पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी विकको फागुन २३ गते मृत्यु भएको थियो ।
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी मृत घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा विकको फागुन २३ गते मृत्यु भएको हो ।
उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। आफन्तले उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
प्रहरीका अनुसार घटनापछि २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घरपरिवारका अनुसार इनिसा बिहान करिब ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। प्रहरीले भने जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला पारेको थियो ।
घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको स्पष्ट कारण खुल्ने प्रहरीले जनाएको छ।
