इनिसा हत्या प्रकरणमा किशोरको बयान

इनिसाका प्रेमी भनिएका किशोरले भनेका छन्- 'सम्पर्क राखिसकेपछि यौनांगबाट अत्यधिक रगत बग्यो । इनिसा बोल्न छोडिन् । म एकदमै आत्तिएँ ।'

फाल्गुन २८, २०८२

ज्योति कटुवाल

Teenager's statement in Inisha murder case

What you should know

सुर्खेत — १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको आज ६ दिन भयो । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

२३ गते बिहान ६ बजे ट्युसन पढ्न घरबाट निस्केकी वीरेन्द्रनगर-६ मा बस्दै आएकी इनिसाको पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकै कारण अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा अर्विन शाक्यले बताए । ‘अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ  ।सामूहिक बलात्कार हो भन्ने त्यस्तो तथ्य भेटिएको छैन,’ उनले भने, ‘अन्य रिपोर्ट आउन बाँकी छ । नशालु औषधिको प्रयोग हो या होइन, रगत जाँचका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छौं ।’ 

प्रेमी भनिएका किशोरको बयान

२३ गते शनिबार बिहान ७ बजे इनिसा र म सल्लाह गरेरै वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगलमा गयौं । इनिसाका लागि काँटा चुरालगायत विभिन्न गिफट ल्याएको थिएँ । इनिसा र मैले दुई वर्षयता शारीरिक सम्पर्क राख्दै आएका थियौं । त्यो दिन पनि धेरैबेरको गफगाफपछि दुवैको सहमतिमा तयार भयौं । सम्पर्क राखिसकेपछि इनिसाको यौनांगबाट अत्यधिक रगत बग्यो । अनि इनिसा बोल्न छोडिन् । म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ । 

८:२५ मिनेटमा मैले मिल्ने साथीहरूलाई फोन गरेर आफ्नो समस्या राखेँ तर उनीहरुले आउन इन्कार गरे । पटकपटक फोन गरेपछि ३ जना साथी आए । इनिसा नबोलेपछि साथीहरू जंगल नजिक रहेको गाउँमा स्थानीयलाई खबर गर्न गए । गाउँले आइपुगेपछि प्रहरीलाई करिब ९:४५ मा खबर गरे ।

प्रहरी आएर अस्पताल पुर्‍याउँदा १० बजिसकेको थियो ।

०००

प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरुको सहयोग मात्र मागेको सामूहिक बलात्कार नभएको बताएका छन् ।

२३ गते इनिसा र उनीसँगै पढ्ने सुर्खेत घर भएका १६ वर्षीय किशोर वीरेन्द्रनगरमा रहेको जनजागरण सामुदायिक वनमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहति चारजनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु भएको बताए । ‘हामी घटनास्थल पुग्दा इनिसाको शरीरमा कपडा थिएन,' उनले भने, ‘इनिसाको शरीर रगतले भिजेको थियो, उनी अचेत अवस्था थिइन् । समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गएको हो । हामीलाई खबर पनि ढिला भयो ।’

बिहान ६ बजे निस्केकी छोरी ९ बजेसम्म घर नआउँदा आमा तिला विकले भने ट्युसन पढाउने सर साथीभाइ सबैलाई फोन गरिसकेकी थिइन् । १० बजे प्रहरीले उनलाई सामुदायिक वनमा इनिसा अचेत अवस्थामा रहेको जानकारी दिएपछि हतारहतार छोरी भएको स्थान पुगेकी थिइन् । ‘म घटनास्थलमा पुग्दा छोरीको शरीरमा कपडा थिएन, रगतले तल्लो भाग पूरै भिजेको थियो । शरीरमा चोटहरु थिए,' उनले भनिन्, ‘मेरो छोरीलाई सामूहिक बलात्कारपछि हत्या गरियो, न्याय नपाए शव बुझ्दैनौं ।’ 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी उनी वीरेन्द्रनगर–१ मा बस्दै आएकी छन् । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully