सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा सामूहिक बलात्कारपछि हत्या गरिएको अभियोगसहित चारजनाविरुद्ध जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको छ ।
सुर्खेत — सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा सामूहिक बलात्कारपछि हत्या गरिएको अभियोगसहित चार जनाविरुद्ध जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले प्रहरी अनुसन्धानको रायका आधारमा आइतबार अभियोग पत्र दायर गरेको हो । जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतका अनुसार घटनामा संलग्न भनिएका चारै जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अभियोगपत्रमा उनीहरूले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको ठहर गरिएको उल्लेख छ।
सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा आजीवन कैद सजायको माग गरेको छ । साथै, जरिवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ ।
गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि प्रहरीले उनका चिनजानका १६ वर्षीय एक किशोरसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहित विभिन्न टोलीले करिब १९ दिन अनुसन्धान गरेको थियो । तर, सरकारी वकिल कार्यालयले भने उपलब्ध प्रमाणका आधारमा सामूहिक बलात्कारपछि हत्या भएको अभियोग लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो ।
घटनामा निष्पक्ष अनुसन्धान नभएको आरोप लगाउँदै पीडित परिवार र स्थानीयले आइतबार जिल्ला अदालत सुर्खेत अगाडि धर्ना दिएका छन् ।
