सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्ति विवरणमा बहस

सम्पत्तिको चित्तबुझ्दो स्रोत तथा करको विवरण खुलाइदिएर नयाँ मानक स्थापना गर्न सरकारलाई विज्ञले सुझाव दिएका छन् ।

वैशाख १, २०८३

राजेश मिश्र

Debate on ministers' asset details on social media

What you should know

काठमाडौँ — सार्वजनिक पद सम्हाल्नुअघि सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचापत्रअनुसार रास्वपा नेतृत्वको सरकारका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकार गठनको १७ दिनपछि आइतबार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का १६ सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

जसको सम्पत्तिमाथि प्रश्न उठेको छ, ऊ स्वयंले त्यसको स्रोत तथा कर तिरेको विषयलाई खुलाउनुपर्छ  -दीपेश घिमिरे, सुशासनका अभियन्ताप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रिपरिषद्का सदस्यहरूको आर्थिक अवस्था बलियो देखिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख नगद रहेको देखाएका छन् । त्यसको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटीफाई जस्ता सामाजिक सञ्जालबाट प्राप्त आम्दानी भनेका छन् । उनको सम्पत्तिमा गरगहना १ सय ९० तोला छ । 

यस्तै, उनको काठमाडौंमा ९ आना, धनुषामा १ बिघा २ कट्ठा र महोत्तरीमा ९ बिघा जमिन छ । अन्य सम्पत्तिमा उनले फेसबुकका ४० लाख फलोअर्स तथा युट्युब र ट्वीटरका फलोअर्सको संख्यालाई पनि देखाएका छन् । सार्वजनिक पदमा रहेका कुनै व्यक्तिले आम्दानीको स्रोतमा सामाजिक सञ्जाल तथा त्यसमा रहेका फलोअर्सलाई देखाएको यो पहिलो पटक हो ।

धनी मानिस मात्रै मन्त्री भए । मन्त्री हुन धनी हुनुपर्छ भन्ने सन्देश गयो । ३ करोड नेपाली सबै उत्तिकै धनी त छैनन् ? यसले मन्त्री तथा जनताबीचको आर्थिक असमानताको तस्बिर पनि दिएको छ । -विद्याधर मल्लिक, पूर्वसचिवसुशासनका अभियन्ता दीपेश घिमिरे विगतको र अहिलेको राजनीतिको पृष्ठभूमि तथा सहभागिता नै फरक रहेको बताउँछन् । ‘पहिलेका आन्दोलनमा किसान, दुर्गम गाउँ तथा विपन्न समुदायका व्यक्तिहरूको प्रतिनिधित्व हुन्थ्यो । मुद्दा, प्रतिनिधित्व र नेतृत्व नै त्यस्तै हुन्थ्यो । अहिले त्योभन्दा भिन्न छ,’ उनले भने, ‘जेन–जी आन्दोलन सहरी क्षेत्रका मध्यम वर्गीय समाजलाई प्रतिनिधित्व गर्ने युवाले गरेका हुन् । उनीहरूलाई प्रतिनिधित्व गर्दै नेतृत्वमा आएकाहरूलाई पहिलेकैसँग तुलना गरेर हेरिनु हुन्न ।’ 

सरकार गठनको दुई सातामै सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नु सकारात्मक रहेको घिमिरेले बताए । ‘कोसँग कति सम्पत्ति छ ? त्यो गौण विषय हो,’ उनले भने, ‘जसको सम्पत्तिमाथि प्रश्न उठेको छ, ऊ स्वयंले त्यसको स्रोत तथा कर तिरेको विषयलाई खुलाउनुपर्छ ।’ सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्तिबारे नागरिकबाट प्रश्न उठ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ । 

‘अहिले युवाले देशभित्रै मात्र होइन, यहीँ बसेर विदेशबाट पनि आयआर्जन गर्न सफल भएका छन् । सामाजिक सञ्जालबाट पनि आम्दानी गर्दै आएका छन् । तर, मुख्य प्रश्न सम्पत्तिहरू करको दायराभित्र छ कि छैन ? कर तिरेको आम्दानी हो कि होइन भन्ने हो,’ घिमिरेले भने । सुशासनको जगमा बनेको सरकारले सम्पत्तिको चित्तबुझ्दो स्रोत तथा करको विवरण खुलाइदिएर नयाँ मानक स्थापना गर्न सक्ने उनी बताउँछन् । 

अघिल्ला दुई सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् । केपी शर्मा ओली तथा सुशीला कार्की नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा सुशासनको कोणबाट सरकारमाथि प्रश्न तेर्सिएका थिए । अहिले मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक हुँदा पनि प्रश्न उठेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूसँग रहेको सुन तथा अन्य सम्पत्तिलाई लिएर सामाजिक सञ्जालहरूमा व्यापक ‘ट्रोल’ भइरहेको छ । सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्नेबारे टीकाटिप्पणी भइरहेको छ । 

अर्थमन्त्रीसमेत रहिसकेका पूर्वसचिव विद्याधर मल्लिक सम्पत्ति विवरण हेर्दा सबै मन्त्री धनी देखिएको बताउँछन् । ‘औसत नेपालीको आयभन्दा मन्त्रीहरू धनी देखिएका छन् । कोही धनी हुनु आफैंमा खराब होइन । सबै समृद्ध हुनु राम्रो हो,’ उनले भने, ‘धनी मानिस मात्रै मन्त्री भए । मन्त्री हुन धनी हुनुपर्छ भन्ने सन्देश गयो । ३ करोड नेपाली सबै उत्तिकै धनी त छैनन् ? यसले मन्त्री तथा जनताबीचको आर्थिक असमानताको तस्बिर पनि दिएको छ ।’ 

