इनिसाले डाक्टर-इन्जिनियर बन्छु भनेपछि पैसा कमाउन विदेशिएका थिए बाबु

बलात्कारपछि मृत्युबारे थप अनुसन्धानका लागि सीआईबीको टोली पनि सुर्खेतमा, डीएनए परीक्षणका लागि नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जको टोली ‘पोलिग्राफ टेस्ट’ को तयारीमा

चैत्र २, २०८२

कृष्ण गौतम, ज्योति कटुवाल

When Inisha said she wanted to become a doctor or engineer, her father went abroad to earn money.

What you should know

सुर्खेत — इन्द्रबहादुर विक ६ वर्षअघि नेपाल छाडेर सुरक्षा गार्डको काम गर्न दुबईमा जानुको एउटै कारण थियो, नेपाली सेनाबाट पाएको पेन्सनले दैनिक जीवन चलाउन पुग्थ्यो तर त्यति मात्र उनको बढ्दो खर्च धान्न पर्याप्त थिएन । त्यसमाथि झन् हुर्किरहेकी छोरी इनिसाका सपना भने ठूला थिए । कहिले डाक्टर बन्छु भन्थिन्, कहिले इन्जिनियर त कहिले सेनाको अधिकृत । किशोरावस्थाको स्वभावैअनुसार उनको मन फेरिइरहन्थ्यो । इन्द्रबहादुरले सोचे, छोरीको सपना पूरा गर्न पैसा चाहिन्छ र त्यसका लागि टाढा जानुपर्छ । ‘छोरीको त्यही सपना साकार पार्न विदेश गएको थिएँ,’ उनले भने, ‘तर उनको सपना बीच बाटोमै लुटियो ।’

१६ वर्षीया इनिसा २३ फागुनको शनिबार सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परिन् । प्रहरी र स्थानीयले उनलाई करिब ३ किलोमिटर टाढाको प्रदेश अस्पताल पुर्‍याए । चिकित्सकले अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको घोषणा गरे । पोस्टमार्टम रिपोर्टले यौनांगमा गहिरो चोटका कारण अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि गर्‍यो । भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले बलपूर्वक यौनसम्पर्क भएको देखिएको बताए । घटनामा संलग्न भएको आरोपमा ४ नाबालक पक्राउ परेका छन् ।

खबर पाउनासाथ इन्द्रबहादुर दुबईबाट स्वदेश फर्कन खोजे तर सकेनन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विमानस्थल बन्द थियो । तीन दिनपछि मात्र उनी नेपाल आए । अहिले उनको एउटै माग छ– छोरीलाई न्याय । न्याय नपाएसम्म शव नबुझ्ने उनको अडान छ । ‘घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको छ,’ उनले भने, ‘संलग्नलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

When Inisha said she wanted to become a doctor or engineer, her father went abroad to earn money.उनलाई चिन्ने सबैका लागि इनिसा फरक स्वभावकी थिइन् । पहिलो भेटमा प्रभाव छाड्न सक्ने उनको स्वभाव थियो । ‘ए’ ग्रेडमा एसईई उत्तीर्ण भएर इनिसा वीरेन्द्रनगरको उषा बालवाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा पढ्दै थिइन् । सुरुमा जीवविज्ञान पढेर डाक्टर बन्ने उनको लक्ष्य थियो । तर, पछि मन इन्जिनियरिङतर्फ मोडियो र कम्प्युटर विज्ञान लिइन् । 

कक्षा ९ देखि उनलाई नेपाली पढाउँदै आएका शिक्षक इन्द्रप्रसाद चापागाईं इनिसालाई एक जेहेनदार र असल विद्यार्थीका रूपमा सम्झिन्छन् । ‘मलाई कहिल्यै नमस्कार गरिनन्, प्रणाम गुरुदेव भन्दै हातमै ढोग्थिन्,’ उनले भने, ‘अरू शिक्षक र साथीहरूसँग पनि हार्दिकतापूर्ण व्यवहार थियो, अहिलेसम्म उनका बारेमा कुनै पनि कम्प्लेन सुनिनँ ।’ 

कक्षा ९ पढ्दा हस्तलेखन प्रतियोगितामा प्रथम भएर आफूले पुरस्कार दिएको पनि चापागाईंले सम्झिए । सँगै पढ्ने साथीहरू पनि इनिसालाई उसैगरी सम्झिन्छन् । प्रकृति भट्टराईका अनुसार कहिल्यै नरिसाउने, छिट्टै साथी बनाउने र नजिक हुने उनको स्वभाव थियो । उनीसँगै पढ्ने सभ्या आचार्य भन्छिन्, ‘पढ्दा, खाजा खाँदा, नाच्दा–गाउँदा, जे गर्दा पनि सबै मिलेरै गर्नुपर्छ भन्ने भावना थियो । सधैं हँसिली देखिन्थिन् ।’ 

इनिसाको बाल्यकाल सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकाको बडाखोलीमा बित्यो । त्यसपछि उनी परिवारसँगै काठमाडौं पुगिन् । केही समयपछि फेरि सुर्खेत आइपुगिन् । सुर्खेत फर्किनुअघि इनिसाको परिवारमा एउटा दुःखद घटना भयो । ५ वर्षका भाइ ईशानलाई उनले सधैंका लागि गुमाइन् । ‘भक्तपुरको सिद्धि स्मृति अस्पतालको आईसीयूमा राखेर उपचार गर्दा पनि निको भएन,’ आमा तिलाले छोरा गुमाउँदाको क्षण सम्झिँदै सुनाइन्, ‘अस्पतालमा भर्ना गरेको दुई दिनमै मृत्यु भयो, छोराको पीडा आलै थियो, यता छोरीको यस्तो घटना भयो, हामी आफूलाई कसरी सम्हालौं ?’ तिला आफैं पनि अहिले दम रोगसँग जुधिरहेकी छन् । 

छिमेकीका अनुसार विक परिवारको सबैसँग राम्रो सम्बन्ध थियो । टोलका अधिकांश परिवार गुर्भाकोटतिरबाट आएका हुनाले रीतिथिति र भावना मिल्थ्यो । ‘उहाँहरू सँगै बसेको ५–७ वर्ष भयो, सधैं राम्रो सम्बन्ध रह्यो,’ छिमेकी प्रेमकला नेपालीले भनिन् । ‘गाह्रो–साह्रो परेका बेला मैले पनि सरसापटी लिएकी छु,’ अर्की छिमेकी कल्पना विकले भनिन्, ‘यस्तो घटना होला भनेर सोचेका थिएनौं ।’

घटनाको अघिल्लो दिन आमा र छोरीबीच शनिबार गुर्भाकोट जाने योजना बन्यो । भोलिपल्ट बिहान इनिसा ट्युसन जान तयार भइन् । आमालाई चाँडै आउँछु अनि सँगै गुर्भाकोट जाउँला भनेर इनिसा बिहान ६ बजे ट्युसनका लागि घरबाट निस्किइन् । तिलाले छोरीको कुरा सुनेपछि यति मात्रै भनिन्, ‘छिटै आउनू ।’ 

तर, बिहान ९ बज्दासमेत इनिसा फर्किनन् । उनको मोबाइल बन्द थियो । तिलाले कम्प्युटर पढाउने शिक्षक माधव सापकोटालाई फोन गरिन् । तर फोन लागेन । शिक्षक सापकोटाले विद्यालयले निर्वाचनका लागि बिदा दिएकाले आफू त्यो दिन घरायसी काममै व्यस्त भएको कान्तिपुरलाई बताए । उनले भने, ‘म त आफ्नै घरायसी काममा व्यस्त थिएँ, घटना सुनेपछि अत्यन्त पीडा भयो, राम्रो विद्यार्थी गुमायौं ।’ 

केहीबेरमै तिलाको मोबाइल बज्यो । ‘सेभ’ नभएको नम्बर थियो । फोन उठाउनेबित्तिकै उताबाट अपरिचितको आवाज आयो, ‘इनिसा सहिद पार्क नजिकैको वनमा बेहोस छिन् ।’

तिला हुर्रिंदै घटनास्थल पुगिन् । ‘छोरीको शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन् । ‘शरीर कालो ज्याकेटले छोपिएको थियो । हेर्न नसकेर म त्यहीँ बेहोस भएछु ।’ त्यतिन्जेल प्रहरी त्यहाँ पुगिसकेको थियो । स्थानीयले इनिसालाई प्रदेश अस्पताल पुर्‍याए । तर, धेरै ढिलो भइसकेको थियो ।

