प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेको छ।
सीआईबी प्रमुख एआईजी मनाेज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।
२४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।
त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।
त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको अनुसन्धानपछि विस्तृत रूपमा हेर्न सीआईबीमा फाइल पठाएकामा खड्का पक्राउ परेका हुन्।
खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए ।
जलविद्युत् आयोजनाको उत्पादन अनुमति पत्र र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । तर उनीमाथि अनुसन्धान हुन सकेको थिएन । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए ।