मल्लिकले भनेझैं राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले पनि ठूलो जनसंख्या अझै गरिबीको रेखामुनि रहेको देखाउँछ । राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । यस हिसाबले गरिबीको रेखामुनि रहेका नागरिकको संख्या ५९ लाख हाराहारी छ । 

उनीहरू आफ्नो न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न चाहिने खर्च पनि जुटाउन सक्दैनन् । तथ्यांक कार्यालयको पछिल्लो सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ खर्च जुटाउन नसक्नेलाई निरपेक्ष गरिबीको रेखामुनि राखेको छ । विश्व बैंकको एक अध्ययनअनुसार नेपालमा मध्यम आय (दैनिक ३.६५ देखि १० डलर आम्दानी) गर्ने नागरिकको संख्या ६० देखि ६५ प्रतिशत छ । 

यत्रो सुन, जग्गा र पैसा कहाँबाट आयो, त्यसको वैध स्रोत र कर तिरेको प्रमाण दिन पनि मन्त्रीहरूलाई भन्न सक्नुपर्छ -पद्मिनी प्रधानांग, पूर्वप्रमुख, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल‘जेनतेन पेट पालेर मतदान गरेका जनताको प्रतिनिधित्व सरकारका धनी मन्त्रीहरूले कसरी गर्छन् ? उनीहरूका बारेमा कसरी सोच्छन् ? उनीहरूको गरिबी हटाउन, क्षमता विकास गर्न कस्ता योजना, काम र परिणाम ल्याउँछन्, त्यसले धेरै कुरा स्पष्ट हुँदै जान्छ,’ मल्लिकले भने, ‘यो सरकारको गति तीव्र छ । तर त्यो गतिको लाभ सहरियाका लागि मात्रै नहोस् । जसको मत लिएर आएको छ, उसलाई यो सरकारले प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने महत्त्वपूर्ण हो ।’ 

पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक राजस्व कार्यालयमा पेस गरिएको आय विवरण र कर चुक्ताका प्रमाण बढी विश्वसनीय आधार हुने टिप्पणी गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सार्वजनिक गर्न भने कानुनले बाध्य बनाएको छैन । अघिल्लो चुनावी सरकारमा अर्थमन्त्री रहेका खनालसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थिएन ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकाय र अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । पेस गरिएको सम्पत्ति विवरण गोप्य राख्न सकिने प्रबन्ध ऐनको दफा ५०(४) मा छ । कानुनले दिएको यही छिद्रमा टेकेर कतिपय बेला मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्री जनताप्रति जवाफदेही र आम नागरिकको प्रश्नको घेरामा रहने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेर मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन विगतमा पनि कायम थियो । तर, सम्पत्ति विवरण सार्वजनिक भएसँगै मन्त्रीको सम्पत्तिलाई लिएर टीकाटिप्पणी र प्रश्न उठ्न थालेपछि कतिपय पछिल्लो समय सम्पत्ति विवरण सार्वजनिक गर्नै छोडिएको थियो । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वप्रमुख पद्मिनी प्रधानांग सम्पत्ति विवरण सार्वजनिक भएसँगै जनताको मनमा उब्जेका प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले दिनुपर्ने बताउँछिन् । ‘भर्खरैका युवासँग करोडौंको जग्गा, सुन र नगद देखिएको छ । त्यसले मानिसहरू छक्क परेका छन् । केही मन्त्रीको सम्पत्ति अलि अस्वाभाविक पनि देखियो । त्यसले प्रश्न उब्जाएको हो,’ उनले भनिन्, ‘सम्पत्ति विवरण सार्वजनिक गरेर असल अभ्यास थालेको सरकारले यत्रो सुन, जग्गा र पैसा कहाँबाट आयो, त्यसको वैध स्रोत र कर तिरेको प्रमाण दिन पनि मन्त्रीहरूलाई भन्न सक्नुपर्छ । सम्बन्धित मन्त्रीहरू आफैं अग्रसर हुँदा झन् राम्रो । त्यसले उहाँहरूमाथि जनताको विश्वास अझ बढ्छ ।’ 

कतिपय मन्त्री विदेशमा बसेका, विदेशी संस्थामा काम गरेका र पुर्ख्यौली सम्पत्ति भएका पनि छन् । ‘त्यस्तोलाई लिएर प्रश्न नभए पनि जसका बारेमा जनतालाई थाहै छैन, उसको जागिर, व्यापार व्यवसाय केही थाहा छैन, उनीहरूलाई लिएर मानिसहरूले प्रश्न उठाइरहेका छन् । यत्रो सम्पत्ति हुनलाई कि पुर्ख्यौली नै धनाढ्य हुनुपर्‍यो वा ठूलै व्यापार हुनुपर्‍यो । जागिर मात्रैले यस्तो सम्पत्ति जोर्न मुस्किल छ,’ उनले भनिन्, ‘अरूको सम्पत्तिमाथि प्रश्न उठाउने, भ्रष्टाचारको छानबिन गर्न तम्सिएको सरकारले पहिला आफ्नोबारे जनतालाई स्पष्ट पारेर जाँदा राम्रो हुन्छ ।’ 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully