सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरको आरोपित, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा र रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता सहयोगी।
What you should know
काठमाडौँ —
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारमा अन्य व्यापारीको समेत संलग्नता देखिएको छ । धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार भट्टसहित पाँच जना आरोपित र संस्था तथा व्यक्ति गरेर सात जना सहयोगीका रूपमा देखा परेका छन् । सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरका आरोपित हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र संस्थातर्फ हिमालयन रिइस्योरेन्स, हिमालयन क्यापसर्व, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्स सहयोगी रहेको अनलाइन पोर्टल काठमाडौंपाटी डटकमले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सुलभ अग्रवालका नाममा सेयर खरिद गरेको नदेखिएकाले आरोपित तथा सहयोगीका नामको सूचीमा उनको नाम छैन । बोर्डले गरेको अर्को अनुसन्धानमा भने सुलभलाई दोषी देखाइएको छ भने कारबाहीका लागि सिफारिस गरिएको छ ।
२५ फागुन २०८२ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टको सेयर कारोबारबारे विवरण पठाउन धितोपत्र बोर्डलाई पत्र काटेको थियो ।
उक्त निर्देशनका आधारमा बोर्डले अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको छ । थप अध्ययन–अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रतिवेदन अनुसन्धानकारी निकायमा पेस गरिएको छ । प्रतिवेदनले कुन कुन व्यक्ति तथा संस्थालाई कारबाही र मतियार सिफारिस गरेको छ । त्यो विवरण यहाँ प्रस्तुत गरिएको छ ।
कसले कस्तो विवादित काम गरे ?
प्रतिवेदनमा सुलभ अग्रवालका नाममा सेयर खरिद गरेको नदेखिएकाले आरोपित तथा सहयोगीका नामको सूचीमा उनको नाम छैन । बोर्डले गरेको अर्को अनुसन्धानमा भने सुलभलाई दोषी देखाइएको छ भने कारबाहीका लागि सिफारिस गरिएको छ ।दीपक भट्ट : भट्टमाथि भृकुटी स्टक ब्रोकिङबाट उधारोमा सेयर किन्ने, सेयर रकम भुक्तानी नगरी खाता (डिम्याट) मा ब्रोकरमार्फत राफसाफ तथा फर्छ्योट गराउने, उधारोमा ठूलो रकमको सेयर खरिद गरेर बजारमा सेयरको कृत्रिम मूल्यवृद्धि गराउने, भित्री कारोबार गर्ने, झूटो कारोबार गरेकोलगायत आरोप छ । भट्टले ५ साउन २०८२ देखि १ चैत २०८२ सम्म विभिन्न ३ अर्ब ८० करोड ५३ लाखको सेयर खरिद र ९३ करोड ५ लाख ९२ हजारको बिक्री गरेका छन् । यस अवधिमा उक्त ब्रोकरले दीपक भट्टबाट कुनै पनि रकम लिएको छैन । हालसम्म पनि २ अर्ब ८९ करोड २० लाख ४८ हजार लिनुपर्ने देखिन्छ । ब्रोकरले कानुनविपरीत उधारो कारोबार गर्न दिएको पाइएको छ ।
अनुसन्धानले भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत सेयर खरिदबिक्री गरेको तथ्य भेटिएको छ । जसमा भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्सबाट विभिन्न मितिमा ३ लाख ३८ हजार ४ सय ४१ कित्ता खरिद गरेको देखिन्छ ।
यो सेयर भट्टले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई ९० हजार कित्ता, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई ८० हजार कित्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई १५ हजार कित्ता र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई १५ हजार ८ सय १४ कित्ता सेयर बिक्री गरेको देखिन्छ ।
यी सबै कम्पनीमा भट्टको पनि लगानी छ । यसअनुसार नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइको लाइफ इन्स्योरेन्समा भट्टको १५/१५ प्रतिशत सेयर लगानी छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा १५ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा २१.४३ प्रतिशत सेयर स्वामित्व छ । यसरी आफ्नो लगानी रहेको एउटा कम्पनीबाट आफ्नै लगानी रहेका अरू कम्पनीमा सेयर बिक्री गर्न पाइँदैन । भट्टले आफ्नो सेयर लगानी रहेका कम्पनीबीच कानुनविपरीत सेयर खरिदबिक्री गरेको आरोप छ ।
