नेताहरूले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको मतदाताको गुनासो
दार्चुला, दाङ, सोलुखुम्बु, दोलखा — देशभर उत्साहपूर्ण मतदान हुँदा दार्चुला, दाङ, ओखलढुंगा र दोलखाका केही मतदान केन्द्रमा भने मतदाताले निर्वाचन बहिष्कार गरेका छन् ।
नेताहरूले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको भन्दै मतदाताहरूले निर्वाचन बहिष्कार गरेका हुन् ।
दार्चुलाका दुई मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका छन् । नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीय मतदानमा सहभागी नभएपछि कर्मचारी रित्तो मतपेटिका बोकेर सदरमुकाम फर्किएका छन् ।
दुवै मतदान केन्द्रका मतदाताले यसअघि नै मतदानमा भाग नलिने निर्णय गरेका थिए । बुधबार नागुमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्याल पुगेर छलफल गरे पनि उनीहरूले मत नहाल्ने अडान राखेका थिए ।
गत १ माघबाटै नागु विकास संघर्ष समिति बनाएर स्थानीय ‘नो भोट’ का पक्षमा उभिएको समितिका संयोजक करनसिंह डडालले जानकारी दिए । ‘प्रदेशका प्रमुख सचिवले आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिए पनि जनताले पत्याएनन्,’ उनले भने । मतदान नगरेर अहिलेका नेता र सरकारफ्रतिको आक्रोश व्यत्त गरिएको उनले बताए ।
दल्लेख–नागु–सिना सडक निर्माणको प्रमुख मागसहित नागु क्षेत्रका स्थानीयले चुनाव बहिष्कारको घोषणा गरेका थिए । २४ माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वको टोली नागु क्षेत्रमा पुगेर छलफल गरे पनि सहमति जुटेको थिएन । स्थानीयले सडक निर्माण नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताउँदै आएका छन् ।
सडक निर्माणका लागि २०७० देखिका सबै निर्वाचनमा आश्वासन पाए पनि पूरा नभएको संघर्ष समिति संयोजक डडालले बताए । ‘२०७० यताका सबै निर्वाचनमा हामीले सडक निर्माण गरिने झूटो आश्वासन मात्रै पायौं । तर कसैले पनि सडक बनाएनन् । यस पटकको निर्वाचनका उम्मेदवार र सरकारी टोलीले चुनावमा सहभागी हुन भने पनि माग सम्बोधन नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निर्णय गर्यौं,’ उनले भने । नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६ सय २ मतदाता छन् ।
प्रदेश सरकारले निर्माण गरिरहेको दल्लेख–नागु–सिना सडकमा चालु आर्थिक वर्षमा शून्य बजेट छ । बजेट अभावले सडक निर्माण अघि बढ्न नसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । नौगाड गाउँपालिका–२ दल्लेखबाट सुरु गरेर हालसम्म सुन्डमुन्ड गाउँछेउको पारिमेलासम्म ९ किलोमिटर सडक मात्रै निर्माण भएको छ । पारिमेलाबाट नागु क्षेत्रसम्मको करिब ६ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले १५ फागुनबाट ‘नो भोट’ अभियान चलाएका थिए । २०७४ मा भएको वडा विभाजनले वडा ३ का अधिकांश बस्तीका लागि वडा कार्यालय अपायक ठाउँमा रहेको उनीहरूको गुनासो छ । वडा विभाजन हेरफेर नभएसम्म मतदान नगर्ने निर्णय गरेको स्थानीय कमलसिंह रोकायाले जानकारी दिए । नो भोटको अभियानअन्तर्गत बिहीबार अपिहिमाल–३ अन्तर्गत दुधिला आधारभूत विद्यालय मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका थिए ।
यो मतदान केन्द्रअन्तर्गत झुस्कु, चौड, छबिस, भट्टार गाउँका मतदाताले भोट नहाल्ने निर्णय दोहोर्याएका हुन् । यो मतदान केन्द्रमा ३ सय ४६ जना मतदाता छन् । मतदानको सबै तयारी गरिए पनि कोही मतदाता नआएको मतदान अधिकृत प्रेमराज अवस्थीले बताए । दार्चुलामा बिहीबार ५३.७६ प्रतिशत मतदान भएको छ । सबै मतदान केन्द्रमा निर्धारित समयमा ४९ हजार ९ सय ६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता ९२ हजार ९ सय ४८ रहेका थिए । जसमध्ये २६ हजार ६ सय ३१ महिला र २३ हजार ३ सय ३७ महिला मतदाताहरूले मतदान गरेका छन् । एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा छन् ।
दाङ–३ मा ‘नो विकासको बदला नो भोट’
दाङ–३ को एक मतदान केन्द्रमा एक मत पनि खस्न सकेन । बबई गाउँपालिका–७ स्थित देउती मावि तल्लो मलैखोलामा एक जना मतदाता पनि नआएको मतदान अधिकृत टेकबहादुर खड्काले बताए । उक्त केन्द्रमा २ सय ७४ पुरुष र २ सय ५६ महिला गरी ५ सय ३० मतदाता रहेकामा केही मतदानमा सहभागी नभएको उनले जानकारी दिए । ‘दिनभर कुरेर बस्दा पनि कोही आएनन् । सबै गाउँलेहरू एकजुट भएर मत नहाल्ने निर्णय गरेको देखियो,’ खड्काले भने, ‘नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्न मतदानमा सहभागी नहुने निर्णय भएको रहेछ ।’
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त क्षेत्रका बासिन्दाले यसअघि नै मतदान नगर्ने घोषणा गरेका थिए । नेताहरू गाउँ नआएको, जति भोट हाल्दा पनि विकासका पूर्वाधार केही नभएको र बाँके राष्ट्रिय निकुञ्ज राखेर गाउँलाई असुरक्षित बनाएको भन्दै उनीहरूले मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए । सोही अडान कायम राख्दै उनीहरू मतदानमा सहभागी नभएका हुन् ।
यसैगरी बबई–१ स्थित जनता आधारभूत विद्यालय जिला मतदान केन्द्रमा पनि आधा दिनसम्म कोही मतदाता आएनन् । दिउँसोपख १० जना मात्रै मतदाता आए । उनीहरूले पनि नेताहरूलाई पाठ सिकाउन मत नदिएको बताएका छन् । बिहानैदेखि मतदानका लागि तयारी अवस्थामा रहे पनि अन्तमा १० मतदाता मात्रै मतदान गर्न आएको मतदान अधिकृत चिरञ्जीवी खड्काले बताए ।
सर्वदलीय बैठकमा पनि कोही नआएको र निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको उनले बताए । जिल्लामा २ सय ९४ पुरुष र ३ सय ८८ महिला गरी ६ सय ८२ मतदाता थिए । जतिपटक भोट हाल्दा पनि केही परिवर्तन नभएपछि मत नहाल्ने निष्कर्षमा पुगेको संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर राहु मगरले बताए । ‘हामीले मध्यवर्ती क्षेत्रबाट बस्ती स्थानान्तरण गर्न माग राख्दै आयौं, नभए गाउँमा विकास माग्यौं,’ उनले भने,‘हाम्रो कुरा केही पनि सुनुवाइ भएन । भोट हालेर केही कुरा सुनिँदैन भने किन हाल्ने ? यो हाम्रो विद्रोह हो ।’ यसबाट नेताहरूले जनताको भावना बुझ्नुपर्छ भन्ने पाठ सिक्नुपर्ने उनले बताए ।
२०७९ को निर्वाचनमा दाङ–३ बाट कांग्रेसका दीपक गिरी निर्वाचित भएका थिए । यस पटक पनि गिरी उम्मेदवार छन् । एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा मास्की निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अहिले उम्मेदवार भएका छन् ।
अस्पताल नबनाएको विरोधमा ओखलढुंगाको टोक्सेलमा ‘नो भोट’
कोशी प्रदेश सरकारले अस्पताल नबनाएको विरोधमा ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताले पनि मतदान बहिष्कार गरेका छन् । मानेभन्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा बिहीबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ कुनै मत नखसेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । प्रजिअ मंग्रातीका अनुसार मतदान गर्न गएका कर्मचारीले भने समानुपातिकतर्फ मत खसालेका थिए ।
७ सय १ मतदाता रहेको उक्त केन्द्रमा प्रादेशिक अस्पताल बनाउने काम सुरु नगरेकामा विरोध गरेर कोही पनि भोट हाल्न नगएको मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । प्रदेश सरकारले अस्पताल बनाउनका लागि जग्गा व्यवस्थापनको माग गरेपछि स्थानीयले १ सय ६५ रोपनी जग्गा उपलब्ध गराएका थिए । तर प्रदेश सरकारले भने वार्षिक २०–२५ लाखको हाराहारीमा मात्रै बजेट पठाएर अस्पताल बनाउने काम सुरु नगरेकाले स्थानीयले मतदान बहिष्कार गरेर विरोध जनाएका हुन् ।
यसअघि स्थानीय राजनैतिक दलहरूले पनि प्रदेश सरकारलाई दबाब दिएर माग पूरा नभए नो भोटिङमा जाने चेतावनी दिएका थिए । तर स्थानीयको मागलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको पालिका अध्यक्ष रुम्दालीले बताए ।
दोलखाको बेदिङबाट रित्तो मतपेटिका लिएर फर्क्यो हेलिकोप्टर
स्थानीय मतदान बहिष्कार गरेको दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङबाट रित्तो मतपेटिका लिएर हेलिकोप्टर फर्किएको छ । बेदिङको समस्या सुनुवाइ गर्न कुनै उम्मेदवार नआएको भन्दै मत खसाल्न नगएको बताएका छन् । बेदिङमा १ सय १३ जना मतदाता छन् । कोही पनि मतदाताले मतदान गरेनन् । मतदान अधिकृतसहितका कर्मचारी साँझ ५ बजेसम्म मतदातालाई कुरेर बसेका थिए ।
मतदाताले निर्वाचन बहिष्कार गरेसँगै सो बुथमा प्रत्यक्षतर्फ मत नखसेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । सोही मत बोकेर निर्वाचन कर्मचारीको टोली त्यहाँबाट फर्किएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार उक्त केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइसकिएको छ ।
