सर्वोच्च अदालतका प्रवक्ता अर्जुनकुमार कोइरालाले रिट निवेदन दर्ता भएको पुष्टि गरे ।
काठमाडौँ — पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको पक्षबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन परेको छ ।
खड्काको पक्षबाट मंगलबार उनकी श्रीमती विनिता खड्का र शर्माको पक्षबाट चिन्तामणि शर्माले रिट निवेदन दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनकुमार कोइरालाले रिट निवेदन दर्ता भएको पुष्टि गरे ।
खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा र शर्मालाई बालश्रम शोषणसम्बन्धी मुद्दामा आइतबार पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ ।
पूर्वमन्त्री खड्कालाई २४ भदौको आन्दोलनमा घरमा पैसा जलेपछि पाइएपछि अनुसन्धानको दायरमा ल्याइएको थियो । सीआईबीले भने उक्त रकमबारे नभई सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको भन्दै आएको छ । जिल्ला अदालत काठमाडौंले सात दिन म्याद थप गर्ने निर्णय गरेपछि परिवारले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
जेन-जी आन्दोलनमा घर जलेपछि उनी भने धुम्बाराहीस्थित प्रेस्टिज अपार्टमेन्टमा बस्दै आएका थिए । सीआईबीले त्यही अपार्टमेन्टबाट पक्राउ गरेको हो ।
दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
जेन-जी आन्दोलन अघि खड्की ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत थिए । आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास नजिकमा रहेको खड्काको निवासमा पनि आगजनी भएको थियो ।
आगजनीको क्रममा उनको घरबाट पैसा उडेको जस्तो देखिने भिडियो भाइरल भएको थियो ।
दुवै निवेदनलाई बुधबार पेसी ताेकिएको सर्वोच्च अदालतले जनाएकाे छ ।