राजबहादुर शाह : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले पनि विभिन्न सूचीकृत कम्पनी तथा व्यक्तिको रकम अपचलन गरेर आफ्नो नाममा सेयर किनेको, दीपक भट्टले जस्तै अग्रिम रकम नदिई सेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोबारका सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर उनीहरूको खातामा प्राप्त भएकोलगायत आरोप छ ।
शाहले २३ असार २०८२ देखि हालसम्म भृकुटी स्टक ब्रोकिङमार्फत नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २ सय ४ कित्ता सेयर विभिन्न मूल्यमा गरी कुल १ अर्ब ४१ करोड ८० लाख ७२ हजारको खरिद गरेका थिए । उक्त रकममध्ये केवल ५२ करोड ५० लाख मात्र
भुक्तानी गरेको देखिन्छ । २१ साउन २०८२ सम्म शाहले ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ ब्रोकरलाई भुक्तानी गर्न बाँकी छ । यसरी शाहले धितोपत्र खरिदबापत तिर्नुपर्ने रकम जम्मा नगरेको, अग्रिम रकम नराखे तापनि कारोबार गर्न सीमा प्रदान गरिएको तथा धितोपत्र खरिदबापतको रकम जम्मा नगरे तापनि उनको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ । प्रतिवेदनले आरोपित गरेको सम्बन्धमा कान्तिपुरले शाहसँग सम्पर्क गर्न पटक–पटक गरेको प्रयास सफल हुन सकेन ।
शुभी अग्रवाल : शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालकी श्रीमती हुन् शुभी । हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न सूचीकृत कम्पनी तथा व्यक्तिको रकम अपचलन गरेर आफ्नो नाममा सेयर किनेको तथा दीपक भट्टले जस्तै अग्रिम रकम नदिई सेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोबारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर उनीहरूको खातामा प्राप्त भएको लगायत आरोप शुभीमाथि छ ।
यस कार्यबाट शुभीले खरिद गरेको सेयरको मूल्यवृद्धि हुन सहयोग पुगेको देखिन्छ । र, लगानीकर्ता र धितोपत्र बजारलाई झुक्याउने कार्य भएको देखिन्छ । अतः उनीहरूले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग मिलेर योजना तथा कार्य गरी धितोपत्रको लगानीकर्तालाई झुक्याई कृत्रिम रूपमा सेयरको मूल्यवृद्धि गरेको र त्यसले धितोपत्रसम्बन्धी ऐनअनुसार कसुर भएको हुन सक्ने बोर्डको निष्कर्ष छ । हाल सेयर खरिदबापत शुभीले ब्रोकरलाई ६२ करोड ८९ लाख ५६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उनले नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर खरिदबिक्री गरेको देखिन्छ ।
ऋषिराज मोर : ऋषिराज मोरले ३ माघ २०८० देखि हालसम्मको भृकुटी स्टक ब्रोकिङमार्फत अग्रिम रकम नराखे तापनि कारोबार गर्न सीमा पाएको, उनले धितोपत्र खरिदबापतको रकम जम्मा नगरे पनि उनको खातामा धितोपत्र जम्मा भएको अनुसन्धानले देखाएको छ ।
यहीकारण हाल मोरले भृकुटी स्टक ब्रोकिङलाई २३ करोड १ लाख ३१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ३० वैशाख २०८२ सम्म मोरले तिर्न बाँकी रकम १ अर्ब ३२ करोड २८ लाख ७ हजार पुगेको थियो । यस अवधिमा मोरले हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको देखिन्छ ।
सन्दीप चाचान : चाचान भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख हुन् । भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं ५५) ले उल्लिखित विभिन्न व्यक्तिका नाममा रहेको उधारोमा सेयर खरिद गरिदिने र ती कारोबार फर्छ्योटका लागि विभिन्न व्यक्ति तथा संस्थाले सेयर बिक्री गरेको पैसा नदिने गरेको तथ्य पनि बोर्डले फेला पारेको छ । यसमा व्यवसायी दीपक भट्ट र उनीसँग आबद्ध विभिन्न व्यक्ति तथा कम्पनीको अझै पनि ठूलो परिमाणको लेनदेन राफसाफ हुन बाँकी देखिन्छ ।
यी सबै कम्पनीमा भट्टलगायत व्यक्तिको सेयर लगानी छ । हिमालय क्यापसर्व, हिमालयन रिइन्स्योरेन्स, क्रेस्ट माइको लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको एनएलजीको सेयर खरिद गरेर उक्त कम्पनीको सेयर मूल्य बढाउने कसुर गरेको देखिन्छ ।‘शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले समेत भट्टले जस्तै अग्रिम रकम नदिई सेयर कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोबारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर निजहरूको खातामा प्राप्त भएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस कार्यबाट निजहरूले खरिद गरेको सेयरको मूल्यवृद्धि हुन सहयोग पुगेको देखिन्छ । साथै लगानीकर्ता र धितोपत्र बजारलाई झुक्याउने कार्य भएको देखिन्छ ।’
उनीहरूले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीसँग मिलेर योजना तथा कार्य गरी धितोपत्रका लगानीकर्तालाई झुक्याई कृत्रिम रूपमा सेयरको मूल्य वृद्धि गरेको र त्यसले धितोपत्रसम्बन्धी ऐनअनुसार कसुर भएको हुन सक्ने बोर्डको निष्कर्ष छ । कार्यकारी प्रमुखका रूपमा जिम्मेवार व्यक्ति चाचानले सहयोग गरेको देखिएकाले यस कसुरका सम्बन्धमा अनुसन्धान गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम प्रहरी प्रधान कार्यालय पठाउन उपयुक्त हुने बोर्डको निष्कर्ष छ ।
भृकुटीले ग्राहक (लगानीकर्ता) ले सेयर किनबेच भएको तीन दिनभित्र (टी प्लस थ्री) खरिदकर्ताको खातामा सेयर र बिक्रीकर्ताको खातामा सेयर राख्ने काम (राफसाफ तथा फर्छ्योट) गरे पनि खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको देखिएन । कानुनअनुसार खरिदकर्ताबाट पैसा नलिई सेयर कारोबार राफसाफ तथा फर्छ्योट गर्न पाइँदैन ।
कसुरमा गर्ने सहयोग गर्ने व्यक्ति तथा संस्था
उल्लिखित कसुरमा सहयोग पुर्याउने संस्थाहरूमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्ड छन् । यस्तै व्यक्तिहरूमा भने रोहित गुप्ता र शेखर गोल्छाले सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । हिमालयन रिइस्योरेन्स कम्पनीले नेपाल रिइस्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलगायत कम्पनीको सेयर खरिदबिक्री गरेको देखिन्छ ।
यी सबै कम्पनीमा भट्टलगायत व्यक्तिको सेयर लगानी छ । हिमालय क्यापसर्व, हिमालयन रिइन्स्योरेन्स, क्रेस्ट माइको लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको एनएलजीको सेयर खरिद गरेर उक्त कम्पनीको सेयर मूल्य बढाउने कसुर गरेको देखिन्छ ।
यस काममा शुभी अग्रवाल, हिमालय इन्भेस्टमेन्ट बैंकर, हिमालयन रिइन्स्योरेन्स, एचएलआई लार्ज क्याप फन्ड, हिमालयन क्यापसर्व, क्रेस्ट माइको लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सको संलग्नता देखिएको छ । यस कार्यमा मुख्य रूपमा दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ तथा सहयोगीका रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंक, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिन्छ ।
शेखर गोल्छा : प्रतिवेदनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ । गोल्छा र उल्लिखित कम्पनीबाट आएको रकमबाट ब्रोकरले भट्टलगायत अरूको नाममा सेयर किनेको अनुसन्धानले देखाएको छ । ब्रोकरले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
विवादित सेयर कारोबारको कसुरमा सहयोगी भनेर प्रतिवेदनले औंल्याएको सम्बन्धमा चैत अन्तिम साता कान्तिपुरले गोल्छासँग कुराकानी गरेको छ । जसमा उनले भट्ट र सुलभ अग्रवाल तथा उनकी श्रीमती शुभी अग्रवालले गैरकानुनी रूपमा सेयर खरिद गरेको जानकारी पाएपछि आफूले हिमालयन रिइन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्षबाट राजीनामा दिएको बताएका थिए ।
‘यति ठूलो रकमको कारोबार भएको रहेछ, सेयर खरिदमा विभिन्न पब्लिक लिमिटेड कम्पनीको रकम पनि हिनामिना भएको रहेछ,’ उनले भनेका थिए, ‘यसबारे हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठकमा प्रस्तावसम्म पनि आएन । यो गतिविधि जुन दिन मैले थाहा पाएँ, सोही दिन अध्यक्ष पदबाट राजीनामा दिएँ ।’ उक्त कारोबारमा आफू कतैबाट पनि अन्तिम लाभग्राही नभएको पनि उनको दाबी छ । पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग परेर मनपरी उपयोग गर्ने काम कानुनअनुसार नभएको गोल्छाले बताए ।
रोहित गुप्ता : रमेश कर्पका उपाध्यक्ष रोहित गुप्तालाई पनि प्रतिवेदनले कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखेको छ । गुप्ता र उल्लिखित कम्पनीबाट आएको रकमबाट ब्रोकरले भट्टलगायत अरूका नाममा सेयर किनेको अनुसन्धानले देखाएको छ । ब्रोकरले गुप्तालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कसुर र कारबाहीको व्यवस्था
यस योजना तथा कार्यबाट लगानीकर्ता तथा समग्र धितोपत्रको दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल रिइन्स्योरेन्सको सेयरको मूल्य बढाउने कार्य गरी धितोपत्रसम्बन्धी ऐनको दफा ९६ बमोजिमको कसुर गरेको अध्ययनको निष्कर्ष छ ।उल्लिखित व्यक्ति तथा संस्थाहरूबाट लिएको रकम तथा उक्त संस्थाहरूले धितोपत्र बिक्री गरी पाउनुपर्ने रकम संस्थाहरूलाई नदिई ब्रोकरले नेटिङ प्रणालीमा राफसाफ गरेको देखिन्छ । यसबाट पनि दीपक भट्ट, भृकुटी स्टक ब्रोकिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसमेतको मिलेमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने प्रपञ्च रचेको देखिन्छ ।
यसरी सेयर खरिदबिक्रीका लागि रकम लेनदेन नगर्ने कार्यबाट बजारमा नेपाल रिइन्स्योरेन्सको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गराएको देखिन्छ । उनीहरूको यही प्रयासबाट ५ साउन २०८२ मा १ हजार ४ सय ६१ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य १० भदौ २०८२ मा १ हजार ६ सय ८६ पुगेको देखिन्छ ।
यस योजना तथा कार्यबाट लगानीकर्ता तथा समग्र धितोपत्रको दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल रिइन्स्योरेन्सको सेयरको मूल्य बढाउने कार्य गरी धितोपत्रसम्बन्धी ऐनको दफा ९६ बमोजिमको कसुर गरेको अध्ययनको निष्कर्ष छ ।
प्रतिवेदनले भट्टसँगै शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, अर्का व्यवसायी ऋषिराज मोरले समेत ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजबाट कानुनविपरीत उधारोमा सेयर खरिद र त्यसको राफसाफ हुने गरेको तथ्य खुलाएको छ ।
दीपक भट्ट, सुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर, हिमालयन क्यापसर्व, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइको लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सेयर कारोबार खाता ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) एउटै व्यक्तिले चलाउने गरेको तथ्य पनि धितोपत्र बोर्डले भेटाएको छ । यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगको बयानमा भट्टले पनि स्विकारेका छन् । आफूले टीएमएस ब्रोकरलाई दिएको र ब्रोकरबाट सुलभ अग्रवालले टीएमएसको ‘लगइन पासवर्ड’ लिएर आफ्नै कार्यालयबाट कारोबार गर्ने गरेको बयान भट्टले दिएको विभाग स्रोतले बताएको छ ।
ब्रोकरले गुप्ता र गोल्छा दुवैलाई जनही ५२ करोड ५० लाख रुपैयाँका दरले कुल १ अर्ब ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।दोस्रो बजारमा सूचीकृत संस्था एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्यवृद्धि गराउने उद्देश्यसहित भट्ट र अग्रवाल समूहले सेयर कारोबार गरेको पनि बोर्डको अनुसन्धानले देखाएको छ । बजारमा अतिरिक्त माग सिर्जना गराएर सो कम्पनीको सेयर मूल्यवृद्धि गराउन शुभी अग्रवाल, हिमालय इन्भेस्टमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एचएलआई लार्ज क्याप फन्ड, हिमालयन क्यापसर्ब, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सको समेत संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो काम पनि धितोपत्र ऐनविपरीत भएका पनि बोर्डले जनाएको छ ।
‘शुभी तथा ऋषिराजले सूचीकृत संगठित संस्था गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार गर्दा अग्रिम रकम नदिई कारोबारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोबारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर निजहरूको खातामा प्राप्त भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस कार्यबाट निजहरूले खरिद गरेको सेयरको मूल्यवृद्धि हुन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई झुक्याउने काम भएको देखिन्छ ।’
यसरी दीपक भट्ट र धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुखका रूपमा जिम्मेवार व्यक्ति सन्दीप चाचानले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर गरेको देखिएकाले थप अनुसन्धानका लागि बोर्डले सिफारिस पनि गरेको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं ५५) ले उल्लिखित विभिन्न व्यक्तिका नाममा रहेको उधारोमा सेयर खरिद गरिदिने र ती कारोबार फर्छ्योटका लागि विभिन्न व्यक्ति तथा संस्थाले सेयर बिक्री गरेको पैसा नदिने गरेको तथ्य पनि बोर्डले भेटाएको छ । जसमा व्यवसायी दीपक भट्ट र उनीसँग आबद्ध विभिन्न व्यक्ति तथा कम्पनीको अझै पनि ठूलो परिमाणको लेनदेन राफसाफ हुन बाँकी रहेको देखिन्छ ।
बोर्डका अनुसार भृकुटी स्टक ब्रोकरले रकम
उठाउन बाँकी रहेका लगानीकर्तामध्ये सबैभन्दा धेरै व्यवसायी दीपक भट्टका नाममा २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ छ । राजबहादुर शाहबाट ८९ करोड ७० लाख, शुभी अग्रवालबाट ६२ करोड ८९ लाख र ऋषिराज मोरबाट २३ करोड १ लाख रुपैयाँ ब्रोकरले उठाउन बाँकी देखिन्छ । हिमालय इन्भेस्टमेन्ट बैंकर लिमिटेडका नाममा पनि २२ लाख रुपैयाँ उठाउन बाँकी रहेको बोर्डको प्रतिवेदनमा छ ।
अर्कोतर्फ, ब्रोकरले विभिन्न ठूला संस्था र प्रतिष्ठित व्यवसायीलाई ठूलो रकम भुक्तानी गर्न बाँकी छ । यसमा सबैभन्दा धेरै २ अर्ब ७३ करोड ३३ लाख हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई बुझाउनुपर्ने देखिन्छ । ब्रोकरले भुक्तानी दिन बाँकी रहेका अन्य व्यवसायीमा रोहित गुप्ता र शेखर गोल्छा छन् । ब्रोकरले गुप्ता र गोल्छा दुवैलाई जनही ५२ करोड ५० लाख रुपैयाँका दरले कुल १ अर्ब ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
बिनापैसा अर्बौंको सेयर खरिद–बिक्री हुनुमा ‘कालोधन’ को प्रयोग भएको हुन सक्ने आशंका गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत भट्ट र उनीसँग आबद्ध व्यक्तिहरूको सम्पत्ति जाँच गर्न सुझाइएको छ ।संस्थागततर्फ हिमालयन क्यापसर्वलाई ३७ करोड, एचएलआई लार्ज क्याप फन्डलाई २५ करोड १४ लाख, हिमालयन सेक्युरिटिज बैंकरलाई २२ करोड १९ लाख र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ ले यस्ता उधारो कारोबार र कारोबारपछि रकम भुक्तानी नदिनुलाई ‘झूटो कारोबार’ भनेर परिभाषित गरेको छ ।
ऐनको व्यवस्थाअनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको छ भने त्यस्तो हानिनोक्सानी बापतको रकम (बिगो) भराउने र क्षतिपूर्तिसमेत दिनुपर्ने कानुनी व्यवस्था ऐनमा छ ।
यसैगरी धितोपत्र बोर्डले यस्ता लगानीकर्ताको खाता रोक्का गर्ने र भविष्यमा सेयर कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाउन सक्छ । धितोपत्र बोर्डको प्रतिवेदनले व्यवसायी दीपक भट्ट र भृकुटी स्टक ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ (२) बमोजिमको फौजदारी कसुरमा कडा कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । यो प्रकरणमा अर्बौंको लेनदेन, नक्कली कारोबार र वित्तीय प्रणालीमै जोखिम देखिएकाले थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाउन सिफारिस गरिएको छ ।
बिनापैसा अर्बौंको सेयर खरिद–बिक्री हुनुमा ‘कालोधन’ को प्रयोग भएको हुन सक्ने आशंका गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत भट्ट र उनीसँग आबद्ध व्यक्तिहरूको सम्पत्ति जाँच गर्न सुझाइएको छ ।
यता भृकुटी स्टक ब्रोकरले जानाजानी ग्राहकको रकम दुरुपयोग गरेको र उधारो कारोबार गराएकाले उक्त ब्रोकरलाई निलम्बन वा इजाजत खारेजीसम्मको कारबाही गर्न संकेत गरिएको छ । प्रतिवेदनको तालिका ४ मा उल्लेख भएका अन्य ठूला व्यवसायीहरूसँगको लेनदेन पनि शंकास्पद देखिएकाले उनीहरूको भूमिकाबारे थप विस्तृत अनुसन्धान गर्न भनिएको छ । यता एउटै ‘आईपी एड्रेस’ बाट धेरैको नाममा कारोबार हुनुले बजारमा ‘कर्नरिङ’ भएको पुष्टि हुने भन्दै यस्तो प्रविधिलाई रोक्न सफ्टवेयरमा कडाइ गर्न सिफारिस गरिएको छ ।
