करिब ५५ प्रतिशतको रोजाइमा कुनै पनि राजनीतिक दल परेका छैनन्
What you should know
काठमाडौँ —
कान्तिपुरले हालै गरेको सर्वेक्षणमा जवाफदातामध्ये करिब ४० प्रतिशतले हाल देशमा आफूहरूले भर गर्न सक्ने कुनै दल नभएको बताएका छन् । राष्ट्रव्यापी सर्वेक्षणमा सहभागीलाई ‘हालको अवस्थामा तपाईंले भरपर्दो मान्ने कुनै राजनीतिक दल छ ?’ भनेर प्रश्न सोधिएकामा ४० प्रतिशतले भरपर्दो दल नरहेको बताउँदा १४ प्रतिशतले ‘थाहा छैन’ भनेका छन् । एक प्रतिशतले भने ‘उत्तर दिन चाहन्न’ भनेका छन् ।
यसले आधाभन्दा बढी (करिब ५५ प्रतिशत) जनताको रोजाइमा कुनै पनि राजनीतिक दल नपरेको देखाउँछ । करिब ४५ प्रतिशतले भने आफूले भर मान्ने कुनै न कुनै दलको नाम लिएका छन् ।
एक महिनाअघि गरिएको सर्वेक्षण भएकाले प्रतिनिधिसभाको निर्वाचन आउन पाँच दिन मात्र बाँकी रहेको अहिलेको अवस्थालाई ठ्याक्कै चित्रण नगर्ने सम्भावना पनि हुन सक्छ ।
भरपर्दो दल कुनै पनि छैनन् भन्ने वा त्यसबारे मलाई थाहा छैन भन्ने दुवैखाले जवाफ दिनेहरू पुरुषभन्दा महिला बढी छन् । हरेक १०० मा ४२ जना महिलाले भरपर्दो दल कुनै छैनन् भनिरहँदा त्यस्तो जवाफ दिने पुरुषहरू भने ३६ जनाको अनुपातमा छन् । त्यस्तै १०० मा २० जना महिलाले आफूलाई थाहा नभएको जवाफ दिएका छन् भने त्यस्तो जवाफ दिने पुरुषहरू ६ जना मात्र छन् । उमेरगत रूपमा पनि यो प्रश्नको जवाफमा विविधता देखिन्छ । ३० वर्षभन्दा कम उमेरका उत्तरदातामध्ये हरेक १०० मा २० जनाले ‘थाहा छैन’ भनेका छन् भने उमेरगत रूपमा ६० वर्षभन्दा माथि जाँदा त्यस्तो संख्या केबल ७ छ । अर्थात् देशमा भरपर्दो दलबारेको प्रश्नमा निर्णय/दाबी नगर्ने प्रवृत्ति युवामा बढी छ ।
‘थाहा छैन’ प्रतिक्रिया उमेर बढ्दै जाँदा घट्दै गएको देखिन्छ । प्रदेशगत रूपमा ‘थाहा छैन’ भन्नेहरू सुदूरपश्चिममा सबैभन्दा बढी एक चौथाइ छन्, जबकि गण्डकीमा सबैभन्दा कम तीन प्रतिशत मात्र । कुनै पनि दललाई भरपर्दो नमान्नेहरू गण्डकीमा बढी छन्, जहाँ हरेक दुईमध्ये एक जनाले कुनै पनि दललाई भरपर्दो मानेका छैनन् ।
त्यस्तो उत्तरदाताको प्रतिशत मधेशमा सबैभन्दा कम छन्, हरेक तीनमा एक जना । उत्तरदाताको बसाइस्थलका हिसाबमा हेर्दा उप/महानगरमा भरपर्दो दल ‘कोही पनि छैन’ भन्ने सबैभन्दा बढी १० मा ५ जना छन् भने त्यस्तो संख्या गाउँपालिका तहमा जाँदा घटेर ४ मा झरेको छ । यसले ग्रामीण इलाकामा सहरको तुलनामा कुनै न कुनै दललाई भरपर्दो मान्ने संख्या बढी रहेको देखाउँछ ।
