना गरिरहेका थिए । ‘सुलभले आफूबाट गल्ती भएको स्विकार्दै रुन थाले र गोल्छाको खुट्टा समातेर माफी मागे । तर, माफीले पैसा फिर्ता आउने अवस्था थिएन,’ स्रोतले कान्तिपुरलाई भन्यो ।
उनीहरूले अनियमितता गरेको थाहा पाएपछि हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले राजीनामा दिएको कान्तिपुरलाई बताएका थिए । ‘यति ठूलो रकमको कारोबार भएको रहेछ, सेयर खरिदमा विभिन्न पब्लिक लिमिटेड कम्पनीको रकम पनि हिनामिना भएको रहेछ,’ गोल्छाले गत चैत अन्तिम साता कान्तिपुरसँग भनेका थिए, ‘यसबारेमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठकमा प्रस्तावसम्म पनि आएन । यो गतिविधि जुन दिन मैले थाहा पाएँ, सोही दिन अध्यक्ष पदबाट राजीनामा दिएँ ।’ उक्त कारोबारमा आफू कतैबाट पनि अन्तिम लाभग्राही नभएको पनि उनले दाबी गरेका थिए ।
सीआईबीका अनुसार धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ मा कैफियत देखाइएका व्यक्तिउपर अनुसन्धान अघि बढाइएको र त्यही क्रममा गोल्छा पक्राउ परेका हुन् । यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरू, ब्रोकर कम्पनी हिमालयन सेक्युरिटिज, हिमालयन क्यापसर्व, एचएलआई लार्ज क्याप फन्ड र यससँग सम्बन्धित व्यापारी तथा सञ्चालकहरू पनि अनुसन्धानको दायरामा रहेको सीआईबी स्रोतको भनाइ छ । सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुर लगाएर दफा १०३ को उपदफा ३ बमोजिम बोर्डले दिएको जाहेरीअनुसार सीआईबीबाट थप अनुसन्धान अघि बढाइएको हो ।
ऐनको दफा ९४ मा धितोपत्र बजारमा झूटो कारोबार गर्न नहुने उल्लेख छ । ‘यस ऐनको प्रयोजनका लागि कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा, अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा र कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झूटो कारोबार गरेको मानिनेछ,’ उक्त दफामा भनिएको छ ।
त्यस्तै दफा ९५ मा मूल्यमा उतारचढाव गर्न नहुने उल्लेख छ । ‘कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानिने,’ उक्त दफामा उल्लेख छ ।
दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्न नहुने भनिएको छ । कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने, कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने काममा संलग्न हुन नहुने दफा ९६ मा उल्लेख छ ।
ऐनको दफा ९८ मा जालसाजीयुक्त कारोबार गर्न नहुने भनिएको छ । कसैले कसैसँग धितोपत्र खरिदबिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा जालसाजीयुक्त कारोबारका रूपमा कसुर हुने उक्त दफामा उल्लेख छ ।
हिमालयन रिइन्स्योरेन्स र यससँग जोडिएका कारोबारमा आरोपित गोल्छा संलग्न रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको र यसमा जोडिएका अन्य आरोपितहरूविरुद्ध पनि अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीको भनाइ छ । यही कसुरमा अनुसन्धानका लागि धितोपत्र बोर्डले प्रारम्भिक जाँचबुझ प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीलाई छुट्टाछुट्टै जाहेरी दिएको थियो । बोर्डले तयार पारेको प्रतिवेदनमा सुलभ अग्रवाल र दीपक भट्टसहित सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचानलाई शंकास्पद भूमिकामा राखिएको छ ।
बोर्डले नै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र संस्थातर्फ हिमालयन रिइस्योरेन्स, हिमालयन क्यापसर्व, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सको संलग्नता देखाएको छ । यस प्रकरणमा बोर्डको प्रतिवेदनले गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिका रूपमा राखेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि उनले हिमालयन रि– बाट राजीनामा दिएका थिए ।
अर्कोतर्फ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान टुंग्याउने तयारी भइरहेको जनाएको छ । यस प्रकरणमा भट्ट र सुलभ अग्रवाल हाल विभागकै नियन्त्रणमा छन् । विभागसम्बद्ध स्रोतका अनुसार पक्राउ परेका भट्ट र अग्रवाल, उनीहरूका ‘शंकास्पद वित्तीय कारोबार’ र लगानी तथा धितोपत्र बजारमा गैरकानुनी रूपमा आर्जित सम्पत्ति लगानी गरेकोलगायत कसुरमा अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण तथा आरोपितका बयानलाई प्रतिवेदन लेखनका क्रममा लगिएको विभागका एक अधिकारीले जानकारी दिए ।
विभागसम्बद्ध स्रोतका अनुसार हालसम्म सुलभ र भट्टसहित सीआईबीको नियन्त्रणमा रहेका गोल्छालगायत २५ जनाभन्दा बढीसँग बयान लिइसकिएको छ । विभागले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग पनि बयान लिइसकेको छ । उनले गत साता शुक्रबार पदबाट राजीनामा दिएका थिए । १० मंसिर २०८१ मा श्रेष्ठ बोर्ड अध्यक्षमा नियुक्ति भएका थिए । बोर्डबाट भट्ट र अग्रवालसम्बद्ध बिमा कम्पनीहरूलाई नाजायज लाभ हुने गरी धितोपत्र बोर्डबाट विभिन्न निर्णय गरेको पाइएपछि श्रेष्ठ अनुसन्धानमा तानिएका थिए । हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरू नै अनुसन्धानमा तानिएपछि अध्यक्ष गोल्छाले २५ फागुनमा राजीनामा दिएका थिए ।
नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसँग पनि विभागले बयान लिइसकेको छ । अनुसन्धानकै क्रममा विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टलाई १९ चैत र शंकर ग्रुपका उपाध्यक्ष एवं सोही ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई २२ चैतमा पक्राउ गरेको थियो । त्यसपछि आरोपितहरूका चलअचल सम्पत्ति रोक्का राखेको विभागले १ वैशाखमा भट्ट र अग्रवालका निवास तथा कार्यालय र हिमालयन रिइन्स्योरेन्सको कार्यालयमा छापा मारेर कागजात, उपकरण तथा सवारीसाधन नियन्त्रणमा लिएको थियो । भट्टको सानेपास्थित निवासमा भेटिएका तीनवटा सवारीसाधन नियन्त्रणमा लिएकामा तीनैवटा सवारी जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवालको भएको भेटिएको विभागको भनाइ छ ।
