सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएकामा परिवार र समाजले न्याय मागिरहेको छ । उनको शव २५ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा छ । डीएनए परीक्षणको नतिजा अझै आएको छैन । तर, चार जना युवकलाई सामूहिक बलात्कार र हत्याको अभियोग लगाइएको छ । जबकि अभियोगपत्रमा समावेश सीसीटीभी फुटेज, कल विवरण र मुख्य अभियुक्तको बयानले अन्य तीन जना उक्त समयमा घटनास्थलमा समेत नभएको देखाउँछ ।
What you should know
काठमाडौं, सुर्खेत — २३ फागुनको बिहान सबेरै एक १६ वर्षीया बालिका घरबाट निस्किइन् । आमाले छोरी ट्युसन पढ्न जाँदै छिन् भन्ने ठानिन् । ६ बजेर २६ मिनेट जाँदा (उनले प्रेमी ठान्ने) आफ्नै उमेरका एक जना केटासँग हिँड्दै वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनभित्र प्रवेश गरिन् । उनलाई थाहा थिएन, उनी आफ्नो जीवनका अन्तिम पाइला चाल्दै थिइन् । उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा विक त्यहाँबाट जीवित फर्किइनन् ।
कर्णाली प्रदेश आयुर्वेदिक अस्पतालको बाटो हुँदै वन छिरेको तीन घण्टामा (९ बजेर ३० मिनेट) त्यहाँको एउटा कुनामा उनको शव भेटियो । शरीरमाथि कालो ज्याकेट ओढाइएको थियो, जुत्ता र मोजा खोलिएका थिए । कपडा र वरपरको जमिनमा रगत देखिन्थ्यो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण लेखिएको छ– ‘यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको अत्यधिक रक्तस्राव । त्यस्तो चोट, जुन जबर्जस्ती यौन सम्पर्कको अवस्थासँग मिल्छ ।’ इनिशाको पोस्टमार्टम गरेका भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभागका अधिकृत अर्विन शाक्यले भने, ‘अत्यन्तै हिंसात्मक शैलीले सम्पर्क गरेको देखिन्छ ।’ मृत्यु हुँदा इनिशा केवल १६ वर्ष ७ महिना १८ दिनकी थिइन् ।
उनका प्रेमी भनिएका युवक (नाबालिग भएकाले मुद्दा चलाउँदा प्रहरीले उनलाई ‘वीरेन्द्रनगर प’ नाम दिएको छ) त्यही क्षण पक्राउ परे भने भोलिपल्ट थप तीन जना– ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ लाई प्रहरीले नियन्त्रणमा लियो । वीरेन्द्रनगर फ’ बाहेकका सबै इनिशासँग एउटै कक्षामा पढ्थे । सबै अभियुक्त १६ देखि १७ वर्षका छन् । चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक बलात्कार र हत्यामा सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रत्येकलाई आजीवन कारावासको सजाय माग गरिएको छ । कसुर ठहरेमा नाबालकलाई वयस्कलाई हुनेमध्ये दुईतिहाइ सजाय हुने भएकाले अधिकतम १६ वर्ष ८ महिनासम्म सजाय हुन सक्छ ।
जिल्ला सरकारी वकिल कार्यालयले १५ चैतमा दायर गरेको ४१ पृष्ठ लामो अभियोगपत्रमा १६३ वटा प्रमाणको सूची समावेश छन् । यो अभियोगपत्रलाई अध्ययन गर्दा र समावेश प्रमाणहरू केलाउँदा ‘वीरेन्द्रनगर प’ बाहेकका अन्य तीन जनाविरुद्ध सरकारी वकिलले पर्याप्त प्रमाण पेस गर्न नसकेको देखिन्छ । प्रहरीले ‘वीरेन्द्रनगर प’ लाई बलात्कार र हत्यामा तथा बाँकी तीन जनालाई घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेकामा मात्रै अभियोग लगाउन सिफारिस गरेको थियो तर सरकारी वकिल कार्यालयले चारै जनालाई सामूहिक बलात्कार र हत्यामा कारबाहीको माग गरेको छ । सुर्खेत प्रहरी नै भन्छ– ‘त्यसका लागि पर्याप्त प्रमाण छैन ।’
०००
साक्षीहरू के भन्छन् ?
अभियोगपत्रमा चार जना अभियुक्तसहित ३३ जनाको बयान समावेश छ । मुख्य प्रतिवादी ‘वीरेन्द्रनगर प’ ले आफू र इनिशा प्रेमी भएको तथा वनभित्र यौन सम्पर्कका बेला अत्यधिक रक्तस्राव भएर उनी बेहोस भएपछि उद्धारका लागि आफूले फोन गरेर साथीहरूलाई बोलाएको बताएका छन् । उनले जिम्मेवारी आफ्नो मात्र भएको बयान दिएका छन्, बाँकी तीन जनालाई मुछेका छैनन् । साथीहरू आइसकेपछि उनीहरूले ‘फसिन्छ’ भन्ने डरले छुन नमानेको र त्यसपछि ‘वीरेन्द्रनगर ध’ लाई गाउँलेलाई बोलाउन पठाएको बताएका छन् । उनले ती तीन जना साथीहरू घटनाको समयमा उक्त स्थानमा उपस्थित नभएको बताएका छन् ।
तीन जनाले छुट्टाछुट्टै रूपमा दिएको बयानमा पनि ‘वीरेन्द्रनगर प’ को बयानसँग मिल्ने विवरण उल्लेख गरेका छन् । उनले फोन गरेपछि आफूहरू उद्धारका लागि पुग्दा इनिशालाई पहिले नै बेहोस अवस्थामा देखेको बताएका छन् । उनीहरूको बयान एकअर्कासँग मिल्छ र घटना हुँदा उनीहरू त्यहाँ थिएनन् भन्ने ‘वीरेन्द्रनगर प’ को बयानसँग पनि मिल्छ ।
अभियुक्तबाहेक घटनास्थलमा सबैभन्दा पहिले पुगेका साक्षी वन चौकीदार रामबहादुर दमाईले आफू घरमै बसिरहेका बेला करिब ९ बजेर ३० मिनेट जाँदा प्रतिवादीमध्येका ‘वीरेन्द्रनगर ध’ आएर जंगलमा एक जना साथी बेहोस छ, उद्धार गरिदिनुपर्यो भनेपछि गाउँलेहरूलाई बोलाएर आफू जंगलमा पुगेको र त्यहाँ पुग्दा इनिशाको शव नजिकै मुख्य प्रतिवादी ‘वीरेन्द्रनगर प’ रगत लागेको सर्ट लगाएर बसेका, अन्य दुई जना ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ अर्को छेउमा झोला बोकेर उभिएको आफूले देखेको बताएका छन् । अन्य साक्षीहरूले पनि यस्तै प्रकृतिको बयान दिएका छन् । धेरै साक्षीहरूले घटना कसरी भयो भन्ने प्रश्नमा ‘वीरेन्द्रनगर प’ ले घटना घटाएको आफूहरूले थाहा पाएको बताएका छन् । अन्य तीन जनाबारे प्रत्यक्ष आरोप लगाएका छैनन् । अभियोगपत्रमा समावेश अन्य धेरै साक्षीहरूको बयानमा पनि अन्य तीन जनाले इनिशालाई बलात्कार गरेको भन्ने विवरण उल्लेख गरेका छैनन् । केहीले सामूहिक बलात्कार भएको भन्नेबारे आफूहरूले सुनेको मात्र बताएका छन् । खासगरी इनिशाका नातेदारहरूले चारै जनाले बलात्कार गरेर हत्या गरेको हुनुपर्छ भन्ने आफूहरूले सुनेको बताएका छन् ।
छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा इन्द्रबहादुरले ‘घटना रहस्यमय बनाइएको’ बताए । उनले भने, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिन कि भन्ने चिन्ता लाग्न थालेको छ ।’
इनिशाले न्याय पाउँदिनन् कि भन्ने चिन्ता सुर्खेतका सडकमा पनि छ । उनलाई न्याय माग गर्दै सुरु भएको आन्दोलन पछिल्लो तीन दिनदेखि भने विभाजित छ । एउटा समूह चारै अभियुक्तलाई कडा सजाय होस् भन्दै इनिशाका लागि न्यायको माग गरिरहेको छ भने तीन अभियुक्तका पक्षबाट पनि उनीहरूलाई न्याय माग्दै अर्को आन्दोलन भइरहेको छ । ‘वीरेन्द्रनगर प’ का परिवारका एक सदस्य भन्छन्, ‘प्रमुख अभियुक्तबाहेकका तीन जना घटनाको समयमा जंगलमा पुगेकै थिएनन् ।’
०००
के भन्छ प्रमाण ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुर्खेतका विभिन्न स्थानमा उपलब्ध सीसीटीभी फुटेज र संलग्न भनिएका व्यक्तिहरूबीच भएको कल डिटेल रेकर्डलाई समेटेर प्रतिवेदन दिएको छ । अभियोगपत्रमा समावेश गरिएको उक्त प्रतिवेदनले त्यस दिन बिहान अभियुक्तहरूले कति बजे के–के गरेका थिए भन्ने विस्तृत विवरण देखाउँछ ।
अभियोगपत्रमा १६ वर्ष ८ महिनाका मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ लाई इनिशाको प्रेमीका रूपमा उल्लेख गरिएको छ । उनले बिहानै ४ बजेर ३२ मिनेटमा इनिशालाई ह्वाट्स एप मेसेज पठाएका थिए, ‘गुड मर्निङ मेरी मायालु ।’ त्यसको एक घण्टा पाँच मिनेटपछि ५ बजेर ३७ मिनेटमा कर्णाली प्रदेश ट्राफिक प्रहरीको सीसीटीभी फुटेजमा उनी एक्लै झोला बोकी मंगलगढी चोकतर्फ हिँड्दै गरेको देखिन्छन् । त्यसपछि ६ बजेर १ मिनेटमा उनले इनिशालाई अंग्रेजीमा अर्को ह्वाट्स एप मेसेज पठाए, ‘म पर्खिरहेको छु ।’
६ बजेर १९ मिनेटमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन भवनको सीसीटीभीमा इनिशासहित दुवै जना सँगै हिँड्दै गरेको देखियो । ६ बजेर २६ मिनेटमा उनीहरू जनजागरण सामुदायिक वनतर्फ हिँड्दै गरेको भिडियो कर्णाली प्रदेश आयुर्वेद अस्पतालको सीसीटीभीमा कैद भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । त्यही वनभित्र केही समयपछि इनिशा मृत भेटिइन् ।
तर अन्य तीन अभियुक्त ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ को कल डिटेल रेकर्ड र लोकेसनसम्बन्धी विवरणले उनीहरू बिहान ९ बजेसम्मै घटनास्थल आसपास कतै छैनन् । मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ ले सुरुमा ८ बजेर २१ मिनेटमा ‘वीरेन्द्रनगर ध’ लाई फोन गर्छन् । दुवै जनाले प्रहरीलाई बताएअनुसार, ‘वीरेन्द्रनगर प’ ले यौनसम्पर्कका बेला अत्यधिक रक्तस्रावले इनिशा बेहोस भएपछि उद्धार गर्न सहयोग माग्न ‘प’ ले ‘ध’ लाई फोन गरेका थिए, उनीहरूबीच ७६ सेकेन्ड कुराकानी भएको थियो । सीआईबीको प्रतिवेदनअनुसार उक्त समयमा मोबाइल फोनको लोकेसनले ‘वीरेन्द्रनगर प’ लाई घटनास्थल र ‘वीरेन्द्रनगर ध’ लाई उनकै घर आसपासमा देखाउँछ । घरको सीसीटीभीमा कैद फुटेजमा ८ बजेर ३४ मिनेटमा ‘वीरेन्द्रनगर ध’ ले फोनमा ‘कहाँ हो गा को त नि, अल्टर ठाउँमा किन गा को त नि,’ भनेको सुनिएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । त्यसको २९ मिनेटपछि ९ बजेर ३ मिनेटमा उनी स्कुटरमा घरबाट निस्किएको घरकै सीसीटीभीमा देखिएको, ९ बजेर ७ मिनेटमा कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थलतर्फ एक्लै जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको सीसीटीभी फुटेजमा देखिएको सीआईबीले उल्लेख गरेको छ ।
यसरी बाँकी तीन अभियुक्तहरूमध्ये सबैभन्दा पहिले घटनास्थल आसपास पुगेका ‘वीरेन्द्रनगर ध’ पनि ९ बजेर ७ मिनेटमा मात्रै त्यहाँ पुगेको देखिन्छ । बाँकी दुई जना ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ सँग त्यसको पाँच मिनेटअघि मात्रै मुख्य अभियुक्त ‘प’ को कुराकानी भएको देखिन्छ । ९ बजेर २ मिनेटमा ‘प’ ले ‘न’ लाई फोन गरेर ७९ सेकेन्ड कुराकानी गरेका थिए । दुवैले प्रहरीलाई दिएको बयानमा उक्त फोन कुराकानीमा इनिशाको उद्धारका लागि ‘प’ ले ‘न’ को सहयोग मागेको उल्लेख छ । ‘वीरेन्द्रनगर फ’ सँग त यो सिंगो प्रकरणमा मुख्य अभियुक्तको कुराकानी नै भएको छैन । अघिल्लो साँझ मात्रै आफ्नो घरमा बस्न आएका काकाका छोरा ‘प’ आफ्नो साथीको अनुरोधअनुसार इनिशाको उद्धारका लागि निस्किएपछि ‘फ’ ले भाइलाई साथ दिन सँगै गएको तीनै जनाको बयानमा उल्लेख छ । ९ बजेर ११ मिनेट जाँदा दुवै जना कर्णाली प्रदेश आयुर्वेद अस्पतालको गेटबाट घटनास्थलतर्फ जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको सीसीटीभी फुटेजमा देखिएको सीआईबीको प्रतिवेदनमा छ ।
अर्थात् अभियोगपत्रमै स्थापित समय रेखामा के देखिन्छ भने, मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ बिहान कम्तीमा ६ बजेर १९ मिनेटमा इनिशासँगै थिए । अन्य तीन जना घटनास्थल नजिक पुगेको समय ९ बजेर ७ मिनेटपछि मात्रै हो । इनिशाको शव ९ बजेर ३० मिनेटमा फेला परेको थियो ।
प्रहरीले १८ दिनको अनुसन्धानबाट ‘वीरेन्द्रनगर प’ लाई बलात्कार र हत्या दुवैमा र बाँकी तीन जनालाई हत्या अभियोगमा मात्र मुद्दा चलाउन सिफारिस गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । तर, प्रहरीको प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले चारै जनालाई सामूहिक बलात्कार र हत्याको अभियोग लगाएको छ । जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले प्रहरी प्रतिवेदन अपूर्ण रहेको भन्दै आफूहरूले चारै जनालाई एउटै प्रकृतिको मुद्दा चलाएको बताए । ‘मेडिकल रिपोर्टमा एक जनाले मात्र बलात्कार गरेको भनेर उल्लेख छ । त्यसो भए अन्य तीन युवकमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन किन सिफारिस गरिएको हो ?,’ महतले प्रश्न गरे, ‘जबर्जस्ती करणीमा संलग्नता छैन भने ज्यान लिनमा कसरी संलग्न भए ?’ महतले एक जनाले मात्रै बलात्कार गर्दा यौनांगमा त्यस्तो गम्भीर चोट कसरी लाग्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठेको बताए ।
प्रहरी प्रमुख शाहीले स्थलगत निरीक्षणसहित विभिन्न चरणको अनुसन्धानपछि तयार गरिएको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए । ‘हामीले गरेको अनुसन्धानका आधारमा मात्र मुद्दा दर्ता हुनुपर्छ भन्ने अनिवार्य भने छैन,’ उनले भने, ‘सरकारी वकिलले जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ ।’ प्रमुख शाहीले आफ्नो प्रतिवेदनमा कमजोरी भए सरकारी वकिल कार्यालयलाई त्यसबारे प्रश्न उठाउने अधिकार रहेको बताए । ‘अनुसन्धानमा के–कति कुरा अपूरो छ भनेर सोध्ने अधिकार सरकारी वकिल कार्यालयसँग छ, तर त्यो किन सोधिएन,’ उनले भने, ‘हामीले घटनाको अनुसन्धान मात्रै गरेका हौं, न्याय वा अन्याय छुट्याउने स्थानमा छैनौं । मुद्दा कस्तो बनाउने भन्ने अधिकार सरकारी वकिलको हो, अन्ततः त्यसको मूल्यांकन अदालतले गर्नेछ ।’
अभियोगपत्रको प्रमाण सूचीमा चारै जना अभियुक्तको पोलिग्राफ परीक्षणको नतिजा पनि समावेश छ । कान्तिपुरलाई प्राप्त मुख्य अभियुक्तको पोलिग्राफ रिपोर्टमा उक्त रिपोर्ट तयार पारेका व्यक्तिले घटनामा आफूबाहेकका व्यक्ति संलग्न छैनन् भन्ने उनको बयान– झूटो नभएको निष्कर्ष दिएका छन् ।
अब के हुन्छ ?
सुर्खेत जिल्ला अदालतले मंगलबार चारै जना अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । चारै जनाले मुद्दाको अन्तिम फैसला नआउन्जेल उनीहरूको घरबाट करिब १०० किलोमिटर टाढा नेपालगन्जस्थित सुधार गृहमा बिताउनुपर्नेछ । यद्यपि, थुनामा पठाउने निर्णयविरुद्ध उनीहरू उच्च अदालत र सर्वोच्च अदालतमा जान भने पाउने नै छन् । थुनामा पठाउनु अपराधमा संलग्नताको प्रमाण होइन, त्यसले मुद्दा टुंगो नलागुन्जेल उनीहरूलाई थुनामा राख्न आवश्यक छ भन्ने जिल्ला अदालतको दृष्टिकोणलाई बताउँछ ।
मृतकको शरीर र घटनास्थलबाट संकलन गरिएको नमुना डीएनए परीक्षणका लागि पठाइएको छ । भिसेरा र बायोसेरोलोजिकल परीक्षण पनि हुँदै छ । ती परीक्षणको नतिजा भने आइसकेको छैन । ती नतिजाले इनिशालाई सामूहिक बलात्कार भएको थियो कि थिएन भन्ने निर्धारण गर्न महत्त्वपूर्ण प्रमाण दिनेछन् ।
तर, नतिजा आइनसक्दै सरकारी वकिलले चारै जनाविरुद्ध सामूहिक बलात्कारको अभियोग लगाएको छ । मुख्य अभियुक्तबाहेकका अन्य तीन जना निर्दोष छन् कि छैनन् भन्ने अन्तिम निर्णय न्यायिक प्रक्रियामार्फत हुनेछ । र, त्यसका लागि अहिलेसम्म आइनसकेका परीक्षणका नतिजाले महत्त्वपूर्ण प्रमाणका रूपमा काम गर्नेछन् । डीएनए परीक्षणले उनीहरू सबैले वा उनीहरूमध्ये केहीले इनिशालाई सामूहिक बलात्कार गरेको देखाएमा सरकारी वकिलको दाबी थप बलियो हुनेछ । यदि त्यसो भएन भने अभियोगपत्रमा देखिएको प्रमाणको अभाव नै तीन अभियुक्तका लागि बचाउको आधार हुनेछ ।
तीन युवाका परिवारका सदस्यले सरकारी वकिल कार्यालयले मुद्दा तोडमोड गरेको दाबी गरेका छन् । एक युवकका काका नवराज ढकालले अनुसन्धानका आधारमा प्रहरीले तयार पारेको प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको प्रति आपत्ति जनाए । ‘हाम्रा नाबालक छोराहरू साथीलाई सहयोग गर्न गएका हुन् भन्ने थुप्रै आधार र प्रमाण हुँदाहुँदै पनि जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा दर्ता हुनु कस्तो न्याय हो ?,’ उनले प्रश्न गरे ।
अब, तीन जना व्यक्तिहरू घटना भएपछि मात्र घटनास्थल पुगेको भनेर प्रहरीले दिएको प्रतिवेदनलाई पन्छाएर सबैलाई सामूहिक बलात्कारको अभियोग लगाउने सरकारी वकिलले अहिले उपलब्ध सीमित प्रमाणका आधारमा आफ्नो निर्णयको बचाउ कसरी गर्लान् ?
यो प्रश्न केवल अभियुक्तका लागि मात्र होइन, इनिशाको परिवारका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । उनकी आमाले आफूहरूलाई अनुसन्धानका नतिजाहरूबारे खासै जानकारी नदिइएको बताइन् । छोरीलाई जंगलमा मृत अवस्थामा देखेकी उनले भनिन्, ‘मलाई सुरुबाटै शंका लागेको छ ।’
इनिशाको मृत्यु हुँदा उनका बुबा दुबईमा थिए । न्यायको माग गर्न थालेको एक महिना हुन लाग्यो, मुद्दा कसरी टुंगिन्छ, निधो छैन । कम्पनीबाट पाएको बिदा सकिन थाल्यो, फर्कने बेला भएको छ । ‘न्याय पाउनेमा शंका लाग्न थालेको छ,’ उनले भने ।