०००००

घटनाभन्दा केही समयअघि इनिसा र १६ वर्षीय एक किशोर जनजागरण सामुदायिक वन नजिकै हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको छ । उनका साथीहरूका अनुसार त्यो किशोरसँग उनी नजिकिएकी थिइन् । जनजागरण सामुदायिक वन क्षेत्र प्रवेश गर्ने दुई वटा बाटा छन्– एउटा चहलपहल हुने भैरव सामुदायिक वनको सहिद पार्क जाने बाटो र अर्को प्रदेश आयुर्वेद औषधालयतर्फको सुनसान बाटो । उनीहरू सुनसान बाटोबाट वनमा पुगेको स्थानीयहरूको अनुमान छ । 

घटनास्थलको झन्डै १० मिनेटको पैदल दूरीमा रहेको सहिद पार्कमा अस्थायी प्रहरी पोस्ट छ । घटनाको दिन प्रहरी हवल्दारको नेतृत्वमा ६ जवानहरू पोस्टमा थिए । घटनाका आरोपीले खबर गरेपछि आफूहरू घटनास्थल पुगेको वरिष्ठ हवल्दार कर्णबहादुर शाहीले बताए । सामुदायिक वन क्षेत्र भएकाले र खोंचमा घटना भएकाले सुरुमा आफूहरूले थाहा नपाएको उनले बताए । ‘हामीले मात्रै उद्धार र कारबाहीको काम गर्न नसक्ने भएपछि जिल्ला प्रहरीमा फोन गरेर थप सुरक्षाकर्मी मगाएका हौं,’ उनले भने, ‘त्यसपछि मात्रै किशोरीको उद्धार गरी अस्पताल पठाएका थियौं ।’ 

When Inisha said she wanted to become a doctor or engineer, her father went abroad to earn money.घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय किशोरले प्रहरीसमक्ष दिएको बयानमा दुवैको सहमतिमा यौनसम्पर्क भएको र त्यस क्रममा अत्यधिक रक्तस्राव भएपछि साथीहरूलाई बोलाएको बताएका छन् । ‘इनिसा र मैले दुई वर्षयता शारीरिक सम्पर्क राख्दै आएका थियौं,’ उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘त्यो दिन पनि धेरैबेरको गफगाफपछि दुवैको सहमतिमा तयार भयौं । सम्पर्क राखिसकेपछि अत्यधिक रगत बग्यो । उनी बोल्न छोडिन् । म आत्तिएँ ।’ सुरुमा तीनै जना साथीहरू आउन नमानेको र पटक–पटक फोन गरेपछि मात्र आएको उनको भनाइ छ ।

इनिसाको परिवारले भने आरोपित किशोरको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी उजुरी दर्ता गरेका छन् । सामूहिक बलात्कार भएको उनीहरूको आरोप छ । ‘घटनालाई विभिन्न तरिकाले तोडमोड गर्न खोजिएको छ,’ बाबु इन्द्रबहादुरले दुबईबाटै कान्तिपुरसँग भनेका थिए । 

प्रहरीका अनुसार फरेन्सिक रिपोर्ट परिवारको भनाइसँग मिल्दोजुल्दो छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले आरोपितहरूको बयान र पोस्टमार्टम दुवैका आधारमा बलात्कार पुष्टि भएको बताए । ‘हाइमन च्यातिएर अत्यधिक रक्तस्राव भएको पाइयो । त्यो कुरा आरोपितको आफ्नै बयानसँग पनि मेल खान्छ । दुवै प्रमाणका आधारमा बलात्कारपछि हत्या भएको भन्न सकिन्छ,’ उनले भने । डा. शाक्यको पोस्टमार्टम रिपोर्टमा पनि ढाडमा घस्रिएको चोट र यौनांगको बाहिरी तथा भित्री दुवै भागमा चोट लागेको उल्लेख छ । 

प्रहरीका अनुसार किशोरीका तर्फबाट बहसका लागि सरकारी वकिल कार्यालयले प्रहरीमार्फत प्रमाण संकलन गरिरहेको छ । आरोपी किशोरहरूको अहिले बयान चलिरहेकाले उनीहरूले आफ्नातर्फबाट बहस गर्ने वकिल राखेका छैनन् । ‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनजंग बुढथापाले भने, ‘मुद्दा अदालत गएपछि मात्र उनीहरूले वकिल राख्ने हो ।’

When Inisha said she wanted to become a doctor or engineer, her father went abroad to earn money.यसैबीच थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एउटा टोली पनि सुर्खेत पुगेको छ । केही नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ टोलीले पनि काम गरिरहेको छ । सीआईबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीले यो घटनामा थप अनुसन्धानका लागि केन्द्रबाट सीआईबीको टोली पठाउनुको अर्थ यसलाई थप गम्भीरताका साथ अनुसन्धान गर्ने प्रयासका रूपमा अर्थ्याए । उनले भने, ‘मेरो बुझाइमा जिल्लामा भएको 

अनुसन्धानले पनि एउटा बाटो लिइसकेका बेला काठमाडौंबाट टोली खटिनु भनेको अनुसन्धानलाई विश्वसनीय बनाउन पनि हो ।’ 

स्थानीयहरूका अनुसार समयमा उपचार पाएको भए इनिसाको ज्यान जोगिन सक्थ्यो । स्थानीय प्रेम विकले उनीहरू वनमा पुगेलगत्तै घटना हुनु, बेहोस हुनु, साथीहरू आउनुसम्म कम्तीमा एक/डेढ घण्टा बितेको हुन सक्ने बताए । ‘अत्यधिक रक्तस्राव लामो समयसम्म भयो र अस्पताल पुर्‍याउन ढिलो भएकाले ज्यान गएको हुन सक्छ,’ उनले भने । 

०००००

शोकमा रहेको परिवारमा पीडा थपिएको छ । इन्द्रबहादुरले छोरीको मृत्युपछि मात्र थाहा पाए– विद्यालयले घटनाभन्दा अघि नै आरोपित किशोर र उनको परिवारसँग दुई जना नजिक रहेको बारे पटक–पटक कुरा गरेको रहेछ । इनिसाका आमाबाबुलाई भने त्यो विषयमा कहिल्यै जानकारी दिइएन । ‘त्यस्तो कुरा भएको रहेछ भने हामीलाई किन जानकारी गराइएन ? किन लुकाइयो ?’ उनले भने ।

विद्यालयले यस्ता आरोपहरूबारे सार्वजनिक रूपमा जवाफ दिएको छैन । कान्तिपुरले सार्वजनिक भएका आरोपहरूबारे विद्यालयका प्राचार्य सुशील भुसालसँग सोधेको थियो । उनले इनिसाको प्रेम सम्बन्धबारे आफूहरूलाई जानकारी नभएको र घटनाको अनुसन्धानमा सघाउन आफूहरू तयार रहेको बताए । ‘दोषी उम्कनु हुँदैन, दोषीमाथि कडा कारबाही हुनुपर्छ,’ उनले भने, ‘त्यसमा विद्यालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौं ।’ विद्यालयको भूमिकाबाट इन्द्रबहादुर भने सन्तुष्ट छैनन् । उनको एउटै प्रश्न छ, ‘विद्यालयलाई एक विद्यार्थीबारे चिन्ता थियो भने अर्को विद्यार्थीका अभिभावकलाई किन त्यसबारे जानकारी गराइएन ।’ 

०००००

त्यो बिहान घरबाट निस्किँदा इनिसाले भनेकी थिइन्– ८ बजेसम्म फर्किहाल्छु । त्यसपछि आमासँग गुर्भाकोट जाने कुरा थियो । तिला त्यही दिनदेखि न राम्ररी खाएकी छन् न सुतेकी छन् । छोरीलाई सम्झेर बेला–बेला मूर्छित हुन्छिन् । 

यो घटनालगत्तै नेपाल फर्किएका बाबु इन्द्रबहादुर पनि यही कुरा दोहोर्‍याउँछन्, ‘छोराछोरीको भविष्यका लागि विदेश गएको थिएँ । इनिसाले डाक्टर बन्छु भनिन् । सेनाको अधिकृत बन्छु भनिन् । नर्स बन्छु भनिन् । इन्जिनियर बन्छु भनिन् ।’ बाबुले कमाउँदै गए, पठाउँदै गए, पर्खंदै गए । 

‘छोरीको सपना पूरा गर्नकै लागि कमाउन दुबई गएको थिएँ,’ उनले भनें, ‘तर छोरीको सपना बीच बाटोमै लुटियो । हाम्रो सपनाको संसार उजाडियो ।’

कृष्ण गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully