व्यवसायी शेखर गोल्छा पक्राउ

उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले ईकान्तिपुरलाई बताए ।

वैशाख १०, २०८३

मातृका दाहाल

Businessman Shekhar Golchha arrested

काठमाडौं — व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले ईकान्तिपुरलाई बताए । 

गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि  बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । 

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । 

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको बुझिएको छ । 

बोर्डको प्रतिवेदनमा गोल्छाबारे के छ ? 

प्रतिवेदनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ । 

विवादित सेयर कारोबारको कसुरमा सहयोगी भनेर प्रतिवेदनले औंल्याएको सम्बन्धमा चैत अन्तिम साता कान्तिपुरले गोल्छासँग कुराकानी गरेको छ । जसमा उनले भट्ट र सुलभ अग्रवाल तथा उनकी श्रीमती शुभी अग्रवालले गैरकानुनी रूपमा सेयर खरिद गरेको जानकारी पाएपछि आफूले हिमालयन रिइन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्षबाट राजीनामा दिएको बताएका थिए । 

‘यति ठूलो रकमको कारोबार भएको रहेछ, सेयर खरिदमा विभिन्न पब्लिक लिमिटेड कम्पनीको रकम पनि हिनामिना भएको रहेछ,’ उनले भनेका थिए, ‘यसबारे हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठकमा प्रस्तावसम्म पनि आएन । यो गतिविधि जुन दिन मैले थाहा पाएँ, सोही दिन अध्यक्ष पदबाट राजीनामा दिएँ ।’ उक्त कारोबारमा आफू कतैबाट पनि अन्तिम लाभग्राही नभएको पनि उनको दाबी छ । पब्लिक लिमिटेड कम्पनीको रकम दुरुपयोग परेर मनपरी उपयोग गर्ने काम कानुनअनुसार नभएको गोल्छाले बताए ।

सम्बन्धित अन्य समाचार

भट्ट र अग्रवालको विवादित सेयर कारोबारमा ६ व्यापारीको संलग्नता

दीपक भट्ट–सुलभ अग्रवालः कोरोना कालमा साथ, ३७३ करोडको सेयर कारोबारमा अन्तर्घात

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully